नरैनापुरवासीका लागि गुणस्तरीय स्वास्थ्य सेवा

Symbolic photo
Symbolic photo

सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा रहेको बाँकेको नरैनापुर क्षेत्रका सर्वसाधारणले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पाउन थालेका छन्।

गाउँमै रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन थालेपछि अव नरैनापुरवासीलाई उपचारका लागि नेपालगञ्ज वा भारतीय शहरमा पुग्नुपर्ने बाध्यता हटेको छ। 

नरैनापुर गाउँपालिकाले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई सुविधासम्पन्न बनाएपछि सर्वसाधारणले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा सहज तरिकाले पाउन थालेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए। 

उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा प्याथालोजी, २४ सैँ घण्टा आपत्कालीन सेवा र भिडियो एक्स–रे सेवासमेत शुरु गरिएको छ। साधारण एक्स–रे पनि तत्कालै शुरु गर्ने योजना छ। 

गाउँपालिकाले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १५ श्ययाको अस्पतालसँगै इमर्जेन्सी सेवा सञ्चालनमा ल्याएपछि नरैनापुरवासीलाई उपचारका लागि सहज भएको वडा नं ६ का नागरिक अगुवा सोहनलाल यादवले बताए।

‘पहिला सामान्य ज्वरो आएका बिरामीलाई पनि उपचार गर्न भारतीय स्वास्थ्यकर्मी र नेपालगञ्जका अस्पतालको भर पर्नुपथ्र्यो, अहिले यहाँका सर्वसाधारणलाई उपचारका लागि न त नेपालगञ्ज जानुपर्छ न त भारतीय अस्पताल धाउनुपर्ने बाध्यता छ’ उनले भने, ‘स्वास्थ्य केन्द्रमा २४ सैँ घण्टा चिकित्सक बस्न थालेपछि गुणस्तरीय स्वास्थ्य सेवा पाउने आशा जागेको छ।’

लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा इमर्जेन्सी सेवा शुरु भएपछि अब सर्वसाधारणले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले बताए। 

उनका अनुसार लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रले आगामी चैतदेखि सर्पदंशको उपचार पनि शुरु गर्ने भएको छ।

 सर्पले डसेका बिरामीलाई नेपालगञ्ज पु¥याउन समय लाग्ने र ढिला गरी उपचार पाउँदा मृत्यु हुने गरेपछि नरैनापुरमा सर्पदंशको उपचार शुरु गरिन लागेको हो। 
 
गाउँपालिकाले आँखा उपचार पनि छिट्टै शुरु गर्ने भएको छ। आँखा उपचारका लागि एक–एक जना नेत्र अधिकृत र नेत्र सहायक माग गरेको छ।

माग गरेबमोजिम निवेदन दिएकाको छिट्टै छनोटपश्चात् सेवा शुरु गरिने बताउँदै प्रमुख प्रशासकीय अधिकृत शाहले भने, ‘यहाँका सर्वसाधारणलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिकाले सबै खालको प्रयास गरेको छ।’

प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख मेडिकल अधिकृत डा सागर पन्तले जनशक्ति अभावका बाबजुत पनि जनतालाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको बताए। उनले भिडियो एक्स–रे गर्ने दक्ष जनशक्ति नभएकाले आफैँले गर्दै आएको जानकारी दिए। 

एक्स–रे सेवा सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई तालीम लिन पठाइएको बताउँदै उनले तालीम लिएर आउनासाथ स्वास्थ्य केन्द्रमै एक्स–रे सेवा पनि शुरु गरिने जानकारी गरे। रासस

प्रकाशित मिति: : 2021-03-05 13:46:00

प्रतिकृया दिनुहोस्