कृषि प्रदर्शनीमा किसानको उल्लेख्य सहभागिता

मोरङको लेटाङ नगरपालिकाले व्यावसायिक कृषि उत्पादन गरिरहेका किसानहरूलाई प्रोत्साहन गर्ने उदेश्यले  कृषि उत्पादन प्रदर्शनी कार्यक्रमको आयोजना गरेको छ।

प्रदर्शनीमा नगरका ८५ जना व्यावसायिक किसानको उत्पादन राखिएको थियो। तरकारी, फलफूल, दलहन, ओद्योगिक कृषि, अन्नबाली र नगदेबाली उत्पादन गरी विभिन्न सय प्रकार कृषिबाली प्रदर्शनीमा राखिएको थियो।

उत्तरी मोरङको लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा नै कृषि उत्पादन प्रदर्शनी गर्न १ लाख रुपैयाँ विनियोजन गरेको थियो। नगरपालिका परिसरमा भएको प्रदर्शनीमा ६ विधामा उत्कृष्ट छनौट गरी पुरस्कृत समेत गरिएको छ।

कृषि ज्ञान केन्द्र विराटनगर, सुन्दरहरैचा नगरपालिका र केरावारी गाउँपालिकाका कृषि शाखा प्रमुख रहेको विशेषज्ञ टोलीले किसानको बाली छनौट गरी पुरस्कृत गरेको हो।

अन्नबालीतर्फ विनिता चम्लागाई, गङ्गामाया विक, सन्तबहादुर राई र विकास तिम्सिना क्रमश प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन्।

यस्तै तरकारी बालीतर्फ नारायण श्रेष्ठ, देबी कार्की, पदमप्रसाद भट्टराई र फडिन्द्र न्यौपाने क्रमश प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन्। नगदे बालीतर्फ ललित कला कृषि फर्म, संयुक्त कृषि फर्म, गणेश तिम्सिना र जयबहादुर तामाङ क्रमश प्रथम, द्वितीय, तृतीय र सान्त्वना भए।

औद्योगिक बाली उत्पादन तर्फ चन्द्रबहादुर राई, शिव शक्ति सुपारी उत्पादन केन्द्र, मनरथ न्यौपाने र चुडामणि पोख्रेल क्रमश प्रथम, द्वितीय ,तृतीय र सान्त्वना भए।

फलफुल बालीतर्फ नगेन्द्र घिमिरे, बीर्खबहादुर राई, हरिप्रसाद भण्डारी र सीता पौडेल क्रमश प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन्। यसैगरी दलहन बाली तर्फ जयबहादुर तामाङ, विकास तिम्सिना, गङ्गामाया विक प्रथम, द्वितीय र तृतीय भएका छन्।

पुरस्कृत सबै किसानलाई नगरपालिकाका प्रमुख शङ्कर राई, उप प्रमुख कृष्णकुमारी पोखरेल, प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहाललगायतले पुरस्कृत गरे।

प्रथमलाई २ हजार रुपैयाँ, द्वितीयलाई १ हजार ५ सय रुपियाँ, तृतीयलाई १ हजार रुपैयाँ र सान्त्वनालाई ५ सय रुपैयाँसहित प्रमाण पत्र प्रदान गरिएको नगरका कृषि शाखा प्रमुख करण श्रेष्ठले बताए।

प्रकाशित मिति: : 2021-02-19 12:12:00

प्रतिकृया दिनुहोस्