पार्टी फुटाउनेबारे माधव समूहभित्र दुई धार 

पहिले पार्टी नफुटाएकाहरु एमाले फुटाउन उत्साहित,०५४ सालमा माले भएकाहरु निरुत्साहित 

एमालेको माधवकुमार नेपाल नेतृत्वको ‘समानान्तर समूह’ अन्ततः एमालेमा नरहने निश्चितप्रायः भएको छ तर नयाँ पार्टी बनाएर अघि जानेबारे भने ‘अवकाश’ को अवस्थामा पुगेकाहरु उत्साहित छन् भने राजनीतिक करिअर भएका दोस्रो पुस्ताका नेताहरु भने सकेसम्म एमालेभित्रै ‘स्पेश’ खोज्न दबाब दिइरहेका छन्।

माधव नेपालनिकट एक एमाले नेताले दिएको जानकारीअनुसार, नयाँ पार्टी बनाएर अघि बढ्नेबारे ०५४ सालमा वामदेव गौतमको नेतृत्वमा एमाले फुटाएर माले बनाउन लागिपरेकाहरु उत्साहित छैनन् तर त्यसबेला एमालेमै रहेकाहरु भने अहिले पार्टी फुटाउनमा जोड दिइरहेका छन्।

अहिले एमाले फुटाएर माधव नेपाल नेतृत्वको बेग्लै पार्टी बनाइहाल्नुपर्छ भन्नेमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, अमृत बोहोरा, युवराज ज्ञवाली लगायत स्थायी कमिटी  नेताहरु रहेका छन्। उनीहरु ‘ओलीको हेपाइ सहेर एक मिनेट पनि बस्न नहुने र नयाँ पार्टी बनाइहाल्न दबाब दिइरहेका छन्। यस्तो धारणा राख्ने अधिकांश नेताहरु अवकाशको उमेरका रहेका छन्।

०५४ सालमा शीर्षनेतृत्वको ठूलो समूहसहित सहाना प्रधान अध्यक्ष र वामदेव गौतम महासचिव बनाएर नेकपा (माले) नामको नयाँ पार्टी बनाएर एमाले फुटाएको देखेका र भोगेका दोस्रो पुस्ताका नेताहरु भने ‘नयाँ पार्टी चल्दैन’ भन्ने निष्कर्षमै छन्। 

त्यसबेला  प्रधान र गौतमलाई साथ दिने वरिष्ठ नेताहरु राधाकृष्ण मैनाली, पद्मरत्न तुलाधर, देवीप्रसाद ओझा, हिरण्यलाल श्रेष्ठलगायतको नेतृत्वमा बाहिरिएका थिए– देशभरिका झण्डै ‘राम्रामध्येका आधा कार्यकर्ता’। झलनाथ खनाल, युवराज ज्ञवालीले भने अन्तिम समयसम्म साथ दिएर पनि एमालेमै बसेका थिए। 

०५६ सालको चुनावमा मालेको शुन्य सीट भयो। चुनावमा हारेपछि गौतमबाहेकले मैनालीबन्धुलाई समेत पत्तै नदिई मालेलाई निःशर्त एमालेमा विलय गराएका थिए। त्यसपछि धेरै नेताले अवकाश ग्रहण गरेका थिए। 

अहिले एमालेभित्रै स्पेस खोज्नुपर्नेमा जोड दिइरहेका छन्– सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्टलगायतका नेताहरु। तीमध्ये भुसाल र भट्टराई त्यसबेला माले बनाउने अगुवा युवानेता हुन्। नयाँ पार्टी बनाए पनि नचल्ने ती नेताहरुको विश्वास छ। त्यसबाहेक कार्यदलको सदस्य रहेका भीम रावल र रघुजी पन्त पनि पार्टी फुटाउनुुपर्छ भनेर बाहिर बोलिरहेका छैनन्। तर, उनीहरु भने माधव नेपालको साथ कुनै पनि हालतमा छाड्न तयार छैनन् किनकि यी दुई नेतालाई भने एमाले अध्यक्ष ओली पक्षले बेवास्ता गरेको छ।

कार्यदलमा रहेर काम गरिरहेका नेपालनिकट एक स्थायी कमिटी सदस्यले ‘कोट’ नगर्न आग्रह गर्दै भने, ‘देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा कार्यदलमा रहेका सबै नेताहरु आफैँ लेखा समितिको हलमा गएर हस्ताक्षर गर्नुभएको हो। माधव नेपालले पार्टी फुटाउने निर्णय गर्नुभयो भने २६ जनाले नै साथ दिनुहुनेछ। हामी कार्यदलमा बसेर काम गरेकाहरु केही दिन बाहिर बोल्न नमिलेको मात्र हो।’

प्रकाशित मिति: : 2021-05-23 14:38:00

प्रतिकृया दिनुहोस्