सरकारलाई जुम्लीको आग्रह- ‘कर तिर्छौ, फोहोर लुकाइदेउ’ (भिडियोसहित)

जुम्लाको चन्दननाथ नगरपालिकाले एक सातादेखि सदरमुकाम खलंगाको फोहोर उठाउन सकेन। जताततै फोहरै फोहर देखेपछि शनिबार बिहान यहाँका युवाहरु सडकमा उत्रिए। 

हातमा कुचो, बेल्चा लिएर युवा बजार सरसफाईमा जुटे। नगरपालिका किमकर्तव्यविमुख भएपछि युवाले फोहर उठाए। युवालाई सुरक्षाकर्मीले पनि साथ दिए। 

युवाहरुले फोहोर मात्र उठाएनन्, यही अवसरमा मुद्दा पनि उठाए। 'बरु कर लेउ सरकार तर फोहोर नगर। सुन्दर बनाइदेउ' भन्दै युवाले एक सातादेखि जम्मा भएको चौक, गल्ली, सडक तथा नालीमा थुपारिएको फोहोर उठाए। 

युवा अगुवा धनराज सुनारले भने, 'शिक्षा, स्वास्थ्य र सरसफाईको ग्यारेण्टी गर्न सिंहदरबार गाउँमा पुगेको अनुभुति होला भन्ने सोचिएको थियो। तर नगरभित्रको फोहोर साता दिनसम्म उठ्दैन। गफ सुन्दर, सफा र हराभरा नगरको छ। तर काम शुन्य। खलंगामा थुप्रिएको फोहोर उठाउनै सक्दैन सरकार।'

जुम्ला विमानस्थल जाने सडकदेखि सुरु भएको सरसफाई अभियान कालेखोली चौक हुँदै बसपार्क जाने सडक र जुम्ला बजारको चन्दननाथ भैरवनाथ मन्दिरको आसपाससम्म सञ्चालन गरिएको थियो। बजारको बीचमा पवित्र धार्मिक स्थल छ। जहाँ दैनिक थोरबहुत आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गरिरहन्छन्। त्यही बीचको सडकमा फोहोरको थुप्रो लागेको हुन्छ।

युवालाई स्थानीय व्यापारी र व्यवसायीले समेत साथ दिएका थिए। 'एक सातासम्म न फोहोर उठाउन नगरपालिकाको गाडी आइपुग्यो, नत फोहोर व्यवस्थापनमा नगरपालिकाको चासो नै गयो,' युवा व्यवसायी चन्द्रलाल सुनारले भने, 'फोहोर उठाउनका लागि नगरपालिकालाई कर तिर्नुपर्ने तर फोहोर थन्किएर दुर्गन्ध सहन गर्नुपर्ने अवस्था रहे किन चाहियो स्थानीय सरकार।'

व्यापार गरेर निस्केको फोहोर बजारमा थन्किदा बजार फोहोर भइरहने उद्योग वाणिज्य संघका सचिव मेगराज गिरी बताउँछन। 'व्यवसायीले जल्ने फोहोर जलाइसकेका हुन्छन्। नजल्ने, कुहिने सामान थुप्रिएको हुन्छ,' उनले भने, 'यही फोहोर प्रदुर्षण निम्त्याउने गरेको छ। सदरमुकामको फोहोरले महामारी निम्त्याउन सक्ने भएकोले हरेक दिन संकलित फोहोरको व्यवस्थापन गर्न नगरपालिकाले चासो देखाउनु पर्छ।'

फोहोर उठाउन नगरपालिकाले लापरवाही गरेको खण्डमा संघर्षका कार्यक्रम सार्वजनिक गरेर खबरदारी गरिरहने स्थानीय युवाहरुले बताए। 'फोहोर उठाउने विषयमा साता दिनभित्र कुनै टुंगो नलागेको खण्डमा भिन्न निर्णयका साथ नगरका युवा अघि बढ्छौ,' धनराजले थपे, 'निर्वाचनताका गरिएका स्मार्ट सिटी, सुन्दर नगर, हरियाली र सफा स्वच्छ नगरको नारा कार्यन्वयनमा ल्याउनुपर्‍यो। जनतालाई दिएको बचन पुरा हुनुपर्‍यो।'

यसअघि चाडपर्व, दिवसका अवसरमा स्थानीय प्रशासन, सेना, प्रहरी र कर्मचारीले बजार सफा गर्ने गरेका छन्। संकलित फोहोर व्यवस्थापन गर्ने डम्पिङ साइड नहुँदा नगरपालिका संकटमा छ र नगर बेलाबेला फोहोरको डंगुरमा फसिरहेको छ।


 

 

प्रकाशित मिति: : 2021-03-06 14:15:00

प्रतिकृया दिनुहोस्