भाजपाले नेपाल र श्रीलंकामा आफ्नो प्रभाव विस्तार गर्ने

Photo - PTI
Photo - PTI

भारतको सत्ताधारी पार्टी भारतीय जनता पार्टी (भाजपा) ले नेपाल र श्रीलंकामा पनि आफ्नो प्रभाव विस्तार गर्ने बताएका छन्। यसको जानकारी त्रिपुराका मुख्यमन्त्री विप्लव कुमार देवले दिएका हुन्। 

उनले शनिबार त्रिपुराको अग्रातालास्थित रविन्द्र सतबार्षिकी भवनमा आयोजित कार्यक्रममा यसको जानकारी दिएका हुन्।

भाजपाका पूर्व राष्ट्रिय अध्यक्ष तथा वर्तमान गृहमन्त्री अमित शाहले हालै त्रिुपराको भ्रमण गरेका थिए। यस क्रममा शाहले भाजपाको प्रभाव नेपाल र श्रीलंकामा पनि विस्तार गर्न चाहेको बताए।

‘चियापान कार्यक्रममा शाहले नेपाल र श्रीलंकामा भाजपाको प्रभाव विस्तार गर्न चाहेको बताउनुभएको थियो,’ मुख्यमन्त्री विप्लवले भने,‘हामी गेस्ट हाउसमा कुराकानी गरिरहेको बेला अजय जमवाल (उत्तर–पूर्वी क्षेत्रीय सचिव) ले भनेका थिए, बिजेपीले भारतको थुप्रै राज्यमा सरकार निर्माण गरिसकेको छ। यसको जवाफमा शाहले भने–अब श्रीलंका र नेपाल बाँकी छ। अब हामीले पार्टीलाई नेपाल, श्रीलंकामा पनि फैलाउनु छ। ताकी त्यहाँ पनि आफू अनुकुल सरकार निर्माण गर्न सकोस्।’

अमित शाहको अब्बल नेतृत्वमा भाजपा विश्वको ठूलो पार्टी बनेको देवले बताए। ‘कम्युनिस्टहरूले विश्वमा सबैभन्दा ठूलो पार्टी आफ्नो भएको दावी गर्दैआइरहेका थिए। त्यसलाई अमित शाहले तोडिदिएका छन्,’ देवले भने।

प्रकाशित मिति: : 2021-02-15 12:08:00

प्रतिकृया दिनुहोस्