सुस्ताउँदै उर्लाबारीको खेल गतिबिधि

दीपक बास्तोला

उर्लाबारी

पूर्वी मोरङको उर्लाबारी नगरपालिका खेलकुद क्षेत्रका लागि मलिलो ठाउँ मानिन्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका फुटबल, भलिबल, कराँते, शारीरिक सुगठन प्रतियोगितामा यहाँका दर्जन बढी खेलाडीले सहभागिता जनाइ सकेका छन्।

खेल खेलेर नै दाम र नाम कमाउने खेलाडीहरू लामो लिष्ट बन्छ उर्लाबारी नगरमा। विगतमा व्यावसायिक खेल खेल्ने खेलाडीहरू केही बाहेक अधिकांश अहिले पनि कोही प्रशिक्षक र कोही एम्पायरको भूमिकामा छन्।

यसले खेलाडीहरूलाई खेल जीवन सकिएपछि पनि खेलकुद क्षेत्रमै आर्थिक उपार्जनको सम्भावना छ भन्ने पुष्टि गर्छ। ७४ दशमलव ६२ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको उर्लाबारी नगरपालिकाको जनसङ्ख्या ७० हजार ६०५ रहेको छ।

सानो भूगोल भएपनि उर्लाबारीमा साना ठूला गरी १३ वटा खेलमेदान रहेका छन्। तर, ती खेल मैदानको उचित संरक्षण र स्तरोन्नति गर्न नगर, प्रदेश र संघीय सरकारले कुनै बजेट छुट्याएको छैन।

युवा, र खेलकुदमा नगरको बजेट 
उर्लाबारी नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा युवा तथा खेलकुद शीर्षकमा १ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। उपयुक्त ढङ्गले बजेट परिचालन भए बजेटको यो अङ्क सामान्य होइन।

यति मात्र होइन, हरेक वडाले कुनै न कुनै शीर्षक मिलाएर युवा र खेलकुदका नाममा बजेट विनियोजन गरेको देखिन्छ। नगरको सामाजिक विकास कार्यत्रलम अन्तर्गत चालु आर्थिक वर्ष २०७७/०७८ मा सामाजिक विकास कार्यक्रम अन्तर्गत नगर स्तरीय कार्यक्रममार्फत युवा तथा खेलकुद विकास कार्यक्रमका लागि ३० लाख रुपैयाँ विनियोजन भएको छ।

यस्तै ब्याडमिन्टन कोर्ट र कभर्ड हल निर्माणका लागि २० लाख रुपैयाँ विनियोजन भएको छ। यसैगरी युवा शीर्षकमा जीपी फाउण्डेशन कार्यक्रमका लागि ५ लाख रुपैयाँ र संघ संस्थाहरूको साझेदारी कार्यक्रमका लागि ५ लाख रुपैयाँ विनियोजन भएको छ।

यो सबै जोड्दा ६० लाख रुपैयाँ हुन्छ। नगरले चालु आर्थिक वर्षका लागि ७४ करोड ७७ लाख ८८ हजार २७९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। जसमा ६० लाख रुपैयाँ युवा तथा खेलकुदका लागि विनियोजन भएको छ।

यो रकम कुल बजेटको १ प्रतिशत भन्दा कम हो। नगर पाश्र्वचित्र २०७६ अनुसार नगरमा २ हजार ७३७ जना पूर्ण बेरोजगार मानिस रहेका छन्। उनीहरूलाई स्वरोगजार बनाउन युवा लक्षित कार्यक्रमहरू नीति तथा कार्यक्रममा आए पनि कार्यान्वयनको अवस्था कमजोर देखिन्छ।

नगर स्तरीय योजनामा मात्र होइन। वडाले पनि युवा र खेलकुदका लागि बजेट छुट्याएका छन्। तर, त्यो बजेटको पनि कार्यान्वयन पक्ष सफल देखिँदैन। वडा नं. १ ले सामाजिक विकास कार्यक्रम अन्तरगत खेलकुदका लागि १ लाख रुपैयाँ विनियोजन गरेको छ।

वडा नं.३ ले मङ्गलबारे युवा क्लवलाई सीप मुलक तालिमका लागि १ लाख रुपैयाँ र सामाजिक विकास अन्तर्गत प्रस्ताव लेखन तथा उद्घोषणमा ५० हजार रुपैयाँ र लागुऔषध विरुद्धमा सचेतना कार्यक्रमका लागि ५० हजार रुपैयाँ विनियोजन गरेको छ।

वडा नं. ५ ले सामाजिक विकास कार्यक्रम अन्तरगत लेखा सम्बन्धी तालिमका लागि १ लाख ९० हजार रुपैयाँ छुट्याएको छ भने वडा नं. ६ ले विकास विकास अन्तरगत नै खेलकुद कार्यक्रमका लागि ९० हजार र लागु पदार्थ तथा दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रमका लागि ८० हजार रुपैयाँ बिनियोजित छ।

वडा नं. ७ ले आर्थिक विकास कार्यक्रम अन्तरगत ड्राइभिङ तालिमका लागि ५० हजार र सामाजिक विकास अन्तर्गत सङ्गीत सामग्री वितरण र कम्प्युटर तालिमका लागि क्रमश २५ हजार र २० हजार रुपैयाँ छुट्याएको छ।

वडा नं. ८ ले कराँते खेलकुद प्रतियोगिता तथा खेल सामग्री वितरणका लागि ५० हजार रुपैयाँ र भलिवल, खेलकुद प्रतियोगिताका लागि ३० हजार रुपैयाँ विनियोजन गरेको छ।

९ वटा वडा मध्ये ६ वटा वडाले खेलकुद र युवा लक्षित कार्यक्रमका लागि ४ लाख ९० हजार रुपैयाँ छुट्याएका छन्। तर, यो बजेट कार्यकर्ता खुसी पार्दैमा सकिने गरेको छ। विगत ३ वर्षका कार्यक्रमलाई हेर्ने हो भने ठोस उपलब्धि भएको देखिँदैन। 

३ वटा वडा खेलकुद र युवा प्रति निरपेक्ष 
यता उर्लाबारीका वडा नं २, ४ र ९ नं. ले खेलकुद तथा युवा लक्षित कार्यक्रमका लागि बजेट नै छुट्याएका छैनन्। युवा लक्षित नगर स्तरीय बजेट पनि ती वडामा परेका छैनन्।

सङ्घीय र प्रदेश सरकारका कुनै कार्यक्रम वडामा छैनन्। यद्यपि ती वडाहरूले युवा तथा खेलकुद लक्षित कार्यक्रममा बजेट विनियोजन नै नगर्नु दुखद पक्ष हो। वडाका सरोकारवाला, राजनीतिक दल र नागरिक समाजले बजेट निर्माणका समयमा वडा प्रतिनिधिहरूलाई घच्घच्याउनु पर्ने देखिन्छ।

खेलमैदान छन्, स्तरोन्नति छैन
उर्लाबारी नगरपालिका क्षेत्रमा १३ वटा खेल मैदान रहेछन्। तर, ती मध्ये कुनै पनि खेल मैदानलाई नगरपालिकाले रङ्गशालाको रुपमा विकसित गर्ने योजना बुन्न सकेको छैन। नगरको वडा नं. ३ स्थित चाइनिज क्याम्प खेल मैदान सम्भावना बोकेको खेल मैदान हो।

यद्यपि मदन भण्डारी गोल्डकपका दुई वटा संस्करण भएपछि त्यो खेल मैदान हाल सञ्चालनमा छैन। उर्लाबारी–३ कै सालबारी खेल मैदानलाई नगरपालिकाले प्रस्तावित उर्लाबारी नगर रङ्गशालाका रुपमा विकसित गर्ने अवधारणा बनाएको छ।

खेल मैदान स्तरोन्नतिका लागि प्रदेश सरकार र नगरले केही बजेट खर्च गरिसकेका छन्। खेलमैदान भएकोे जमिन जङ्गल क्षेत्रमा देखिएकोले  डिभिजन वन कार्यालय मोरङले उक्त क्षेत्रमा वृक्षारोपन गर्न पत्राचार गरेपछि नयाँ झमेला सुरु भएको छ।

सोही खेल मैदानलाई रङ्गशालाको रुपमा विकसित गर्न एन्फाले समेत चासो देखाएको उर्लाबारी नगर खेलकुद समितिका अध्यक्ष भीष्म बुढाथोकी बताउँछन्।

उनले भने– एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र नगर प्रमुख खड्गबहादुर फागो सहितको टोलीले स्थलगत निरीक्षण पनि गर्नुभयो। तर, नगरको स्वामित्वमा खेल मैदान नआएसम्म दातृ निकायले सहयोग नगर्ने भनेपछि स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन।

उता उर्लाबारी–८ र दमक १० को सीमानामा पर्ने आम्वारी खेलमैदान पनि सीमा बिबादका कारण स्तरोन्नति हुन सकेको छैन्। झापाको भूगोलमा परे पनि मोरङले नै वर्षौंदेखि उपभोग गर्दै आएको आम्बारी खेल मैदान विगतमा ठूला प्रतियोगिता हुने मैदानका रुपमा परिचित छ।

झारसाँदी खेलमैदान, टपु, कान्छीचौक पूर्वको मैदान, शान्ति निमावि, सरस्वती निमावि, सुनपकुवा मावि, सुनझाडो मावि, राधिका मावि, अरनिको मावि लक्ष्मी मावि र बहादुर वावा आधारभूत विद्यालयको खेल मैदान उर्लाबारीका खेलकुल सञ्चालन गर्न योग्य मैदान हुन्।

उर्लाबारीमा खेलाडी र खेलकुद गतिविधि 
उर्लाबारी मोरङको खेलाडी उत्पादन गर्ने उर्भर क्षेत्र हो। खेलाडी मात्र होइन, प्रशिक्षक पनि उर्लाबारीमा उत्तिकै छन्। फुटबलमा रजिन धिमाल, विजय धिमाल, नेगिता धिमाल, रोशनी धिमाल, नवीन मोक्तान, रतन धिमाल, मिक्चेन तामाङ, कविता तामाङ, करिना तामाङ विकास धिमाल ब्यावसायिक खेलाडीका रुपमा परिचित छन्।

लामो समय फुटबल खेलेर छुट्टै पहिचान निर्माण गर्न सफल दीपेन्द्र धिमाल पछिल्लो एक दशक यता मोरङ फुटबल सङ्घको अध्यक्ष छन्। राजनीतिसँगै खेलकुद क्षेत्रमा ३ दशकदेखि सक्रिय धिमालले उर्लाबारीको फुटबललाई देशदेशान्तरसम्म परिचित गराएका छन्।

कुनै समय चर्चाको शिखरमा थिए, उर्लाबारीका सञ्जिव बुढाथोकी। लामो समय ए डिभिजन राष्ट्रिय लिगका विभिन्न क्लबसँग आवद्ध भएर फुटबल खेलेका बुढाथोकी पछिल्लो समय प्रशिक्षकका रुपमा स्थापित छन्।

हाल उर्लाबारी काङ्ग्रेसका सभापति एवं वडा नं.७ का वडाध्यक्ष रहेका वीरबल थापा कुनै समय भलिबलका राष्ट्रिय खेलाडी थिए। थापाको खेल जीवनपछि अलि सुस्ताएको उर्लाबारीको भलिबल खेल हाल आएर ब्यावसायिक बन्ने दौडमा छ।

नगर खेलकुद विकास समितिका अध्यक्ष बुढाथोकी भन्छन्– उर्लाबारीमा भलिबलको  महिला, पुरुष टिम तयार भएको छ। दुबै टिमले अब्बल खेल खेलिरहेका छन्। उनले उर्लाबारीले धेरै वटा उपाधि समेत जितिसकेको बताए।

फुटबल र भलिबलमा जस्तो अन्य खेलमा खासै युवाहरूको ध्यान गएको देखिन्न। नगरमा क्रिकेट, टेवल टेनिस, बाँस्केटबल सम्बन्धी न कुनै गतिविधि भएका छन्। न कुनै समिति नै गठन भएको छ। नगरमा बेला बेला बुद्धिचाल प्रतियोगिता हुने गरेको छ।

ब्याडमिन्टर क्लब गठन भएको छ। कराँते, बक्सिङ लगायतका खेल गतिबिधिलाई मानबहादुर थोप्राले निरन्तरता दिँदै आएका छन्। हरेक विद्यालयमा खेलाडी उत्पादन गर्ने थोप्राको अभियान सञ्चालन भएको एक दशक बित्नै लाग्दा पनि उनको गतिविधिसँग नगरपालिका जोडिएको छैन।

ठूला प्रतियोगिता भएका छैनन्
उर्लाबारीमा जति खेलाडी छन्। ती सबै ब्यावसायिक खेल खेल्छन्। अधिकांश समय गृह नगर भन्दा बाहिर हुने खेलाडीहरू एउटा एउटा क्लबमा अनुबन्धित छन्। विगतमा बाक्लै हुने फुटबल गतिविधि केही वर्षयता हुन सकेको छैन्।

स्थानीय तह गठन भएपछि नगरमा मेयर कप हुन थाल्यो। दुई वटा संस्करण भएपछि रोकिएको मेयर गत वर्ष कोभिड १९ का कारण हुन सकेन।  मदन भण्डारी स्मृति प्रतिष्ठानले आयोजना गर्ने मदन भण्डारी स्मृति गोल्ड कप चार वटा संस्करण भएपछि पुनः ब्युतिन सकेको छैन।

मदन भण्डारी कै नाममा इटहरी र बुटबलमा ठूलो पुरस्कार राशी राखेर प्रतियोगिता आयोजना हुन थालेपछि उर्लाबारीमा भइरहेको प्रतियोगिता आझेलमा परेको फुलबल क्षेत्रका जानकारहरू बताउँछन्।

झण्डै एक दशक अघि उर्लाबारीमा निक्कै तामझामका साथ उपेन्द्र थापा स्मृति गोल्डकपको आयोजना भयो। तर, त्यो प्रतियोगिताले पनि निरन्तरता पाउन सकेन। एकपछि अर्को नाममा हुने प्रतियोगिताले निरन्तरता नपाउनुको मुख्य कारण आर्थिक अभाव नै हो भन्छन्– अध्यक्ष बुढाथोकी।

मछिन्द्र लिङ्थेप स्मृति फुटबल प्रतियोगिताले पनि उर्लाबारीको खेल क्षेत्रलाई जागा बनाइ राखेको थियो। तर त्यो प्रतियोगिता पनि आर्थिक ब्यवस्थापनकै अभावमा हुन छोडेको छ।

नगरमा बुद्धिचाल खेलाडीहरू चेरी चेस क्लब  गठन गरेका छन्। क्लबले बेला बेला राष्ट्रिय स्तरको प्रतियोगिता समेत आयोजना गर्ने गर्छ। नगरमा रेटिङ होल्डर (राष्ट्रिय मान्यता प्राप्त खेलाडी) १० जना छन्। तर उनीहरू पनि सुस्ताएको देखिन्छ।

रेटिङ होल्डर खेलाडी एवं क्लबका सदस्य राजन राईका अनुसार धु्रव खड्का,प्रेम सुब्बा, सुरेन्द्र सुबेदी, खुस्वु मुखिया, आश्मा थापा र राजन राई उर्लाबारीका आश लाग्दा खेलाडी हुन्।

नगरले निर्माण गर्न लागेको कवर्ड हलले ब्याडमिन्टन खेलमा केही उत्साह भरेको छ। हंसराज फागोको अध्यक्षतामा क्लब गठन भएको छ। यद्यपि ब्याडमिन्टन खेल गतिविधि खासै हुन सकेको छैन्। फुटबल क्षेत्रमा उर्लाबारी फुटबल क्लव, उर्लाबारी–राजघाट भेट्रान फुटबल क्लव, योसेक क्लव, मङ्गलबारे युवा क्लव र मोरङ फुटबल एकेडेमीले फुटबल प्रतियोगितामा भाग लिने र बेला बेला साना तिना गतिविधि आयोजना गर्ने गरेका छन्।

खेल भन्ने बित्तिकै फुटबल नै हो भन्ने बुझाई आम मानिसमा रहेको छ। त्यसैले नगरको बजेट र गतिबिधि पनि फुटबल केन्द्रीत नै भएको मोरङ फुटबल एकेडेमीका प्रशिक्षक सञ्जिब बुढाथोकी बताउछन्। उनले भने– कोभिडका कारण उर्लाबारीमा खेल गतिविधि शुन्य प्राय छ। यद्यपि बाहिर निमन्त्रणा भएका खेलमा सहभागिता जनाइरहेका छौं।

निष्कर्ष 
उर्लाबारी नगरपालिकामा भएका युवा र खेल गतिविधिलाई हेर्ने हो भने चित्त बुझाउने ठाउँ छैन्। बजेटको सिमितता प्रमुख कारण हुनसक्छ। तर, युवाका कार्यक्रम सञ्चालनका लागि अन्य स्रोतहरूको खोजी पनि भएको देखिँदैन।

नगर पाश्र्वचित्रले नगरमा ठूलो सङ्ख्या युवा बेरोजगार रहेको देखाएको छ। तर, तिनलाई कसरी उद्यममा सहभागि गराउने भन्ने कार्यक्रम नगर र वडासँग छैन। खेल गतिविधि पनि नगरमा हुन सकेका छैनन्।

भएका खेल मैदान लथालिङ्ग छन्। देश हाँक्ने युवाका लागि लक्षित कार्यक्रम र खेल गतिविधिलाई ब्यवस्थित ढङ्गले सुचारु नगर्ने हो भने हाम्रो युवा पुस्ता कुलतको बाटोमा जाने जोखिम बढेको देखिन्छ। खेलाडीहरू पनि पलायन हुने सम्भावना उत्तिकै छ। 

प्रकाशित मिति: : 2021-03-28 18:11:00

प्रतिकृया दिनुहोस्