निर्वाचन विशेष

...यसकारण प्युठानमा सूर्य थापालाई चुनाव जित्न कठिन

फाइल तस्विर
फाइल तस्विर

आम निर्वाचन नजिकिएसँगै प्युठानीहरू सामाजिक सञ्जालदेखि गाउँ–गाउँमा पुगेर चुनावी प्रचारलाई तीव्रता दिइरहेका छन्। चुनावी प्रचारप्रसारकै लागि नेता–कार्यकर्ताहरू पाँच वर्षपछि गाउँ छिर्न थालेका छन्।

प्युठानमा प्रतिनिधिसभाकाे एक मात्र निर्वाचन क्षेत्र रहेको छ। यहाँकाे मनोनयन दर्तालाई हेर्ने हो भने यसपटक एमाले भर्सेज बाम लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा रहने छ।

प्युठानमा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट पोलिटव्यूरो सदस्य सूर्य थापा र बाम लोकतन्त्रिक गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले उम्मेदवारी दर्ता गएराएका छन्।

जिल्लाको विभिन्न तहमा कसले चुनाव जित्ला, गठबन्धन कि एमाले भन्ने रोचक बहससमेत भइरहेको छ। नेता–कार्यकर्ता पनि आफ्नो उम्मेदवारलाई कसरी जिताउने भन्ने गृहकार्य लागिरहेको देखिन्छ।

प्युठान यसै त विभिन्न तहबाट बामपन्थीहरुको गढ मानिन्छ। नेपाली राष्ट्रिय राजनीतिको रंगमञ्चमा उदाएका कैयौँ नयाँ तथा पुराना कम्युनिष्ट नेताहरू यहाँबाट उत्पादन भएका छन्। मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’, वामदेव गौतम, लिलामणि पोखरेलजस्ता ‘क्रान्तिकारी’को जन्मथलो प्युठान हो,  त्यसैले पनि निर्वाचनका बेला प्युठानको बेग्लै चर्चा हुने गर्छ।

०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसलाई पराजित गर्दै बाम गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जितेकी थिइन्। उनी ४१ हजार ५ सय १४ मत ल्याएर विजयी भएकी थिइन् भने पौडेलका प्रतिद्वन्द्वी कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द्रराज पोखरेल ३१ हजार २ सय ८६ मत प्राप्त गरी पराजित भएका थिए। बाम शक्ति र कांग्रेसबीच अघिल्लो चुनावमा १६ हजार २ सय २८ मतान्तर रहेको थियाे।

प्युठान र जनमोर्चाको इतिहास

प्युठानलाई जनमोर्चाले आफ्नो लालकिल्ला दाबी गर्दै आएको छ। नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको जन्म थलो भएकाले पनि यो क्षेत्रलाई जनमोर्चाको लालकिल्ला मानिएको हो। प्युठानमा जन्मोर्चाले धेरै निर्वाचन जितेको छ।

२०५१ सालको निर्वाचनमा प्युठान क्षेत्र नम्बर ‘क’ बाट नवराज सुवेदी निर्वाचित भएका थिए। ०५६ को निर्वाचनमा प्युठानको ‘क’ र ‘ख’ दुबै क्षेत्र जनमोर्चाले जित्यो। त्यतिबेला क्षेत्र ‘क’ बाट हरि आचार्य र क्षेत्र  ‘ख’ बाट सुवेदीले जितेका थिए।

त्यस्तै २०६४ मा माओवादी र २०७० मा एमालेले प्युठानका दुवै निर्वाचन क्षेत्र जितेकाे थियाे। २०५६ पछि २०७४ मा मात्र एमाले–माओवादीसंग गठबन्धन गरेर जनमोर्चाले प्युठानमा चुनाव जितेको थियो। त्यसकारण पनि प्युठानमा जनमोर्चाको राम्रो प्रभाव छ।

प्युठानमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकिकृत समाजवादीलगायत सक्रिय राजनैतिक दलहरु रहेका छन्।

प्युठानको संरचना र स्थानीय तहको मत परिणाम

एउटा प्रतिनिधिसभा, दुईवटा प्रदेशसभा र नौवटा स्थानीय तह छन्, प्युठानमा।

‘क’तर्फ स्वर्गद्वारी नगरपालिका, माण्डवी गाउँपालिका, सरुमारानी गाउँपालिका, ऐरावती गाउँपालिका र प्युठान नगरपालिकाको आधा भाग छ। त्यस्तै, ‘ख’तर्फ नौबहिनी गाउँपालिका, मल्लारानी गाउँपालिका, झिमरुक गाउँपालिका, गौमुखी गाउँपालिका र प्युठान नगरपालिकाको आधा भाग पर्दछ।

यीमध्ये स्वर्गद्धारी नगरपालिका, ऐरावती गाउँपालिका, प्युठान नगरपालिका, मल्लारानी गाउँपालिका, माण्डवी गाउँपालिका र गौमुखी गाउँपालिकामा सत्ता गठबन्धनले जितेको छ।

अनि नौबहिनी गाउँपालिका र सरुमारानी गाउँपालिकामा नेकपा एमालेले जितेको छ। तर, झिमरुक गाउँपालिकामा भने एमाले र माओवादीबीच गठबन्धन भएको थियो। स्थानीय तहको निर्वाचनपछि जिल्लामा सत्ता गठबन्धन बलियो देखिएको छ।

प्यूठानमा एमालेले कुल ३४ हजार ५ सय ७७ मत प्राप्त गरेको छ भने सत्ता गठबन्धनको ४७ हजार ७ सय ८० रहेको छ। त्यस्तै झिमरूकमा भने एमाले र माओवादीबीच तालमेल भएको थियो। त्यहाँ एमाले-माओवादीको ५ हजार ९ सय २९ रहेको छ भने जनमोर्चा-कांग्रेसको ५ हजार ६ सय ९६ रहेको छ। त्यसैगरी दुई वटा वडा जितेको विप्लव समूहले १ हजार ४१७ मत, कुनै पनि वडा जित्न नसकेको नेकपा एकीकृत समाजवादीले १ हजार ३२२ मत प्राप्त गरेका थिए। यही मत परिणामलाई हेर्ने हाे भने पनि एमालेलाई प्युठानमा चुनाव जित्न लागि निकै कठिन हुने अनुमान गर्न सकिन्छ।

यसपटक अन्य जिल्लामा जस्तै प्युठानको चुनाव पनि रोचक हुनेवाला छ। स्थानीय तहको मत परिणाम र अघिल्लाे आम निर्वाचनकाे मत परिणामलाई विश्लेषण गर्दा नेकपा एमाले अन्तिममा देखिन्छ। यस कारण पनि प्युठानमा चुनाव जित्न एमालेलाई निकै कठिन हुने देखिन्छ।

अहिले गठबन्धनबाट साझा उम्मेदवार बनेकी दुर्गालाई कांग्रेस र माओवादीको साथ रहेको छ। पौडेलले यो क्षेत्रबाट अघिल्लाे निर्वाचन पनि जितेका कारण सहज रहेको गठबन्धनका समर्थकहरू बताउँछन्।

के भन्छन् प्युठानी नेताहरू

पाँच वर्षे कार्यकालमा पौडेलले सांसद हुँदा खेलेको भूमिका नै चुनाव जित्ने मुख्य आधार रहेको राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले बताउँछन्।

‘सत्ता गठबन्धनमा रहेर पनि एमसीसी जस्तो अमेरिकन सहयोगको विरुद्धमा बोलेर दुर्गा पौडेलले राष्ट्रवादी रूप देखाउनुभएको छ’, खत्रीले भने, प्युठानमा सांसद हुँदा गरेको विकासको पहल र उहाँले उठाएको मुद्धा नै चुनाव जित्ने मुख्य आधार हो। अझ गठबन्धन इमानदार भयो भने चुनाव जित्न कुनै समस्या छैन।’

कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्द्र पोखरेलले भने गठबन्धनका लागि भोट नमाग्ने कांग्रेसको लागि मात्र मत माग्ने बताएका छन्।

उनी भन्छन्, ‘गत निर्वाचनमा मेरोविरुद्धमा निर्वाचन लडेर मलाई नै हराउनेको लागि कसरी भोट माग्नु? गठबन्धन छ, इमानदारिता निभाउनुपर्छ तर मैले रूखबाहेक गठबन्धनको कुनै उम्मेदवारलाई भोट माग्दिनँ।’

प्युठानमा एमालेको कुनै पनि प्रकारको विवाद नभएकोले एमालेलाई जित्न सहजै भएको एमालेका जिल्लाका एक पदाधिकारी बताउँछन्।

‘एमालेकाे उम्मेदवारीमा कुनै विवाद छैन, त्यसकारण पनि हामी ढुक्क छौँ। अब स्थानीय निर्वाचनमा गठबन्धनकाे भोटसमेत हामीलाई आउँछ, किनभने दुर्गाको उम्मेदवारी गठबन्धनलाई त्यति उचित लागेको जस्तो देख्दैनौँ’, उनी भन्छन्, ‘गठबन्धन भएका कारण कांग्रेस र माओवादीको प्रतिनिधिसभामा उम्मेदवारी छैन। त्यसैले एमालेको सूर्य थापालाई नयाँ भोट थपिन्छ, हामी ढुक्क छौँ।’

त्यस्तै प्युठानको गठबन्धनमा रहेका माओवादीका एक जिल्ला पदाधिकारीले गठबन्धनमा इमानदारी निभाउनुपर्ने बताउँछन्।

‘प्युठानमा प्रतिनिधिसभा जनमोर्चाले पाएको छ। प्रदेश एउटा हामीले र अर्को कांग्रेसले पाएको छ। हाम्रो गठबन्धन प्रतिगमनविरूद्ध हो। त्यसैले इमानदारीका साथ गठबन्धनको उम्मेदवारलाई जिताउनु हाम्रो कार्तव्य हो। गठबन्धनलाई घाट गर्नु भनेको चुनाव हार्नु हो’, उनले भने।

प्रदेशतर्फ कसकाे छ उम्मेदवारी

प्रदेशतर्फ एमालेबाट क्षेत्र ‘क’ मा तुल्सिराम शर्मा र ‘ख’ मा हरि रिजालकाे उम्मेदवारी रहेको छ। गठबन्धनबाट क्षेत्र ‘क’ मा माओवादी केन्द्रका कृष्ण अधिकारी ‘प्रकाश’ र ‘ख’ मा नेपाली कांग्रेसका सरोज थापा (रोज राणा)को मनोनयन दर्ता भएको छ।

प्रकाशित मिति: : 2022-10-12 22:00:00

प्रतिकृया दिनुहोस्