गुल्जार रारा

जुम्ला सिंजाका महेन्द्र हमाल हाेलीकाे दिन रारामा थिए। उनले त्यहीँ रामाउँदै टिकटक बनाए।

'अलिकति फुर्सद हुनेबित्तिकै नजिककाे रमाइलो गर्ने ठाउँ रारा छँदैछ,' हमालले भने, 'यसपाली हामीजस्ता धेरै मान्छेहरु रारा पुगिरहेका थिए।'

गुल्जार रारा
कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा पछिल्लो समय गुल्जार छ। काेराेनाकालमा लकडाउनले टाढिएका पर्यटक फेरि रारा खाेज्दै आउन थालेको रारा राष्ट्रिय निकुञ्जका कर्मचारी पृथ्वी नेपालीले बताए। 

रारा घुम्ने उत्तम समय मानिने चैत महिनाको सुरुवातसँगै रारामा पर्यटकको संख्या बढ्न थालेको हो। पछिल्लो आठ महिनामा ४ हजार ४ सय ९ जना आन्तरिक तथा बाह्य पर्यटकले रारा तालको अवलोकन तथा भ्रमण गरेको नेपालीले जानकारी दिए।

उनका अनुसार याे अवधिमा ७ जना विदेशी पर्यटकले समेत रारा भ्रमण गरेका छन्। 

नेपालमा कोरोना संक्रमण फैलिएको एक वर्ष पुगेको र कोरोनाकै कारण बाह्य पर्यटकको आवागमन कम भएको सूचना अधिकारीले रोकायाले जानकारी दिए ।

कोभिडपछि बाह्य पर्यटक भन्दा नेपालका विभिन्न जिल्लाबाट आउने आन्तरिक पर्यटक बढेकाे निकुञ्जका सुचना अधिकारी यज्ञराज रोकायाले बताए।

'चैत महिना सुरु भएसँगै रारामा रहेका होटलले नधान्ने गरी पर्यटकको आउन थालेका छन्,' उनले भने, 'दैनिक करिब डेढ सय बढी आन्तरिक पर्यटक रारा घुम्न आइरहेका छन्।'

माैसममा बासकाे समस्या
माैसममा पर्यटक बढ्न थालेपछि होटेलमा बासकाे समस्या हुने गरेकाे छ। रारा आसपास भएका होटल भरिभराउ हुने र अधिकांश पर्यटकहरुलाई बस्ने बासको उचित व्यवस्थापन नहुँदा समस्या भएको हो। ढिला पुग्ने, सम्पर्क गरेर नजाने पर्यटकहरु टेन्ट हालेरै भएपनि चौरमा पाल टाँगेर बस्ने गरेकाे निकुञ्जका कर्मचारी नेपालीले जानकारी दिए।

रारा पुग्ने बाटा
सुचना अधिकारी राेकायाका अनुसार पछिल्लो समय मोटरसाइकलको यात्रा, गाडी रिजर्ब गरेर विशेषगरी काठमाडाैं उपत्यका पोखरा, विराटनगरलगायत ठाउँबाट पर्यटक रारा घुम्न आउने गरेका छन्।

रारासम्म नाग्म गमगडी सडक फराकिलो बनेकाे छ भने कति ठाउँमा ग्राभेल समेत भएकाे हुनाले बाटाे अप्ठ्यारो नभएको हमालले बताए। 

त्यस्तै नियमित उडान समेत हुने भएकाले हवाई मार्गबाट आउने पर्यटकको संख्यामा पनि वृद्धि भइरहेको छ। पर्यटक बढेपछि मुगुको ताल्चा विमानस्थलमा हवाइ चाप बढेको हाे। 

नेपालगन्जबाट तारा, समिट र सीता एयरले दैनिक ५ देखि ८ वटा उडान भरिरहेको विमानस्थल कार्यालयले जनाएको छ। पर्यटक बढेपछि उडान भर्न भ्याइनभ्याइ भएको तारा एयरलाइन्सका स्टेशन इन्चार्ज लक्ष्मी शाहीले बताए।

राजस्व संकलनमा वृद्ध 
पर्यटक बढेसँगै राराकाे आम्दानी पनि बढेकाे छ। आठ महिनाकै अवधिमा रारा राष्ट्रिय निकुञ्जले विभिन्न शिर्षकमा १० लाख १३ हजार ७ सय ८० रुपैयाँ राजस्व संकलन गरेको छ। 

तथापि बाह्यको पर्यटकको आगमन घटेपछि विगतका वर्षमा भन्दा कम राजस्व संकलन भइरहेको छ भने र घोडा व्यवसायी तथा डुंगा चालकको पनि आम्दानी बढेको छ।

घोडामार्फत पर्यटकलाई मुर्मा, झ्यारी, पिना, सिगाडी, माथि तुमलगायत गाउँमा स्थानीयले मनग्य कमाई गरिरहेका छन्।

प्रकाशित मिति: : 2021-04-02 18:06:00

प्रतिकृया दिनुहोस्