‘छापामार शैली’ मा डोजर चलाएको भन्दै कमल पोखरीका स्थानीय दुःखी [ तस्वीरसहित ]

कमल प्रभात

काठमाडौं 

स्थानीयहरूको विरोधका बाबजुद काठमाडौं महानगरपालिकाले कमल पोखरी वरिपरिको संरचनामा डोजर चलाएको छ।

आइतबार साँझ महानगरपालिकाले कमल पोखरी परिसरमा रहेको स्पोर्ट्स क्लब, प्रहरी भवन र राधेराधे सत्सङ भवनमा डोजर चलाएको हो।

अप्रत्यासित रूपमा महानगरपालिकाले डोजर चलाउने निर्णय गरेपछि स्थानीयहरू पुनः विरोधमा उत्रिएका थिए। पुरानो सम्पदा मासेर कंक्रिटको कमल पोखरी निर्माण गर्न लागिएको भन्दै स्थानीयवासीले विरोध जनाउदै आएका छन्। 

यसअघि पनि सम्पदा प्रेमीले विरोध जनाएका थिए। आइतबार नगरपालिकाको डोजर रोक्न स्थानीय र सुरक्षाकर्मीबीच घम्साघम्सी नै परेको थियो।

महानगरपालिकाले अग्रिम जानकारी नदिइ एक्कासी क्लब र अन्य संरचना भत्काएको भन्दै स्थानीय सुसान्त बैधले विरोध जनाएका थिए।

सम्पदा बचाउँ अभियान्ता उनले बिएल नेपाली सेवासँग भने, ‘हामीलाई सरकारले झुक्यायो।

कुनै पत्र पनि दिइएन, छापामार शैलीमा भत्काइयो।’

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावलीले यसको खण्डन गर्दै महानगरपालिकाले सबै कुरा पहिले नै स्पष्ट पारेको बताए। उनले भने, ‘कमल पोखरीलाई खुला गर्नका लागि परिसरमा रहेको प्रहरी भवन, क्लब तथा सत्सङ भवन फोडिएको हो। यो पहिले नै सबैलाई जानकारी भएको विषय हो।’

यसअघि सम्पदा बचाउँ अभियानका सदस्य तथा नागरिक समाजले प्रधानमन्त्री निवास घेराउ गर्न जाँदा झडप भएको थियो। 

प्रकाशित मिति: : 2021-01-31 19:40:00

प्रतिकृया दिनुहोस्