जनतासँगै कोरोनाविरूद्धको खोप लगाउने नेता

कोरोना भाइरसले थलिएको विश्वजगत विस्तारै लयमा फर्किदै छ। भाइरसविरूद्ध सबै राष्ट्रले लामो बन्दाबन्दी थेगेका छन्।

पछिल्लो समय कोरोना भाइरसविरूद्ध खोप उत्पादनमा थुप्रै देश लागे। सफल पनि भए। चीन, अमेरिका, बेलायत, नर्वे, दुबई, भारत, नेपाललगायत मुलुकमा खोपको दोस्रो अभियानसमेत सुरु भइसकेको छ। कतिपय देशमा खोपविरूद्ध अफवाह समेत फैलाइएको छ।

कतिपय देशमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी, जेष्ठ नागरिकले खोप लगाएका छन्। खोपमा विश्वास जगाउन जसले जनता सँगसँगै कोरोना भाइरसविरूद्धको खोप लगाए।

संयुक्त राष्ट्र संघका महासचिव आन्टोनियो गुटारेसले जनवरीमा कोरोनाविरूद्धको खोप लगाएका थिए। जतिबेला खोप लगाउन स्वास्थ्यकर्मीबाहेक प्रायः डराउँथे।

जनवरीताका नै ब्रिटेनकी ९४ वर्षीय महारानी एलिजावेथ र उनका ९९ वर्षीय श्रीमान प्रिन्स फिलिपलाई राजपरिवारका चिकित्सकले खोप लगाएका थिए। जसको कारण कोरोनाविरूद्धको खोपमा थप विश्वसनियता जागेको थियो।

अमेरिकी राष्ट्रपति जो वाइडेन र उपराष्ट्रपति कमला हरिसले कार्यभार सम्हालेलगतै डिसेम्बर २१ मा कोरोनाविरूद्ध खोप लगाएका थिए।

७८ वर्षीय राष्ट्रपति वाइडेनले खोपको पहिलो डोज लगाउँदै गर्दा सबै अमेरिकी जनताले आफ्नो सुरक्षाका लागि खोप लगाउन तयार हुनुपर्ने बताएका थिए।

वाइडेनले यस्तो बेला खोप लगाएका हुन्– जतिबेला उनको कार्यकाल अघि कोरोना भाइरसलाई महामारी मानिदैन्थ्यो। यसको कारण थियो, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प।

अमेरिकी पूर्वउपराष्ट्रपति माइक पेन्सले पनि खोप लगाए। त्यस्तै, इजरायलका ७१ वर्षीय प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कोरोनाविरूद्ध खोप लगाएको सरकारी संचारमाध्यमले उल्लेख गरेको छ।

खोपकै शिलशिलामा नर्वेका ८४ वर्षीय राजा हेराल्ड र ८३ वर्षीय रानी सोनजाले जनवरी १४ मा खोप लगाएका थिए। लगतै, साउदी अरबका शाही राजा सलमान र राजकुमार मोहम्मद बिन सलमानले पनि डिसेम्बरमा खोप लगाए।

दुबईका शासक शेख मोहम्मद बिन राशिद अल–मख्तुमले नोभेम्बरमा कोरोना भाइरसको परिक्षणसँगै खोप लगाएका थिए।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो, तुर्कीका राष्ट्रपति तैयप एर्दोआन र सेशेल्सका राष्ट्रपति वैवेल रामकलावनले समेत जनवरीमा खोप लगाएको राष्ट्रपतिको सचिवालयमा अभिलेख छ।

ग्रीसका ६४ वर्षीय राष्ट्रपति क्याटरीना सकेल्लारोपाउलोले डिसेम्बर २७ मा कोरोनाविरूद्धको खोप लगाएकी थिइन। त्यस्तै, पोप फ्रान्सिसले पनि उसै समय खोप लगाएका थिए। छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मात्रै कोरोनाविरूद्धको खोप लगाएका छन्।

कोरोना भाइरस अध्ययन प्रतिवेदनअनुसार विश्वमा कोरोना संक्रमितको संख्या ११ करोडभन्दा बढी रहेको छ। कोरोनाका कारण २५ लाख ३० हजार मानिसले ज्यान गुमाइसकेका छन्।  

प्रकाशित मिति: : 2021-03-02 15:28:00

प्रतिकृया दिनुहोस्