टिप्पणी

राजनीति ‘लाजनीति’ नबनोस्

गणेशबहादुर बिष्ट

अमरगढी (डडेल्धुरा)
Sketch by BishwaThapa
Sketch by BishwaThapa

जताततै नारा जुलुस छन्। माइकका चर्का आवाज कानमा ठोक्किन्छन्। म भने शुन्यताभित्र प्रवेश गर्न खोजिरहेको छु। कसरी हो थाहा छैन आफूले आफूलाई चिन्न कोशिश गर्न खोजिरहेको छु। धेरै दर्शनहरूको अध्ययनमा बिलिप्त हुन चाहान्छु। थुप्रै दर्शनशाश्त्रीहरूका प्रवचनहरूलाई आत्मसात गर्न चाहान्छु। आफू भित्रको ध्यान केन्द्रलाई उजागर गर्न चाहान्छु। कुनै एक स्थानमा फोकस गर्न चाहान्छु। मन र बुद्धिको अर्थ खोज्न चाहान्छु। मन र बुद्धिभित्र सकारात्मक चेत भर्न चाहान्छु। मन भित्रका नकारात्मक बिकारहरू हटाउन चाहान्छु। अहँ, सक्दैन। लाखौं प्रयास गर्दा पनि सक्दैन। मजस्तो सामान्य मान्छेले कहाँ सक्नु अध्यात्मिक गहिराइमा डुबुल्की मार्न। त्यो नसकेपछि बल्ल नकारात्मक चेतको कारण खोज्न चाहान्छु। नकारात्मकलाई पनि सही सदुयोग गर्न चाहान्छु खैर जिन्दगी बद्ली पो हाल्छ कि ?

प्रयोग न हो, जीवन। अनेकौं प्रयोगहरूमा यो प्रयोग पनि थप्न मन लागि रहन्छ। जीवनका ४६ वसन्तसम्म दिमागभित्र भरिएका नकारात्मक चेतहरू केही समयको क्षणिक प्रयासले कहाँ हट्न सक्ला र ? तर पनि कोशिस हो आफूले आफूलाई रुपान्तरण गर्नका लागि गरिने हरसम्भव प्रयास।

सरकारी जागिर खाँदासम्म सरकार र जनताको सेवामा समर्पित हुनु मेरो दायित्व हो। सरकारी सेवामा काम गरेबापत राज्यले मलाई दैनिक लगभग दुई हजार दिने गर्छ। प्रश्न आफैंले आफैंलाई गर्न खोज्छु कि प्राविधक रुपमा काम गर्ने मजदुर श्रमिकहरू दैनिक ज्यालामा काम गरेबापत  दैनिक एक हजार पाउँछन तर मालिकको निगरानीमा ९ घण्टा जति मेहनेतले काम गर्छन्। मालिकलाई पनि खुसी राख्छन् र आफू पनि खुसी हुन्छन्। हामी सरकारका श्रमिकहरू दैनिक ८ घण्टा किन काम गर्दैनौं ?

ती श्रमिकको भन्दा आर्थिक लाभ हामी श्रमिकको बढी छ। तिनीहरूकोभन्दा शारीरिक कष्ठसमेत कम छ तर पनि सरकारको काम हो भन्दै हामी आफ्नो कामलाई टार्छौं। ढुक्क छौं त केबल सरकारी तलब आइरहन्छ भन्नेमा। अनि भन्छौं कसकाे बाउको खाएका छौं। सरकारी तलब हो कसले रोक्न सक्छ र ? यस्तो नकारात्मक चिन्तन। म भने सरकारको काम हो लक्ष्यअनुसार प्रगति गर्न सकिएन भने तलब खाएको अर्थ हुँदैन भन्नेमा छु। मैलै मेरा साथीहरूलाई यसैमा कन्भिन्स गर्न खोज्छु।

सबैले मलाई एउटै प्रश्न सोध्ने गर्छन्,‘अरुले आफ्नो काम नगर्ने अनि तपाईं मात्रै बडो राष्ट्रसेवक बन्ने ? जस्तो गरी अरु चल्छन् हामी पनि त्यसै गरी चलौ न।’ म भन्छु, ‘अरुले गर्छन् त्यसको पछाडि लाग्नु धर्म होइन। हामीले हाम्रो कर्तब्य र दायित्व बिर्सियाैँ भने जागिर र तलब त खाउँला तर हामीले गरेको काम अपाच्य हुन्छ। त्यो हामी स्वयंका लागि जनताका लागि र भगवानका लागि पनि। यहाँ हरेक विषयहरू छन्। नकारात्मकबाट जीवन सुरु हुन्छ र नकारात्मकमा नै जीवनको अन्त्य हुन्छ होलाजस्तो लाग्न थाल्छ। बिहानको शुभ मुहुर्तदेखि बेलुकी सुत्ने बेलासम्म केबल नकारात्मक विचारहरूले मन र बुद्धिलाई घेरी राखेको छ। यसमा मेरो दोष मात्रै नहोला, राष्ट्र चलाउनेहरुले, राष्ट्रको नीति नियम कार्यान्वयन गर्नेहरुले यो समाजले मलाई र म जस्ता थुप्रै सचेत नागरिकलाई नकारात्मक विचार उत्पादन गराउने कारखाना बनाइदिएको छ।

म जुन गाउँमा जन्मे, त्यहाँ उत्पादनको प्रचुर सम्भावना छ। गाउँका मानिसहरूमा नयाँ वैज्ञानिक कृषि खेती गरौं म भनिरहेको छु। उनीहरूले हरेक कुरामा प्रश्न तेस्र्याएका छन्। भन्छन्,‘कुनै एनजीओले पठाएको होला ? कति पैसा ल्याएर आयो होला ? हामीलाई नदिई सबै आफूमात्र खान्छ होला आदि।’ सकारात्मक चिन्तनका साथ अगाडि बढौं भन्दा समाजले मलाई नकारात्मक विचारहरू दिई नै राखेको छ। मैले गाउँका किसान दाजु–भाइहरूलाई पुनः सोध्न थाल्छु,‘गर्ने हो त कृषि क्रान्ति ?’ फेरि उत्तर आउँछ, ‘यहाँ सिँचाइका लागि पानी छैन। जंगली जनावरले बाली नष्ट पारिदिन्छन्। घेरबार छैन। आलु वा अन्य बालीहरू लगाएर गहुँ नभएमा वर्षभरि के खाने ? सरकारले पैसा दिँदैन। यस्तो अवस्थामा हामीले केही गर्न सक्दैनौं।’ खाली नकारात्मक सोंच। युवाहरु या त विदेशिन्छन् या नेताको पछि लाग्छन्।

घरतिर फर्केर हेर्छु। पहिला–पहिला बुवा र आमाको झगडा देख्थेँ। बुवा आमाहरू घरको खाना खानेदेखि घर चलाउने तरिका फरक–फरक विचारबाट उद्देलित देखिन्थे। सहन नसकिने अवस्थामा विचारहरूको टकराव हुनु स्वभाविक थियो। अन्ततः त्यो आवेशमा परिणत हुन्थ्यो। मेरो आफ्नो पारिवारिक वातावरण पनि नकारात्मक छ। नकारात्मक विचारहरूको टकरावसँगै लडिबुडी खेल्दा खेल्दै म स्वयंको विवाह भयो। खाना बनाउने, खाने, अफिस, जागिर, लुगा लगाउने, घर बनाउने, छोरा छोरीको लालनपालन सबै विचारहरू नकारात्मकबाट नै अगाडि जान्छ। पुँजीको उत्पादन र परिचालनमा समेत मतभिन्नता हुन्छ। यी यस्ता विषम परिस्थितिहरूकाले के सन्देश दिएको छ भने हाम्रो समाज नकारात्मक चिन्तनबाट नै उद्देलित छ। मानौं हामी अब नकारात्मक विचारयुक्त जीवनका एक अंग भएर बाँचेका छौं। हाम्रो दिनचार्या नकारात्मक छ, त्यसैले पनि हामी यही दिनचार्याको एक अभिन्न अंग बनिसकेका छौं।

राजनीतिक जीवन तिरको कुरो गर्नु ब्यर्थ हुन्छ। कुनै समय म समाजवादको आदर्शलाई कण्ठस्थ बनाई समाजमा समाजवादको वकालत गर्ने गरेको ब्यक्ति थिएँ। सर्वहारा वर्गको अधिनायकत्वको सरकार र सरकारले सबै समाज र वर्गका ब्यक्तिहरूको जीवनस्तर सिङ्गापुरे र स्वीइजरलेण्ड बनाई दिने आदर्श दिने कुनै अमुख पार्टीको भातृसंगठनको महासचिव समेत भएको ब्यक्ति। राजनीतिमा मैले पनि थुप्रै दौंतरीहरूलाई दिग्भ्रमित बनाइरहेँ। परिवर्तनको एजेण्डा लगेर विकास निर्माणका लागि शिरमा रातो फेटा बाधेँर क्रान्तिका वकालतहरू गरि रहेँ। आखिरमा ती सबै मिथ्या सावित भए। हामीलाई गरिएको स्कुलिङको बुँदा–बुँदा कण्ठ पारिएका कारण म पनि त्यही रटानमा लागेँ। रटान गरिएका विषयवस्तुहरू दोहाेर्‍याइरहन्थेँ। अन्तमा हामीलाई अकर्मण्यमा फसाएर आफ्नो र परिवारको दुनो सोझ्याउन लालायित नेताहरूको नकारात्मक चरित्र धेरै कालखण्डपछि आफ्नै आँखाले देखेँ। राजनीतिक पार्टीप्रति यति नकारात्कता हुनु राम्रो विषय होइन। सम्भावना र चुनौतीको सामाना गर्न सक्ने केवल राजनीतिक पार्टी मात्रै हुन भन्ने बुझेको छु। तर पनि नेताहरूको अविश्वास, ब्यक्तिवाद, स्वार्थ आर्थिक प्रलोभन र परिवारवादले पार्टी प्रतिको वितृष्णा निकै उजागर भयो। यहाँबाट पनि नकारात्मक चिन्तन नै हावी देखियो।

शिक्षा स्वास्थ्यसमेत नकारात्मकबाट मुक्त हुन सक्दैन। सरकारी विद्यालयका शिक्षकहरू सरकारी तलब खान्छन्। यथार्थमा राजनीति गर्न ब्यस्त देखिन्छन्। जनताको ढाड सक्ने निजी विद्यालयहरूमा जनताका छोराछोरी पढ्न बाध्य छन्। आफ्नो घर नजिकको सरकारी विद्यालय छोडेर गरिब किसान, मजदुरहरू छोरा छोरी पढाउन सदरमुकाम धाएको देख्दैछु। पैसा होस् वा नहोस् निजी विद्यालयमा भर्ना गरी दुई छाक मिठो मसिनो खाए पनि डेरा गरेर छोराछोरी पढाउनुपर्ने वाध्यता कसरी सिर्जना भयो होला वा कसले गरायो होला ? यसको उत्तर दिने निकाय कुनै छैन।

त्यस्तै स्वास्थ्य सेवा छ। सरकारी अस्पतालमा गरीबको पहुँच निकै कम हुने गर्छ। जनताको सेवामा समर्पित हुनु पर्ने डाक्साबहरू लगानी असुल गर्नका लागि भए पनि निजी अस्पतालहरूमा जान बाध्य छन्। अझ गजब त तब भयो जब सरकारी अस्पतालका कर्मचारीहरूलाई बिमारीहरूलाई कन्भिन्स गरेर निजी अस्पातालहरूमा पठाउँदै गरेको दृश्य देखियो। यी सबै चिन्तनहरू विचारहरू नकारात्मक विचारका द्धोतन हुन। यस्तो हुनु नहुने हो।

यो सबै परिस्थितको सर्जक पनि हामी नै हौ। समाधान पनि हामीसँग नै छ। हामी धेरै स्वार्थसिद्ध कल्पना गर्छौं त्यसकारण पनि नकारात्मक विचारहरू दिमागमा पैदा भइरहेका हुन्छन्। विज्ञानले पनि भन्छ कि हामीले सोच्ने र चिन्तन गर्ने मोडेलकै आधारमा हाम्रो शरीरले पनि दिमागको सिद्धान्तलाई फलो गरेको देखिन्छ। हाम्रो दिमागले भनेको कुरा शरीरले मान्नुपर्छ। हाम्रो दिमागले सकारात्मक चिन्तन उजागर गर्छ भने शरीर सकारात्मक कर्मतिर डोरिन्छ। ओशोको तर्कमा म पनि सहमत छु कि सकारात्मक र नकारात्मक विचारहरू दिमागमा स्टोर हुने गर्छन्। जुन विचारहरू पटक–पटक दिमागमा दोहरिरहन्छन शरीरले कर्म पनि त्यस्तै गर्दै जान्छ। अहिले हाम्रो समाज, ग्रामिण भेगका दाजु–भाइहरूदेखि समग्र देशमा नकारात्मक विचारहरू कुदिरहेका छन्। त्यसकारण सचेत नागरिकहरू निराश देखिन्छन्।

यसको एकै उपाय छ। नकारात्मक विचारहरू मन र मष्तिष्कबाट हटाई आफूलाई शुन्यतामा रुपान्तरण गर्नु नै उत्तम उपाय हुन सक्छ। मौनता र ध्यानमार्फत् शुन्यतामा जान सकिन्छ। यो ध्यान र मौनताको प्रयोग धेरै ऋषिमुनिहरूले सफलता पूर्वक गरिसकेको अभ्यास हो। शुन्यता पश्चात सकारात्मक विचारहरूलाई बारम्बार दोहाेर्‍याई दिमागलाई सकारात्मक दिशामा डोर्‍याउनु पर्ने हुन्छ। सकारात्मक विचारहरू बारम्बार ल्याइरहनु पर्ने हुन्छ। आफूलाई कर्ममा ब्यस्त राख्नुपर्ने हुन्छ। कम बोल्ने गर्नुपर्छ। कसैसँग रिस पोख्नु छ भने उसलाई एकान्तमा रिस शान्त नहुन्जेल गाली गर्नुपर्ने हुन्छ। मनमा भएका नकारात्मक विचारहरू हटाएपछि केही समय मौनमा जाने र सकारात्मक चिन्तनको ध्यान गर्दा फाइदा हुन्छ।

यस्ता चिन्तन र प्रवृत्तिहरू आफ्नो जीवनमा अंगाल्ने कोशिस गर्ने हो भने सबैको उन्नति प्रगति र लाभ हुने निश्चित छ। सही साेचौँ सही बाेलौँ र असल अभ्यासको सुरुवात गरौँ। समाजवाद कुनै आदर्श खोकेर आउनेवाला छैन। समाजवाद ल्याउन स्वयं रुपान्तरण हुन जरुरी छ।

अहिले नेपालमा राजनीतिक र सांस्कृतिक दुबै पर्वहरू सँगै सँगै दौडिरहेका छन्। दुबै पर्वहरूको विषेशता समान छ। दुबै पर्वहरू जनतालाई ढाड सेक्ने आर्थिक भार थपी जनतालाई गरिबीको गोरेटोतिर धकेल्ने पर्वहरू हुन्। सांस्कृतिक पर्वमा संस्कार र संस्कृति अनुसार खर्च हुन्छ भने राजनीतिक पर्वमा झुट र भ्रमको खेतिबाट जनमत संकलन गरी आफू र आफ्नालाई मात्र हेरी आम जनतालाई कङ्गालिकरण तर्फ डोर्‍याउने बाटो। सांस्कृतिक पर्व सबैका लागि हुन्छ र सबै खुसी साट्ने गर्छन्। तर, नेपालको राजनीति हेर्दा राजनीतिक पर्वमा कोही बेहद खुसी र कोही कंगाल हुन सक्छन्।

भनिन्छ, राजनीति नीतिहरूको राजा हो। देशमा चलिरहेका नीतिहरूले गर्दा जनता यति निराश छन् कि विकल्पको खोजसमेत तिरस्कार गरी स्वयं राजनीतिक मृत्युशैयामा जान लालायित देखिन्छन्। अझै पनि जनता बेहद खुसी हुने नीति ल्याउने राजनीति हुँदैन भने एकदिन अनिष्ठ नहोला भन्न सकिँदैन। त्यसैले कामना गरौं राजनीति देश र जनताका लागि लाजनीति नबनोस्।

प्रकाशित मिति: : 2022-11-12 22:10:00

प्रतिकृया दिनुहोस्