लक्ष्मीपुर पतारी गाउँपालिका बेथितिः १०

गाउँपालिका प्रमुख रामबल्लभ साहको अनियमितताको अर्को पोल

वडाध्यक्षहरुले गाउँपालिकामा बढेको बेथितिबारे पटक–पटक कार्यपालिका बैठक डाक्न लिखित माग गर्दा पनि गाउँपालिका प्रमुख रामबल्लभ साहले बेवास्ता गर्दै आइरहेका छन्। 

गाउँपालिका प्रमुख साह र प्रमुख प्रशासकिय अधिकृतलाई सम्बोधन गरेर कार्यपालिका बैठकको माग गर्दै वडाध्यक्षले बारम्बार निवेदन दिँदा पनि बैठक राख्न प्रमुख साहले चासो नदिएको बिएल नेपाली सेवालाई वडाध्यक्षहरूले जानकारी दिएका छन्।

नाम उल्लेख नगर्ने सर्तमा उनीहरूले बैठक डाक्न गरेको अनुरोध सहितको निवेदन बिएल नेपाली सेवालाई उपलब्ध गराएका छन्। बिएल नेपाली सेवालाई प्राप्त निवेदनमा निवेदकको नाम देव कुमार यादव र राजेश्वर यादव उल्लेख छ ( हे. तस्वीर )। यी दुवै वडाध्यक्ष हुन्। 

निवेदनमा उनीहरुले ६ नम्बरका वडासचिव फेकु यादवको सरुवा सम्बन्धमा तथा पतारी पोखरीको ठेक्काको सम्बन्धमा तत्काल छलफल गरेर निर्णयमा पुग्न कार्यपालिका बैठकमा माग गरेको देखिन्छ।

त्यस्तै न्यायीक समिती सदस्य अमृती दासको राजिनामा र तत्कालीन जिविसबाट सरुवा भई गाउँपालिकामा कर्मचारीका रुपमा आएका कर्मचारी चन्देश्वर यादवको फाइल सम्बन्धमा छलफल गरि निर्णयमा पुग्न बैठकले माग गरेको देखिन्छ। 

चन्देश्वर यादव विवादित छविका करार कर्मचारी हुन्। गाउँपालिका प्रमुख साहले उनलाई गाउँपालिकाको योजना शाखामा राखेका छन्।

सरकारी गाडीको दुरुपयोग गरेको आरोप उनी माथी छ भने विकास निर्माणको काममा नजराना लिएर अनियमितता गर्न उत्प्रेरकको भूूमिका निर्वाह गरिरहेका छन्। दोषीसरह उत्प्रेरकलाई पनि कानुनले अपराधी मान्छ र सजायको भागिदार बन्नुपर्छ। 

मिती २०७५/५/१९ उल्लेख गरिएको निवेदनमा आर्थिक वर्ष ०७५/०७६ को गाउँसभा पश्चात लामो समयसम्म बोर्ड बैठक नबसेको तथा बैठक नबोलाएर जनचाहना विपरित जननिर्वाचित वडाध्यक्षको काम, कर्तब्य र अधिकार कुण्ठित गरिएको गुनासो समेत गरिएको छ।

निवेदनको बेहोरामा के पनि उल्लेख छ भने गाउँसभाको अधुरो नीति र कार्यक्रम तथा बजेटको बिषयमा निर्णयमा पुग्न पनि बैठकको माग गरिएको हो।

२०७५/५/१९ मा तत्कालीन प्रमुख प्रशासकिय अधिकृतले गाउँपालिकाको प्रशासन शाखालाई अध्यक्षज्यूूलाई सक्कलै निवेदन दिनुहोला भनेर तोक लगाएका छन्।

लेनदेन नमिल्दा जे पनि 

गाउँपालिका प्रमुख साह लेनदेनमा कुरा नमिल्दा लिखित रुपमै निर्माण कार्य रोक्छन्, एउटा अर्को दृष्टान्तले यही पुष्टि गर्छ। 

वडा नम्बर ५ मा कृषि सडक (हजारी थाना) निर्माणको काम रोक्न उनले लिखित रुपमै निर्देशन दिएको भेटिएको छ। प्रधानमन्त्री कार्यालयले दिएको ठाडो भाषाको प्रयोग गर्छन्, निर्माण कार्य तत्काल रोक्का गर्नहुन्न। 

एक कल टेलिफोनमा हुने कामलाई उनले यति ठूूलो पहाड बनाएर निर्देशन दिएका छन्, मानौ उनी पञ्चायती व्यवस्थाका प्रधानपञ्च हुन्। स्थानीय सरकारले पाएको स्वयतताको दुरुपयोग गरिरहेको एउटा अर्को प्रमाण यो पनि हो।

आफ्नै गाउँपालिकाको ५ नम्बर वडा कार्यालय खुरुक्याहीलाई दिएको आदेशको बोधार्थ ईलाका प्रहरी कार्यालय, महेशपुर पतारीलाई समेत दिएर उक्त निर्माण कार्यमा संलग्नहरुलाई मानसिक रुपमा डर समेत देखाएका छन् प्रमुख साहले।

याे पनि

१) मधेशी दलित उभ्याएर लाखौँ अनियमितता

२) कृत्रिम उपभोक्ता समिति खडा गरेर करोडौँ अनियमितता

३) वडाध्यक्ष हनुमान मण्डलका दाजुभाइले पनि ठड्याए पक्कि घर (भिडियाेसहित)

४) अनियमितता गर्दै, घर ठडयाउँदै, अख्तियार मौन

५) सचिवबीच आफ्नै नाममा बजेट निकासा गर्ने होडबाजी

६) राजा हरिसिहं देवले खनेको पोखरीको नाममा ब्रम्हलूट (भिडियाेसहित)

७) लक्ष्मीपुर पतारीका स्थानीय भन्छन्ः अनियमितताको समाचार लेख्न पत्रकारहरू पन्छिन्छन् (भिडियाे)

८) तराईमा बढ्दो भ्रष्टाचार: गणतान्त्रिक नेपालका नवसामन्तवाद (भिडियाेसहित)

९) गाउँपालिका प्रमुख रामबल्लभ साहको अर्को अनियमितताको पोल खुल्यो

प्रकाशित मिति: : 2020-12-14 08:45:00

प्रतिकृया दिनुहोस्