भागरथीकी आमाको नियति: पुछियो सिउँदो, चुँडियो सहारा

सधैँ विद्यालयबाट फर्किँदा ‘अन्नी खायौँ आमई’ भन्ने शब्द अब कहिल्यै सुन्ने छैनन्, द्रौपती भट्ट। ढेड महिना पहिले सिउँदो पुछिएकी उनले गत बुधबार आफ्नो एकमात्र सहारा छोरी (भागरथी भट्ट)लाई गुमाइन्। श्रीमानको मृत्युको आलोघाउ सुक्न नपाउँदै अर्को बज्रपात परेको छ, उनको जिन्दगीमा।

श्रीमानको मृत्यु भएपछि ४५ दिनको पुण्यतिथिसमेत गर्न नपाएकी उनी अहिले सेता लुगामा छोरीको हत्याराको माग गर्दै याचना गरिरहेकी छिन्। उनी घरी रुन्छिन्, घरी मुर्छा पर्छिन्। जिन्दगीलाई नियति नै सम्झेर पनि उनले चित्त बुझाउन सकिरहेकी छैनन्।

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया बालिका भागरथी भट्ट(भूमिका)को शव क्षतविक्षत अवस्थामा भेटिएको थियो। अहिले उनको हत्या प्रकरणले पुनःएकपटक देशभरका द्रौपतीहरुलाई रुवाएको छ। 

छोरी भागरथी उनकी एक्ली सहारा थिइन्। अब त्यही सहारापनि खोसियो। द्रौपतीकी कान्छी छोरी हुन्, भागरथी। उनका एक जना दाजु छन्।  बहिनीको हत्या भएको समयमा उनी भारतमा थिए। अहिले भने दिल्लीबाट घर फर्किसकेका छन्।

बुबाको मृत्युभएपछि घर आएका उनी दश दिन पहिले रोजीरोटीको लागि पुनः भारत गएका थिए। दुई दिदीहरुको विवाह भइसकेको छ। मृतक भागरथी र द्रोपती मात्रै बस्थे घरमा। उनी सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्थिन्। व्यवस्थापन संकाय पढ्ने उनी कतोला गाउँको एक्ली केटी थिइन्।

सधैँझैँ भविष्यमा लेखापाल बन्ने सुन्दर सपना बोकेर स्कूलबाट घर फर्किएकी उनी आमालाई ‘आमई’लाई ‘अन्नी’ दिन घर पुग्न पाइनन्। अब कहिल्यै पनि फर्किने छैनन्। बुधबार दिउँसो २ बजे स्कूलबाट फर्किएपछि बेखबर भएकी उनी बिहीबार बिहान क्षतविक्षत अवस्थामा जंगलमा फेला परिन्।उनको घरबाट विद्यालयसम्म पुग्न एक घण्टा लाग्छ। उनी सधैँ साथीहरुसँग आउने जाने गर्थिन्। त्यो दिन अबेलासम्म छोरी घर नआएपछि आमा द्रौपतीले खोजी गरिन् तर उनको अत्तोपत्तो लागेन।

अर्कोदिन गाउँ एक सामुदायिक वनको झाडीमा भेटाए, गाउँलेहरुले। त्यसअघि प्रहरीमा भागिरथी हराएको खबर पुगिसकेको थियो। प्रहरी र गाउँलेहरु मान्छेको शव भेटिएको ठाउँमा जाँदा भारगथीको नै शव भएको पत्ता लाग्यो। उनको शव विभत्स अवस्थामा भेटिएको थियो।

प्रहरीका अनुसार, उनको टाउँकोर घाँटीमा गहिरो चोट देखिएको छ। हात कोतरिएको छ। उनको योनीबाट समेत रगत बगेको छ। घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या नै भएको देखिन्छ। जुन कुरा प्रहरी अनुसन्धानले बलात्कारपछि हत्या भएको पुष्टि गरिसकेको छ। प्रहरीको पोष्टमार्टम रिर्पोटसमेत बलात्कार भएको घाँटी थिचेर हत्या भएको पुष्टि भइसकेको छ।

उनको शरीरभरि नीलडामका साथै लुगा समेत च्यातिएको अवस्थामा भेटिएको थियो। अहिले उनको न्यायको लागि बैतडीसहित देशभर प्रदर्शन भइरहेको छ। मृतक भागरथीका काका शिवराज भट्ट विद्यालय गएकी चेली घर फर्किन नपाउनु सिंगो देशको लागि गम्भीर विषय भएको बताउँछन्। उनका अनुसार, नजिककै चिनेजानेका मानिसबाट यस्तो कुकर्म भएको हुनुपर्छ।

भागरथीका आफन्तका अनुसार उनी सोझी, अनुशासित र लगनशील थिइन। भागरथीलाई नजिकबाट चिनेका आफन्त सहवेद भट्ट उनको आमाको अवस्था अहिले निकै दर्दनाक भएको बताउँछन्।



भागरथी हत्या प्रकरण : प्रदेश प्रहरी घटनास्थलमा

भागरथी हत्या प्रकरण : स्वाब परीक्षणका लागि काठमाडौंँ 



उनले भने, ‘आमाको अवस्था हेर्दा जो कोही रुन्छ। अवस्था निकै कहालीलाग्दो छ। उहाँ घरमा आउने मान्छे देख्नबित्तिकै रुनुहुन्छ। केटी मान्छे देख्नै हुन्न। बेहोस भइहाल्नुहुन्छ। उहाँको अवस्था देख्दाँ मेरो आँखाबाट आँशु खस्छन्।’

मृतक भागरथी र उनका भतिजासँगै सँगै पढ्थे। उनी निकै सोझी पनि थिइन्। मृतक भागरथी र उनको घर १५ मिनेटको अन्तरमा छ। उनी व्यवसायी हुन्। उनले मिल र स्टेशनरी पसल सञ्चालन गर्दै आएका छन्। भट्टले मृतक भागरथी स्कूल जाँदा र घरायसी कामले हप्ता तीन चार दिन भेट हुनेको बताए।

‘पढाइमा उत्तिकै अब्बल। कक्षामा जहिलेपनि टप टेनमा हुन्थिन्। पढाइमा राम्रो लगाब थियो। घरको आर्थिक अवस्था भने दयनीय थियो’,बिएल नेपाली सेवासँग कुराकनी गर्दै उनले भने।

उनका बुबा मृत्युपूर्व भारतमा मजदुरी गर्थे। उनी सामाजिक सञ्जालमा समेत सक्रिय थिइन्। उनले अहिलेको पुस्तामा सामाजिक सञ्जालका कारण बिग्रिएका धेरै उदाहरण रहेको बताउँदै भागरथी भने ज्ञानगुणका कुराहरु पोष्ट गर्ने बताए।

सबै मान्छेको भित्री कुरा थाहा हुँदैन। तर उनको सोझोपन र मिजासिलो पन अहिले झल्झली याद आइरहन्छ। उनी कसैसँग प्रेम सम्बन्धमा रहेको बारेमा भने उनले अनविज्ञता प्रकट गरे। उनी सामाजिक सञ्जालमा ‘भूमिका भट्ट’ नाममा सक्रिय थिइन्।

घटनास्थलमा मोबाइल भेटिएकोले प्रहरीले अनुसन्धानको पाटो  बनाएको छ। घटनाको अनुसन्धानको लागि आइतबार बिहानै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले पनि घटनास्थल पुगेर अनुसन्धानको निरीक्षण गरेका थिए। अहिले सिआइबीको टोलीले अनुसन्धान गरिरहेको छ।



भागरथी हत्या प्रकरण : प्रहरीले निकाल्यो यस्तो निष्कर्ष, प्रमाणका लागि फरेन्सिक जाँच

भागरथी हत्या प्रकरणः आफन्तदेखि साथीसम्म निगरानीमा



यो घटनालाई दुई वर्ष अघि बलात्कारपछि हत्या गरिरहेकी कञ्चनपुरकी १३  वर्षीया बालिका निर्मला पन्त र  बझाङकी सम्झना विकको हत्याको पुनरावृत्तिका रुपमा लिइएको छ। २०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो। उक्त घटनाको दोषी अहिलेसम्म पनि पत्ता लागेको छैन। 

यस्तै,गत असोज ५ गते बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ खिकालाकी १२ वर्षीया बालिका सम्झना विक पनि बलात्कारको शिकार भइन्।  उनलाई पनि बलात्कारपछि क्रिशुलको प्रयोग गरेर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

तीन वटै घटना संयोगवश सुदूरपश्चिम मै घटेका छन्। घटनाको प्रकृतिसमेत एउटै छ। त्यो हो बलात्कारपछि हत्या। तर एकसाता बितिसक्दा प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन। 

प्रहरी तथ्यांक अनुसार पछिल्लो चार वर्षमा  १७ जनाको बलात्कारपछि हत्या भएको छ। 

२०७४ यता मात्रै देशभर बलात्कारका ७ हजार १ सय ७० वटा घटना घटेका छन्। यता जिल्ला प्रहरी कार्यालय बैतडीले घटनालाई गम्भीर रुपमा अनुसन्धान भइरहेको बताएको छ। बैतडीमा अहिलको हत्यारालाई पक्राउको माग गर्दै दैनिक प्रदर्शन भइरहेका छन्। 

प्रकाशित मिति: : 2021-02-10 20:52:00

प्रतिकृया दिनुहोस्