नेपाली कनेक्सन

थाइल्यान्डमा दीपक र अम्फानले हुर्काइरहेका ‘कुमारी’हरू

जीवन डाँगी

बैंकक, थाइल्यान्ड
Breaknlinks
Breaknlinks

करिब १७ वर्षअघि थाइल्यान्डतिर उड्नुअघिसम्म ऊ आफैँलाई थाहा थिएन किन उड्दैछ! त्यो उडानसँग कुनै सपनाहरू गाँसिएका थिएनन्।

उसँग ‘हरियो पासपोर्ट’ थियो। पाना पल्टाउँदा ‘भिजिट भिसा’को छाप थियो। खल्तीमा अलिकति खर्च थियो। त्योबाहेक उसँग केही थिएन। कोही थिएनन्।

ऊ आफैँमा अन्जान थियो। आफ्नै जीवन अनि बाँचिरहेको परिवेशसँग अवाक् थियो। ऊ परिवारको ‘अन्तरे’ थियो। तर अन्तरमुखी थिएन। ऊ हातका औँला र जिब्रो चलाउन सक्थ्यो। कम्प्युटर टाइपिङ र अंग्रेजी भाषा जान्दथ्यो। नेपाली भाषा–साहित्यमा रुचि थियो। उसँग सिप थियो। तर सपनाहरू फुलिसकेका थिएनन्।

युद्धले देश जलिरहेको थियो। नेपाली दाजुभाइ एकआपसमा भिडिरहेका थिए। उनीहरू ‘मर्न र मार्न’ हिँडिरहेका थिए। त्यसैबेला एउटा नेपाली युवकलाई थाइल्यान्डले चुम्बकले झैँ तान्यो।

खै! किन तान्यो, कसरी तान्यो! ऊ आफैँ अलमल थियो।

‘पूर्वेली ठिटो’को खप्परमा झुन्डिएको भाग्य बैंककका गल्लीमा बज्रिए। त्यो पनि ‘राजा’को सहरमा। संर्घषको मैदानमा। पसिना बगाउनेहरूको एउटा अन्जान सहरमा।

दुई दशकअघि आफ्ना सारा जीवन थाइल्यान्डमा बिसाएका ती ठिटो थिए– दीपक पराजुली।

०००

पूर्वी नेपालको चक्रघट्टीबाट एसएलसी पास गरेर काठमाण्डू हिँडे उनी। खाल्डोमा जसोतसो पढिरहेका दीपक सन् २००७ जुन १ मा विदेश उड्ने जहाज चढे। त्यो पनि दुई महिनाको भिजिट भिसामा।

अलग देश। बेग्लै परिवेश। नेपाली कसैले नबुझ्ने, थाई उनी नबुझ्ने। काम खोज्दै हिँड्थे, कसैले नपत्याउँदा निरास हुन्थे। ‘इसाराको भरमै बुझियो नि धेरै समय,’ उनी भन्छन्, ‘एकातिर थाई नजान्दाको दुःख, अर्कोतिर काम नपाउँदाकाे तनाब। तरपनि मैले हरेस खाइनँ।’

अचम्मलाग्दो जीवन बाँचिरहेको छ बैंकक। के रात, के दिन! हरबखत चम्किरहेकै हुन्छ। मानिसहरू भन्छन्– बैंकक कहिल्यै सुत्दैन, बैंकक कहिल्यै रोकिँदैन। सबैलाई हतार छ। कसैलाई फुर्सद छैन।

संघर्षको बेला दीपक पनि रोकिएनन्। नथाकी हिँड्न खोज्दा बैंककका चोकचोकमा, गल्लीगल्लीमा ठोक्किएका छन् उनी।

लगभग भाग्यमानी रहेछन् दीपक। एकैलटमा धेरै थोक पाए। उनले जागिर पाए। नेपाली समाज पाए। साथीभाइ पाए। थाई प्रेमिका पाए।

०००

दीपकले थाई सरकारी स्कुलमा पढाउँथे। उनी अंग्रेजीमा पोख्त थिए। ज्यान पाल्ने पैसा पाउँथे। थाई स्कुलका शिक्षक मात्र थिएनन्, उनी नेपाली समुदायले चलाएको फाखनउ स्कुलका पहिलो शिक्षक पनि थिए।

‘मैलेचाहिँ थाई सरकारी स्कुलमा अंग्रेजी भाषा पढाउने जागिर पाएँ। जसोतसो दिन काटिरहै थिएँ,’ उनी १७ वर्षअघि फर्किन्छन्, ‘भरपर्दो सहारा भेटेँ। समाज भेटेँ, साथीभाइ भेटेँ। अनि सँगसँगै हिँड्ने कसम खाएँ।’

दीपक नेपाली समाजको काममा घुस्थे। त्योबेला हालको थाई नेपाली संघले पूरै आकार लिइसकेको थिएन। संघको संरचनाबारे संवाद भइरहेको थियो। उनी शिक्षिणको अलवा शैक्षिक समाजको परिकल्पनामा लाग्थे।

दीपक शिक्षण पेशा सँगसँगै सामाजिक यात्रामा जोडिनुमा थाइल्यान्डका समाजसेवी गोपाल लामा, सागर लामा, कुमार कार्की र डा. श्रीनारायण पाण्डेको महत्त्वपूर्ण भूमिका छ। खाउसानका रेस्टुरेन्ट सञ्चालक लोकनाथ कट्टेल (लक्की) र सांस्कृतिक प्रेमी राज कर्माचार्यलाई पनि सम्झिन्छन् उनी।

थाई नेपाली संघको स्थापनापछि शिक्षा विभागमा एकैसुरमा उनीसँगै हिँडिरहेका सहयात्री हुन्, शेखर खतिवडा। टीएनएको सचिव, महासचिव र शिक्षण शिविर प्रमुखको भूमिकामा दीपकसँगै खडा हुन्छन् उनी। त्यसो त शेखर अहिले संघको महासचिव छन्।

दीपक भन्छन्, ‘शेखर मेरो लागि समाजको सहयात्री मात्रै नभएर मेरा ठूला दाजु हुन्, परिवारको अभिन्न अंग हुन्। आत्मीय मित्र हुन्।’

०००

जिन्दगी सजिलो मार्गमा हिँडेजस्तो देखिए पनि दुःख नै थियो। भिसाको तनाव हुन्थ्यो नै। सोचेजस्तो पक्कै थिएन। ‘मेरो सोच कहिल्यै बदलिएन। म शून्यमै थिएँ, शून्यमै छु। तर त्योबेला चरम अभाव थियो, दुःख थियो। आफ्नो भन्ने कोही थिएन,’ उनी भन्छन्।

एक दशकअघि थाई भाषा जान्दैनथे उनी। आम्फानको अंग्रेजी त्यति राम्रो थिएन। एकले अर्कालाई इसारामै माया गर्थे। त्यो एउटा रमाइलो पल थियो। जो अब कहिल्यै फर्केर आउने छैन।

सन् २०१० जनवरी १८ मा दीपक र आम्फानले पहिलो सन्तान प्राप्त गरे। दीपकलाई बधाईको ओइरो आइरह्यो। उनले छोरीको नाम सोचिसकेका थिए– दीपिका पराजुली।

सनातन पद्दतिअनुसार पण्डितले न्वारनको नाउँ राखिदिए– शान्तिदेवी। ‘शान्तिका दूत भगवान गौतम बुद्ध जन्मिएको देश नेपालको मान्छे म र बुद्ध पुज्ने देश थाइल्यान्डकी मेरी श्रीमतीको पहिलो सन्तानको नाउँ शान्ति राख्न पाउँदा योभन्दा खुसी के हुन्छ र,’ उनी मुस्कुराउँदै भन्छन्।

सन् २०१० जनवरी २४ तारिखमा दीपिकाको न्वारनको दिनमै थाई नेपाली संघको पहिलो बैठक सम्झिन्छन् उनी। छोरीको न्वारनमै थिए उनी। श्रीफोट मन्दिरको बैठकमा जान पाएनन्। जिम्मेवारीको भारीले थिच्दै गयो। दीपक परिपक्व हुँदै गए। दीपिका जन्मिएपछि दीपकले फर्किएर हेर्नुपरेन ‘दुःखको पहाड।’

‘मेरी जेठी छोरीको न्वारनको नाउँ शान्ति हो। उनी जन्मिएपछि मेरो मन शान्त छ। परिवारमा शान्ति छाएको छ। उनी आफैँ पनि शान्त छिन्,’ दीपकले भने।

दीपककी कान्छी छोरी सानै छिन्। उनको न्वारनको नाउँ सरस्वती हो। अनि उनले राखिदिएको चाहिँ देविका। दीपकसँग अहिले पाँचओटा आँखा छन्– आफ्ना दुई भइहाले, दुई छोरी र श्रीमती।

०००

दीपिका लक्काजवान भइसकिन्। रहरलाग्दो ‘थाई’ बोल्छिन् उनी। लवजै मीठो। बेलाबखत झुक्किँदा उनैलाई नै सोध्छन् दीपक। पढाइमा ट्यालेन्ट छिन्। थाई स्कुल टपर हुन्।

‘थाई र अंग्रेजी उस्तैउस्तै छ। पठन र लेखन दुबै राम्रो छ। मेरो थाईचाहिँ काम चलाउ छ। मैले बिर्सिएका थाई शब्दहरू दीपिकालाई सोध्छु,’ उनले भने, ‘अंग्रेजी म सिकाउँछु, थाई छोरीले सिकाउँछिन्। सिक्ने–सिकाउने आलोपालो चल्छ हाम्रो घरमा।’

यी उनै दीपिका हुन्, जसमा आफ्नो पिताको ‘नेपाली’ लाली चढिरहेको छ। जसले एउटा अंग्रेजी सिनेमामा ‘कुमारी’को रोल पनि गरिसकेकी छिन्।

नेपालमा जीवित देवी मानिने ‘कुमारी’लाई टेलिभिजन सिरिज ‘द सर्पेन्ट’मा उनको भूमिका छ। बीबीसीले चार्ल्स शोभराजको जीवनमाथि बनाएको यो टेलिभिजन रिसिजमा शोभराजको नेपाल साइनो पनि छ।

करिब १९ वर्षको जेल जीवन नेपालमै बिताएका चार्ल्स शोभराज ‘सिरियल किलर’का रुपमा चिनिन्थे। नेपालसँग पनि शोभराजको जीवनका धेरै किस्साहरू जोडिएका छन्। यो सिरिज पनि थाइल्यान्डमै सुटिङ गरिएको थियो।

०००

रमाउनेहरूको रंगमञ्च हो, ‘बैंकक’। दीपक खासै रमाएनन्। सुन्दाखेरी नै अचम्म लाग्छ– नसाले डुबेको देशमा ‘जाड–रक्सी, खैनी–चुरोट’ खाँदैनन् उनी। ‘थाइल्यान्ड आउनु मेरो संयोग थियो। छोरी जन्मिएपछि चाहिँ अर्को संयोग थपियो। संयोगै संयाेगको संसार रहेछ जीवन,’ उनी भन्छन्।

दीपक र आम्फानसँग सन्तानको पढाइमाथि अग्लो सपना छ। उनीहरू भनिरहन्छन्, ‘हाम्रा छोरीले दिल खोलेर पढिदिए पुग्छ। अरु त नपुग्दो के छ र!’

०००

नेपाली पिता दीपककी थाई छोरी हुन्– दीपिका र देविका। आमाको कोखमा हुर्किंदा–हुर्किंदै थाई रहरसहन र संस्कृतिसित जोडिए। तर पनि दीपकका दीपिकाहरू नेपाली लयमै छन्।

जेठी छेरी दीपिका एकाबिहानै उठछिन्। भगवान् गौतम बुद्ध र हिन्दू देवी–देवताको मूर्ती र पोस्टर ढोक्छिन्। धूप बाल्छिन्। जल चढाउँछिन्। घन्टी बजाउँछिन्। आफ्नो निधारमा आफैँ टीका लगाउँछिन्।

कहिलेकाहीँ नेपालबारे चासो राख्दै पितालाई सोध्छिन्। गुगल म्यापमा घन्टौँ हराउँछिन्। आफूले भेटाएका मठ–मन्दिर, हिमाल र नदी–जंगलको नाउँ टिपेर कापीमा राख्छिन्।

आमाले पूजापाठ गर्न भ्याउँदिनन्। उनीचाहिँ छोरी र पतिकै लागि तयारीमा जुट्छिन्। आमाले समेत नभ्याएको काम दीपिका गर्छिन्।

दसैँ–तिहार र तीज आउने दिन गनेर बस्छिन्। नेपाली मेला–महोत्सवमा तीनैजना रमाउँछन्। ‘तिमी को हौ?’ भन्दा मुसुक्क हाँस्दै ‘हामी नेपाली हौँ’ भन्छिन् उनी। दीपिकाले नेपाली भाषा कक्षा २ सम्म अध्ययन गरेकी छिन्। उनलाई नेपाली पढ्न र लेख्न थोरै मात्रामा आउँछ।

थाइ नेपाली संघले आयोजना गरेको देशीयस्तरको शिक्षण शिविरमा तालिम प्राप्तगरी सन् २०२४ को शिविरमा खुकुरी, योगको शिक्षिकासमेत बनिन् उनी।

दीपक हिँडिरहेको बाटो पक्कै पनि सजिलो थिएन। तर उनले आफू अनुकूल बनाउँदै लगे। परिवार, श्रीमती र ससुरालीको मन जिते। ‘विवाहपछि ससुरालीले शंकाका दृष्टिले पनि हेर्थे नि! यो थाइल्यान्डमा बस्छ कि बस्दैन? कति दिनको लागि आएको छ! यस्तै–यस्तै सोच्थे,’ दीपकले भने।

०००

आइतबार सार्वजनिक बिदा थियो। दीपिकाको छुट्टि थियो। बैंककको घरछेउ नजिकैको रेस्टुरेन्टमा पिता, माता र सानी बहिनीसँगै भेटिएकी दीपिकाले ‘दुई हात जोडेर नमस्कार’ गरिन्।

उनी हिजोआज बिहान र बेलुकी पनि व्यस्त छिन्। थाई सेकेन्डरी स्कुलमा सहयोग पुग्ने कोर्स पढाइरहेकी छिन्। उनी थाई स्कुलमा कक्षा ९ मा पढ्दै छिन्। र, आफूभन्दा कम कक्षाका भाइबहिनीहरूलाई पढाउँदैछिन्। उनी थाई भाषामा अंग्रेजी जतिकै अब्बल छिन्।

उनको रुचिबारे जिज्ञासा राख्दा नेपाली बोल्न अक्मकिएपछि दीपिकाले पिताको सहयोग लिँदै थाई भाषामा भनिन्, ‘विदेशी भाषा सिक्ने रुचि छ। म थाई, अंग्रेजी पछि कोरियन, रसियन, स्पेनिस भाषाको अध्ययन गर्छु।’

सुनिरहुँजस्तो लाग्ने दीपिकाको थाई लवज। आमाको मातृभाषा थाई हुँदै उनी सबैभन्दा बढी आमाबाटै शिक्षित छिन्। थाई स्कुलको पत्रपत्र केलाउँछिन्।

थाई सेकेन्डरी स्कुलमा भर्ना हुनुअघि परीक्षामा सहभागी बनाइन्छ, त्यो परीक्षामा पास भएपछि मात्रै स्तरीय थाई स्कुलमा पढ्न पाउँछन्।

दीपिकाले हिजोआज तिनै सेकेन्डरी तहमा जोडिन चाहेका, आफ्नै तहका थाई बालबालिकाहरूलाई अनलाइनमार्फत् पढाउँछिन्।

दीपिकाले पिताको कर्म अंगालेको देख्दा खुसी छन् दीपक। उनी आज जुन स्थानमा छन्, त्यहाँसम्म पुगेको एउटा बाटो उनले गरेको शिक्षण कर्म पनि हो। छोरीले उनकै लिगेसी पछ्याइरहेकी छिन्।

‘विदेशमा बसेको छु। आफ्नै घर छ। जागिर छ। परिवार राम्रो चलेको छ। दुइटा छोरी छन्, पढाइ टपर छन्। अहिले त सबै राम्रो छ,’ उनले भने, ‘त्योबेला मैले गरेको संघर्ष कमैले देखेका छन्।’

उनी छोरीको खुसीमा सबथोक देख्छन्। छोरीका अनुहारमा आफ्नो सपना देखिरहेका छन्। सबकुछ परिवार नै त अब।

दीपिकालाई पढ्नुछ। केही गर्नका लागि आफ्ना बाआमाको सपना पूरा गर्नका लागि। बुवाले दिएको नाम अनि परिचयलाई अझ उचो पार्नुछ। त्यसैले धेरै नै पढ्नुछ उनलाई।

‘मेरो नाम अनि नाम पछिको पराजुली थर प्यारो लाग्छ। यसलाई कहिल्यै मेटाउँदिनँ। थाइल्यान्डमा मेरा बुवाले देखेको सपना पूरा गर्नका लागि पनि मैले धेरै पढ्नुपर्छ’ दीपlका थाई भाषामै भन्छिन्, ‘उहाँहरूले धेरै दु:ख गरेर हामीलाई हुर्काउनुभएको छ। पढाउनुभएको छ। उहाँहरूलाई कहिल्यै रुवाउन नपरोस् भन्ने लाग्छ।’

यो सन्तान सुखभन्दा के चाहिन्छ जिन्दगीमा। दीपक अनि अम्फानहरू खुसी छन्। यी साना साना खुसीहरूमै सुखी पनि छन्।

दीपिका दुई पटक नेपाल गइसकेकी छिन्। बहिनी देविका पनि एकपटक नेपाल पुगिसकेकी छिन्। अब बिदाको बखत पारेर छोरीहरूलाई दुई महिनाकै लागि नेपाल पठाउने योजना बनाइरहेको कुरा दीपिकाहरूले थाहा पाएका छन् र झन् उत्साहित पनि भएका छन्।

०००

दीपकले बैंककमा रहरलाग्दा ‘पल’हरू बाँचेका छन्। पल–पलको जिन्दगीमा एकपछि अर्काे रहर अनि बाध्यताले उनलाई कर्मभूमिमै भुलाइरह्याे।

नबाँधिइकन बाँचिरहेको एउटा जिन्दगानी। परदेशमै साइनो–सम्बन्ध गाँसे। दुई छोरीका बाउ बने। बुवाको जिन्दगी र संघर्षका साक्षी छन् दुई छोरी।

प्रेम थियो, भाषा थिएन। प्रेमको त आफ्नै भाषा हुन्छ। त्यो भाषा अर्कै हुन्छ। तर व्यवहार चल्दा अनि चलाउँदा ती भाषाहरू आफैँमा प्रेमिल भइदिन्छन्। नबुझिएका कतिपय भाषाहरूमा प्रेम पनि मिसिएका हुन्छन्।

दीपकले थाई भाषा नजान्दा र भर्खंरै बिहे हुँदा बखतको एउटा त्यस्तै कथा सुनाए। आडैमा बसिरहेकी जीवनसाथी उनको कथा र त्यो दिन सम्झेर मुस्कुराउँदै थिइन्।

बैंककमा साह्रै गर्मी थियो। दीपक स्कुलबाट श्रीमतीभन्दा अघि नै घर आइसकेका थिए। उनी नुहाएर सोफामा पल्टिरहेका थिए। त्यसैबेला फोटो स्टुडियोमा काम गर्ने श्रीमती केही ‘खानेकुरा’ बोकेर घर आइन्।

‘खानेकुरा बजारबाटै ल्याएर आएकी तिमी?’ दीपकले श्रीमतीलाई सोधे। ‘खा’ श्रीमतीले जवाफ फर्काइन्। अनि उनी नुहाउन बाथरुमतिर लागिन्।

दीपक उठेर श्रीमतीले ल्याएको खानेकुरा कपाकप खाएर पानी पिउँदै थिए। उनी नुहाएर निस्किइन्।

श्रीमती आइपुग्दा दीपकले खानेकुरा खाइसकेका थिए। त्यो देखेर उनी छक्क परिन्। र, थाईमै सोधिन्, ‘सबै खाएको? मलाईचाहिँ नराख्देको?’ दीपक ट्वाँ परे। उनले पनि सकीनसकी थाईमै जवाफ फर्काए, ‘तिमीले नै खा भनेकी होइनौ? अनि खाएँ?’

उनी दीपकलाई एकोहोरो हेरेर हाँसिरहिन्। उनले कुनै भेउ नै पाएनन्। श्रीमतीसँग थाई भाषा संवाद सुरु गरे।

भएकोचाहिँ के रहेछ भने। थाई भाषामा ‘खा र खाप्’लाई हजुर भनिँदो रहेछ। केटीले खा भन्छन्, केटाचाहिँ खाप्। तर अर्थ एउटै।

दीपकले सधैँ खाप् भन्थे। खाप् नै सुन्थे। त्यो दिन श्रीमतीले नेपालीमै खा भनिन् भनेर दंग पर्दै सबै खानेकुरा खाएका उनी त्यो पल सम्झेर खित्का छोड्दै हाँस्छन्। र, श्रीमती पनि उनकै हाँसोमा हाँसो मिसाउँछिन्।

घरि नेपाली त, घरि थाई भाषामा डेढ दशकअघिको आफ्नो कथा सुनाउँदै थिए दीपक। छेउमै थिए दीपिका र देविका। कथाको भाव बुझेपछि बाआमा सँगसँगै हाँसिन् दिपिका।

देविकाचाहिँ थाई रेसिपी हेर्दै थिइन् मेनुमा।

प्रकाशित मिति: : 2024-05-21 21:00:00

प्रतिकृया दिनुहोस्

    दिपक जी काे विगत काे कथा पढेर मजा अायाे |

    • 2 हप्ता अगाडि
    • Deepak K. Thapa

    nice story deepak g😚😚😚

    • 3 हप्ता अगाडि
    • नीर्मल तिवारी

    एक सरो कथा पढ्न मज्जा आयो😘मीठा यादहरु बगेको छ

    • 3 हप्ता अगाडि
    • Dipa rana

    सबैलाइ धन्यवाद ।

    • 3 हप्ता अगाडि
    • Dipak Parajuli

    दिपक पराजुलीकाे कडा मेहनत र संघर्ष अाज याे स्थान चुमे जस्तो लाग्याे । उहाँले अाफ्ना छाेरीहरुलाई नेपाली वातावरणमा हुर्काउनु भएको पाए । सबैलाई बधाई छ । हामी नेपालहरु जहाँ गए पनि नेपाली भै बाँच्छाैं । दीपक जि तपाईंको सफलताको धेरै धेरै शुभकामना छ । हाल, दुबई।

    • 3 हप्ता अगाडि
    • Ramesh Bhandari