सतलदेवीकाे हत्या आरोपमा दुईजना पक्राउ 

जिल्ला प्रहरी कार्यालय, जुम्लाले ६९ वर्षीया वृद्ध महिला हत्या गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले चन्दननाथ नगरपालिका– ४ सिंगाचौर गाउँका १९ वर्षीय यज्ञ सार्की र १९ वर्षीय खगेन्द्र सुनारलाई माघ १३ गते पक्राउ गरेको हो।

आरोपितलाई प्रहरीले उनीहरूकै घरबाट पक्राउ गरेको हो। चन्दननाथ– ४ भारतीवाडाकी ६९ वर्षीया महिला सतलदेवी रोकाय गत पुस १६ गते आफ्नो घरभित्र मृत अवस्था फेला परेकी थिइन्। उनका आफन्तले नाक, कान, घाँटी, र हातमा लगाएका गरगहना नभएको देखेपछि हत्या भएको आशंका गरेरे प्रहरीलाई खबर गरेका थिए।

उनीहरुले हातमा औँठी, छाप, कानमा गहनासहित चार तोला सुनसमेत नभएको र घाँटीमा थिचेकोजस्तो घाउ भएको भन्दै प्रहरीमा अनुसन्धान गरिदिन भनी पुस १७ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी गरेका थिए। 

'पीडितको उजुरी आएपछि हामीले घटनाको अनुसन्धान तीव्र गतिमा गरिरहेका थियाैं,' डिएपी माधव काफ्लेले भने, 'माघ १३ गते उक्त घटनामा संलग्न आशंकामा  दुईजना व्यक्तिलाई नियन्त्रणमा लिन सफल भएका छाैं। बाँकी अनुसन्धानबाट चाँडै पत्ता लाग्नेछ।' 

पक्राउ परेका दुवैलाई थप अनुसन्धानको लागि  प्रहरी हिरासतमा राखिएको छ ।

प्रकाशित मिति: : 2021-01-29 07:27:00

प्रतिकृया दिनुहोस्