जुम्लाका २६ कार्यालयमा प्रशासनकाे छट्के ५० प्रतिशत कर्मचारी अनुपस्थित

जुम्लाका २६ वटा सरकारी कार्यालयमा जिल्ला प्रशासन कार्यालयले छट्के अनुगमन गर्दा १ सय ९ कर्मचारी अनुपस्थित रहेकाे पाइएकाे छ। कर्मचारी नहुँदा सेवाग्राहीको काम प्रभावित भएको गुनासो आएपछि सरकारी कार्यालयमा छड्के अनुगमन गरिएकाे प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए।

७ वटा सरकारी कार्यालय प्रमुख सहित एक सय ९ जना कर्मचारी अनुपस्थित रहेकाे भेटिएको हाे। २६ कार्यालयका २ सय ३० जना कर्मचारी मध्ये १ सय २१ जना मात्रै उपस्थित हुँदा पनि काम प्रभावित भएकाे उनले थपे।

अनुपस्थित कर्मचारीहरु विना जानकारी कार्यालय बाहिर गएको भेटिएकाले सबैलाई स्पष्टिकरण सोधिने प्रमुख जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

'नागरिककाे सेवालाई वेवास्था गर्ने कर्मचारीलाई नियमसंगत कारबाही हुन्छ। चित्त बुझ्दो जवाफ नआएपछि थप प्रक्रिया बढ्छ,' प्रजिअ थापाले भने, 'एकजना कर्मचारी मात्रै उपस्थित नहुँदा सेवाग्राहीको काम प्रभावित हुन्छ। तत्काल सबै कर्मचारी उपस्थित हुन निर्देशन गरिएको छ।'

प्रशासनका अनुसार विदामा बस्दा वा जिल्ला बाहिर निस्कदा स्थानीय प्रशासनलाई जानकारी दिनुपर्दछ। अधिकांस प्रमुख र कर्मचारीले कुनै पनि जानकारी गराएका छैनन्। जसका कारण दैनिक कार्यसम्पादन र सेवा प्रभावित भएको छ।

कार्यालयमा कर्मचारी अनुपस्थित भएर सेजा नपाएपछि स्थानीयले गुनासो गर्दै आएका छन्। जुम्लामा चिसो बढेसँगै कर्मचारीदेखि जनप्रतिनिधि सम्म जिल्ला बाहिर गएका छन्।

प्रशासनले स्याउ सुपरजोन, जनस्वास्थ्य कार्यालय, आन्तरिक राजश्व कार्यालय, कृषि अनुसन्धान केन्द्र लगायत २६ वटा सरकारी कार्यालयमा छड्के अनुगमन गरेको हो।

प्रकाशित मिति: : 2021-02-03 06:55:00

प्रतिकृया दिनुहोस्