ऋषिङमा सांस्कृतिक महोत्सव हुने

Dharatal online

जिल्लाको ऋषिङ गाउँपालिका–६ गोठार्दीमा पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव हुने भएको छ। 

आयोजक समितिले आज दमौलीमा पत्रकार सम्मेलन गरी फागुन २८ देखि चैत १ गतेसम्म तीन दिन सांस्कृतिक महोत्सवको आयोजना गरिएको जानकारी गराएको हो।

कार्यक्रमको आयोजकमा स्थानीय झोर्ले गणेश युवा क्लब तथा सहआयोजकमा लाङ्घाली युवा क्लब छ। कार्यक्रममा दुई दर्जन बढी सङ्घसंस्था सहयोगी संस्थाका रूपमा सहभागी हुँदैछन्। 

संस्कृतिबाट पर्यटन क्षेत्रको उत्थान हुने सम्भावना देखिएकाले विगत पाँच वर्षदेखि निरन्तर हुँदै आएको छ। 

महोत्सवका प्रवक्ता दानबहादुर आलेका अनुसार पर्यटन तथा स्थानीय कलाकारलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उनले भने, 'महोत्सवमा ग्रामीण क्षेत्रमा उत्पादन गरिएका कृषिजन्य वस्तुकोसमेत बिक्री वितरण व्यवस्था मिलाइनेछ।'

जिल्लाको दक्षिण भेगमा पर्ने यस पालिका प्राकृतिकरूपमा सुन्दर धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले समेत प्रचुर सम्भावना बोकेको छ। 

आदिवासी जनजातिको बाहुल्यता रहेको यस क्षेत्र सांस्कृतिकको खानीका रूपमा परिचित हुँदै आएको महोत्सव मूल आयोजक समितिका संयोजक शम्भु थापाले बताए। 

रानीपोखरी, गढीदरबार, कोटदरबारजस्ता ऐतिहासिकस्थल रहेका छन् भने अजम्बरी माई, दुर्गा भवानी, ज्यामिरे माई, कल्याणदेवी, गड्गेश्वर महादेव मन्दिर र दुबुङ भ्यूटावरलगायतका थुप्रै धार्मिक तथा पर्यटकीयस्थल छन्। 

सांस्कृतिक झाँकीसहितको प्रभातफेरी, विभिन्न जातजातिको स्थानीय सांस्कृतिक कार्यक्रम तथा नाच, स्थानीय तथा लोकप्रिय कलाकारको प्रस्तुति, राष्ट्रियस्तरमा चर्चित बाल कलाकारको प्रस्तुति, हाँस्य कलाकारको मनोरञ्जनात्मक कार्यक्रम, मगर जातिको प्रचलित लोपोन्मुख रोदीको झलक, स्थानीय खानाको परिकार, रोटेपिङलगायत मुख्य आकर्षण रहेको महोत्सव आयोजक समितिले जनाएको छ।

महोत्सवमा राष्ट्रियस्तरमा चर्चित बाल कलाकार कमला घिमिरे, मुना मगरलगायतको सहभागिता रहेकाले महोत्सव  रोचक बन्ने अपेक्षा गरिएको छ। 

महोत्सवमा २० हजार दर्शकको सहभागिता रहने र करिब रु १५ लाख बराबरको आर्थिक कारोवार गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ। 

सचिन स्मृति दौड प्रतियोगिता सम्पन्न 

रोट्याक्ट क्लब अफ दमौलीको आयोजनामा आज  १८औँ सचिन स्मृति खुला दौड प्रतियोगिता सम्पन्न भएको छ। 

उक्त प्रतियोगितामा तनहुँ घर भई भारतीय सैनिकमा कार्यरत भरत गुरुङले प्रथम स्थान हासिल गर्न सफल भए। प्रतियोगितामा सहभागी जनाएका ८०  धावकलाई पछि पार्दै भानु नगरपालिका–३ तुरतुरेका गुरुङले तोकिएको नौ किलोमिटर दूरी ३० मिनेटमा पार गर्दै प्रथम स्थान हासिल गरे।

छाब्दी बाराही मन्दिरसम्म निर्धारित दूरीमा ३२ मिनेट २५ सेकेण्डमा पूरा गरी गोरखा सिरानचोक गाउँपालिका–३ का दिनेश बोगटीले दोस्रो स्थान प्राप्त गरे। 

त्यसैगरी ३२ मिनेट ५० सेकेण्डमा दूरी पार गर्दै धनगढी उपमहानगरपालिका सक्का वीरेन्द्रप्रसाद भट्टराई प्रतियोगितामा तेस्रो भए। यसैगरी ३३ मिनेट १३ सेकेन्डमा दूरी पूरा गरेर सङ्गम घर्ती प्रतियोगितामा चौथो भए। 

प्रतियोगितामा सबैभन्दा कान्छा धावक सन्ततिले ४२ मिनेटमा दूरी पूरा गर्न सफल भए। यस्तै पहिलो महिला धावक व्यास–१० निवासी नमूना गुरुङले ४३ मिनेटमा दूरी पूरा गरे।

 कार्यक्रममा विजेतालाई प्रमुख जिल्ला अधिकारी सागर अधिकारी तथा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेल तथा क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले पुरस्कार वितरण गरे।

क्लबले यसअघि दमौलीबाट घाँसीकुवासम्मको दूरीमा दौड प्रतियोगिता गर्दै आए पनि यस वर्ष भने रुट परिवर्तन गरी छाब्दीसम्म दूरी तय गरेको थियो । दमौली अनशनचोकबाट शुरु दौड गल्बुबेँसी, जलदेवी टोल हुँदै छाब्दी बसपार्कमा पुगेर टुङ्गिएको थियो। 

नौ किमी दूरीको दौड प्रतियोगिताका प्रथमलाई रु १० हजार १०, द्वितीयलाई रु आठ हजार आठ र तृतीय हुनेलाई रु छ हजार छ पुरस्कार प्रदान गरिएको छ। प्रतियोगिताको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए। 

सो अवसरमा नगरप्रमुख न्यौपानेले खेलकूदको माध्यमबाट जिल्लामा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास गरिएको बताए। 

खेलकूद क्षेत्र स्वास्थ्यका लागि लाभदायक रहेको उल्लेख गर्दै खेल क्षेत्रको संरक्षण गर्दै खेलकूदमार्फत पर्यटकीय क्षेत्रमा जोड दिनुपर्ने उनले बताए। रासस 

प्रकाशित मिति: : 2021-02-27 21:22:00

प्रतिकृया दिनुहोस्