कविता

'गर्व गरोस्'

रोशन परियार

काठमाडौँ

रुनु त यसरी रुनु
जस्तो कि आँशुले पनि गर्व गरोस्
र भनोस् , आभार छ "आँखा"
कैद मुक्त गरि दियौ

हाँस्नु त यसरी हाँस्नु
जस्तो कि खित्काले पनि गर्व गरोस्
र भनोस् , धन्यवाद छ "ओठ"
पिंजडाको ढोका खोली दियौ

बस्नु त यसरी बस्नु 
जस्तो कि मुटुले पनि गर्व गरोस् 
र भनोस् , नमन छ "मन"
प्रेमलाई पूजा गरि दियौ

हिंड्नु त यसरी हिंड्नु
जस्तो कि यात्राले पनि गर्व गरोस् 
र भनोस् , बधाई छ "बाटो"
सपनाहरु आजाद गरि दियौ

सुत्नु त यसरी सुत्नु
जस्तो कि निन्द्राले पनि गर्व गरोस् 
र भनोस् , स्याबास छ "सास"
मृत्युको आभाष गराई दियौ

काम गर्नु त यसरी गर्नु
जस्तो कि कामले पनि गर्व गरोस् 
र भनोस् , नमस्कार छ "नाम"
आफ्नो लायक सम्झि दियौ

हात समाउनु त यसरी समाउनु
जस्तो कि साथले पनि गर्व गरोस् 
र भनोस् , सलाम छ "साथी"
एक्लै पनि काफी थियौ
दुनियाँलाई पछि पारी छाड्यौ

भर पर्नु त उसैको पर्नु
विश्वास गर्नु त उसैको गर्नु
जस्तो कि युगले पनि गर्व गरोस् 
र भनोस् , एउटा असल "मान्छे"
जसले असल बन्नका लागि 
सोंच बदल्यो , सिद्धान्त हैन
जसरी
पिपल ले पात बदल्छ , जरा हैन
घामले दिशा बदल्छ , आकाश हैन ।।

प्रकाशित मिति: : 2021-03-06 08:51:00

प्रतिकृया दिनुहोस्