जो दिउँसै लालटीन बोकेर श्रीमान खोज्न निस्किन्छिन् (भिडियो)

निलम पुर्वे, ४५। धनुषा महेन्द्रनगरका रेञ्जर तुरुन्तलाल पुर्वेकी श्रीमती। ११ वर्षदेखि बेपत्ता आफ्नो श्रीमानको खोजीमा कहिले जिल्ला प्रशासन कार्यालय धनुषा धाउने गर्छिन त, कहिले क्षिरेश्वरनाथ नगरपालिका।

उनको आँखामा फिटिक्क निन्द्रा छैन। खाना पटक्कै रुच्दैन। घरमा कोही नयाँ मान्छे आयो कि झस्किने गर्छिन। नियमित औषधी सेवन गरेन भने सुत्न सक्दिनन्। उनको दिमागले काम गर्न छोडेको धेरै भइसक्यो। कहिले काही बेपत्ता आफ्नो श्रीमानलाई खोज्न दिउँसै लालटीन बोकेर गाउँतिर भौतारिने गर्छिन्। 

उनलाई यो अवस्थामा पुर्‍याउने व्यक्ति हुन्, क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार अर्थात जोगी। उनकै कारण निलम पागलको जिन्दगी बाच्न विवश छिन्। तर, उनलाई साथ र सहयोग गर्ने कोही छैन। 

धनुषाको सिंगो पुलिस प्रशासन उनको लागि बैरी बनिसकेको छ। सिडियो कार्यालयको ढोका उनको लागि बन्द छ। 

२०६६ सालमा जनतान्त्रिकले निलमको श्रीमान तुरुन्तलाल पुर्वेको अपहरण गरेको थियो। वन कार्यालयमा रेञ्जर पदमा कार्यरत पुर्वेलाई अपहरण मुक्त गराउन मेयर पजियारले निलमसँग ७ लाख रुपैयाँ फिरौती रकम बुझेका थिए।



जनतान्त्रिकको नाममा कांग्रेसका मेयरले ७ लाख फिरौती उठाएको रहस्योद्घाटन



 तर, हालसम्म पुर्वे घर फर्किएका छैनन्। उनी जिवित छन् कि मरिसके परिवारलाई थाहा छैन। निलमसँग ७ लाख रुपैयाँ बुझेका मेयर पजियारले न उनको पैसा फिर्ता गरेका छन्, न अपहरणमा परेका पुर्वेलाई घर फर्काउन नै सकेका छन्। 

मधेश आन्दोलनताका राजनीतिक व्यक्तिले आपराधिक समूहसँग साँठगाँढ गरेर पैसा उठाउने गरेको गुह्य कुरा सबैका लागि ‘ओपन सेक्रेट’ नै छ। मेयर पजियारले पनि अपराधी समूहसँग साँठगाँढ गरेर पुर्वे परिवारसँग फिरौती रकम बुझेको परिवारको ठ्म्याई छ। 

पुर्वे अपहरणमा पर्दा मेयर पजियार नेपाली कांग्रेस धनुषाको साबिक क्षेत्र नम्बर ५ का सभापति थिए। उनले नै पुर्वेलाई छुटाइदिने सर्तमा निलमसँग फिरौती रकम बुझेका थिए। 

बिएल नेपाली सेवासँग कुराकानी गर्दै निलम भन्छिन्, ‘मेयर योगेन्द्र पजियारले घरमा आएर ७ लाख रुपैयाँ फिरौती रकम पाए मेरो पतिलाई अपहरण मुक्त गराइदिने आश्वासन दिएका थिए। मैले ऋण काढेर ७ लाख रुपैयाँ जोहो गर्दै पजियारलाई दिएको हुँ।’

पजियारले बिएल नेपाली सेवासँगको कुराकानीमा आफूले ज्यानको बाजी लगाएर ढल्केबर नजिकै रहेको औरही खोलामा एक जना साथीसँग गएर पैसा बुझाएको बताए। 

तर, निलम यो मान्न तयार छैनन्। उनी भन्छिन्, ‘पजियारले फिरौती रकम अपहरणकारीलाई नदिएर आफै राखे। अपहरणकारीले पैसा पाएको भए मेरो श्रीमान छुटिहाल्थे नि।’

श्रीमान अपहरण परेको २७ दिनसम्म नियमित टेलिफोन सम्पर्कमा रहेको निलम बताउँछिन्। उनले घरको ‘ल्याण्ड–लाइन’ नम्बरमा अपहरणकारीले फोन गर्दै श्रीमानसँग कुरा गराउने गरेको बताइन्। पहिले फिरौतीका लागि ३० लाख रुपैयाँ माग गरिएको उनको भनाई छ।

टेलिफोनबाट धम्की बढ्न थालेपछि नेपाली कांग्रेसको क्षेत्रिय सभापति रहेका पजियार लगातार तीन दिन घरमा आएको र उनले फिरौती रकम जोगाड गर्न चर्को दबाब दिएको निलमको दावी छ।   

‘पजियारले नै मलाई ७ लाखमा कुरा मिलाइसके, छिटो पैसा खोज भनेर दबाब दिएपछि मैले जनकपुरमा रहेका आफन्तसँग ऋण मागेको थिए,’ निलमले निरास हुँदै भनिन्, ‘तर, पजियारलाई पैसा बुझाएको दिनदेखि फोन आउन बन्द भयो। श्रीमानसँगको सम्पर्क टुट्यो।’

श्रीमान अपहरणमा परेको एक दशक नाघिसक्दा पनि फर्किएका छैनन्। यसबीच निलमले मेयर पजियारसँग पैसा फर्काउन बारम्बार आग्रह गरिसकेकी छिन्। तर, उनी उल्टै निलमलाई धम्की दिँदै पन्छिने गरेका छन्। बिएल नेपाली सेवासँग उनले भनिन्, ‘उनी उल्टै प्रहरी प्रशासन लगाउँछु भनेर धम्की दिन्छन्।’

मेयर पजियारले दबाब दिएर फिरौतीको ७ लाख रुपैयाँ आफूबाट बुझेको बिषयमा निलमले प्रहरी प्रशासनमा धेरै पटक उजुरी दिइसकेकी छिन्। तर, हालसम्म सुनुवाई भएको छैन। उल्टै प्रहरी उनको घर जान्छन् र अक्षर राम्रोसँग नबुझ्ने निलमसँग कागजपत्रमा हस्ताक्षर गरेर फर्किन्छन्। 

‘मेरो श्रीमान खोजिदिन र पजियारले लिएको पैसा फिर्ता गरिदिन मैले बारम्बार प्रहरी प्रशासनलाई भनेको छु। तर, मेरो उजुरी दबाउने काम भएको छ,’ राजनीतिक अपराधका कारण पिडित बनेकी निलमले भनिन्, ‘पुलिसहरू बारम्बार मेरो घर आएर कागजमा सहि गराउँछन्। के मा सहि गराए, मलाई थाहा छैन?’

घरको आर्थिक अवस्था कमजोर बनेपछि आफन्त पनि टाढा बन्दै गएको उनको गुनासो छ। उनलाई नेपालको कानुनप्रति भरोसा उठिसकेको छ। भन्छिन्, ‘बेपत्ता श्रीमानलाई खोजिदिन धेरैसँग गुहार गरे तर कसैले सुनेनन्। कि राज्यले मेरो श्रीमानको खोजी गरिदिनुपर्‍यो। नभए मृतक घोषित गरेर सहिद घोषणा गर्नुपर्‍यो।’

श्रीमान बेपत्ता भएपछि निलमको निन्द्रा हराएको थियो। उनी निदाउनकै लागि अहिले पनि निन्द्राको औषधि सेवन गर्छिन। बुवा अपहरणमा परेपछि एउटा छोराको पनि मानसिक सन्तुलन बिग्रिएको छ। उनले छोरालाई उपचारका लागि राचीसमेत पुर्‍याइन्। उनी पनि नियमित औषधि सेवन गर्छन। २७ वर्षका लक्का जवान छोरा बेरोजगार छ। घरमा कमाउने कोही छैन। धन्न पुख्यौंली घर भाडा लगाएर आउने पैसाले खर्च धानिरहेको छ।

दुई छोरीको बिहे गरिसकेकी यी आमालाई आफ्नो श्रीमान जिवित रहेको कुरामा कमै आशा छ। तर, उनलाई आफूलाई यो अवस्थामा ल्याउने अपहरणकारी तथा फिरौती रकम बुझ्ने मेयर पजियारले नेपाल सरकारको प्रचलित कानुनअनुसार दण्ड सजाय भोगेको हेर्ने इच्छा छ। 

राजनीतिक संरक्षणमा यिनीहरू जतिसुकै खुला घुमेपनि भगवानको अदालतमा उनीहरूले माफी नपाउने उनको ठ्म्याई छ। यसैको भरोसामा उनी बाँचिरहेकी छिन्।


प्रकाशित मिति: : 2021-03-10 20:37:00

प्रतिकृया दिनुहोस्