रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी

मध्यपहाडी क्षेत्रबाट बिपी राजमार्ग प्रयोग गरी हुँदै आएको प्रतिबन्धित लागुऔषध तस्करी रोकिएको छैन।

छिमेकी पूर्वी–तराई क्षेत्रबाट शृङ्खलाबद्ध रुपमा हुँदै आएको तस्करीका केही घटनामा मात्रै प्रहरी सफल भएको पाइएको छ।

गत बिहीबार दिउँसो झापाबाट मध्यपडाहीस्थित बिपी राजमार्ग हुँदै काठमाडौँ आउँदै गरेको हायस गाडीमा सप्तरीको सुरुङ्गा नगरपालिका–१० का २२ वर्षीय धर्मेन्द्रकुमार रामलाई ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित काभ्रेपलाञ्चोकको इलाका प्रहरी कार्यालय मङ्गलटारको प्रहरीले पक्राउ गर्यो।

उनको साथबाट प्रहरीले विभिन्न थरिका ७४५ प्रतिबन्धित लागुऔषधका क्याप्सुल बरामद गरेको थियो। प्रहरीले रामको जिल्ला अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको जनाएको छ।

एक महिनाअघि अर्थात् गत माघ १२ गते प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ तथा लागुऔषध इन्जेक्सनसहित दुई जनालाई बिपी राजमार्गस्थित इलाका प्रहरी कार्यालय मङ्गलटारले नै पक्राउ गर्यो।

काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–३ का १९ वर्षीय शम्शेर घिसिङ र सुनसरी धरान उपमहानगरपालिका–२ का २७  वर्षीय अजित कामतलाई पूर्वबाट बिपी राजमार्ग हुँदै काठमाडौँ आइरहेको अवस्थामा मङ्गलटारमा सवारी जाँचका क्रममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो।

उनीहरुका साथबाट ‘नाइट्राभेट–१०’ नामक लागुऔषध २८ पत्ता (८४० ट्याब्लेट), डाइजापान इन्जेक्सन १० थान, बुप्रिनोर्फिन १० थान, फोनारागन १० थान बरामद भएको प्रहरीले जनाएको छ।। रासस

प्रकाशित मिति: : 2021-02-28 08:14:00

प्रतिकृया दिनुहोस्