चुलोको पाइपबाट  आगाे सल्किँदा गाउँ नै खरानी

मंगलबार साँझ तिला गाउँपालिका -७ गाेठीगाउँमा सुधारिएकाे चुलाकाे पाइपबाट घाँसमा आगाे सल्किदा आधा गाउँ खरानी हुने गरी भिषण आगलागी भएकाे छ। 

 ५५ घर भएकाे गाेठीगाउँमा भएको आगलागीबाट २५ घर जलेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। 

आगलागीको खबर पाएपछि खलंगा बजारबाट प्रहरी निरीक्षक नवीन थापा मगरको कमान्डमा १५ जना र प्रहरी चौकी रारालिहीबाट प्रहरी नायब निरीक्षक झुपेन्द्रबहादुर शाहीको कमान्डमा ३ जना र प्रहरी चौकी कुडारीबाट प्रहरी जवान नरेन्द्र देउवाको कमान्डमा ३ जनाको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनास्थलमा रहेको टोलीले आगलागीबाट २५ घर जलेर नष्ट भएको खबर पठाएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवनकुमार चौधरीले बताए । 'गाउँका घरहरु जलेर नष्ट भएका छन्,' उनले भने, 'मानवीय क्षति भने भएको छैन, अन्नबाली र चौपायाको क्षति भएको भन्ने खबर छ। यकिन विवरण अझै आइसकेको छैन।'

आगलागी भएको गाउँ खलंगा बजा देखि ३५ किलोमिटर पश्चिममा रहेको छ। गोठीगाउँमा हिउँदमा खासै मान्छे नबस्ने हुनाले मानवीय क्षति नभएको तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णु बुढाले बताइन्।

गोठीगाउँका बासिन्दा हिउँदमा चिसो छल्न बेसी झर्ने र गाउँमा केही कुरुवा मात्रै बस्ने भएकाले मानवीय क्षति हुनबाट जोगिएको उनले जानकारी हाे। 

'गाउँमा पैदल हिँडेर जानुपर्छ। जनशक्ति कम भएकाले आगो नियन्त्रणमा लिन सकिएन,' उनले भनिन्, 'क्षतिको विवरण संकलन भइरहेको छ। मंगलबार साँझदेखि आगलागी भएकोमा बुधबार बिहान आगो नियन्त्रणमा लिइएकाे छ।'

प्रकाशित मिति: : 2021-01-27 08:36:00

प्रतिकृया दिनुहोस्