ईश्वर

भगवान, अल्लाह, गड, जिसस!
भए पनि नाम अनेकन्
ईश्वर एउटै छन् 
जसको इच्छा बिना
एउटा पात पनि हल्लिन्न,

जे छ ईश्वरको 
जति छ ईश्वरको
खुशी, सुख, हाँसो

सर्वशक्तिमान, करुणानिधान
दयावान, उद्दिपन
शक्तिसम्पन्न, सर्वव्यापी
यशशाली, शक्तिशाली
मान्य, पुज्य
अझै कति कति 
कम हुन्छ तारिफ गरेपनि जति
तपाईं भन्नुहुन्छ!

म भन्छु!
लाचार, कायर, डरपोक
दलाल, स्वार्थी, खराब
दैन्य, बेकम्मा, दुर्जन
अझै कति कति
कम हुन्छ गाली गरेपनि जति
जो माग्दछ बलि निर्दोष पशुको
हेर्दछ रमिता विवश बाबुको
आनन्द लिन्छ त्यो चिच्याहटको
जो लुटिदैँछिन् उसकै भक्तबाट
लाखौं भोकाएका अनाथ
भोकै सडकमा मर्दाको मज्जा लिन्छ

आफू मुर्तिमा भएको 
दावा पेश गराउँछ 
मुर्खहरुको माध्यमबाट 
कयौं भोका नाङ्गा 
बाहिर राखेर 
आफू मन्दिर नामक पसलमा
फलफुल, दुध, पैसाको माग गर्छ

आउँदैन कोही दुखीको सामु
दिदैँन कोहि अन्यायमा परेकालाई न्याय
गर्दैन कसैलाई दया
देख्दैन कसैलाई समान 
अनि उसैलाई चाहिन्छ सम्मान
फरक पार्दैन गरीबको आसुँले
फरक पार्दैन निर्दोषको लासले 
उ अहिले ब्यस्त छ
परीहरुको जवानीमा 
लिप्त भएर लुकेको
एउटा काल्पनिक स्वर्गमा,
छ्या तिम्रो ईश्वर
कति निर्दयी
म सधैं घृणा गर्छु 
तिम्रो कल्पनाको ईश्वरलाई।

प्रकाशित मिति: : 2021-05-15 12:51:00

प्रतिकृया दिनुहोस्