सीमा शिल गरिएको अवस्थामा चोरीको जेसिबी कसरी पुग्यो भारत ?

विजय साह

जनकपुर

धनुषामा मोटरसाइकल चोरीको घटना सामान्य भइसक्यो। यहाँ मोटरसाइकल चोरी हुँदा अनौठो र नौलो मानिदैन। दिनहुँ जसो जिल्लाको कुनै न कुनै ठाउँबाट मोटरसाइकल चोरीको घटना प्रकाशमा आइरहन्छ। त्यसैले पनि मानिसले यसलाई सामान्य घटनाको रुपमा लिन बाध्य भएका छन्।

प्रहरीले चोरी भएका मोटरसाइकल खोजी गर्न खासै चासो नदिँदा तथा भारतसँगको खुला सीमा नजिक भएका कारण यहाँ मोटरसाइकल चोरीको घटना बढेको छ।

नेपाल–भारत आवतजावत गर्दा चेकपोष्टमा बसेका सुरक्षाकर्मीले मोटरसाइकलहरुको तथ्याङ्ग नराख्ने र कागजपत्र बारे सोधी खोजी नगर्नाले मोटरसाइकल चोरले प्रश्रय पाएको बुझिन्छ।

यहाँ कार चोरीको घटनाले पनि बेला–बेला चर्चा पाउने गर्दछ। यस्तै भएको थियो, धनुषाको बटेश्वर गाउँपालिका २ कोइरियानी टोलमा। रामचन्द्र महतोले आफ्नै घर अगाडि पार्किङ्ग गरिराखेको अवस्थामा बा ४ च ३९७५ नम्बरको सेन्ट्रो कार गएको चैत दोस्रो साता चोरी भएको थियो। तर प्रहरीले तदारुकता देखाएपछि चोरी भएको भोलिपल्टै सर्लाहीको लालबन्दीबाट तीनजना चोरसहित कार बरामद गर्न सफल भएको थियो।

तर यतिखेर धनुषामा भने जेसिबी चोरीको घटनाले प्रहरीको सुरक्षा व्यवस्थालाई नै गिज्याएको छ। ढल्केवरस्थित आयुष निर्माण सेवाको आफ्नै कार्यालय अगाडि पार्किङ्ग गरिराखेको अवस्थामा बैशाख २५ गते अनटेस्ट जेसिबी चोरी भयो।

चोरी भएको जेसिबी ढल्केवरबाट झण्डै ६० किलो मीटर नेपालको भूमि हुँदै जिल्लाकै दक्षिण पूर्वमा पर्ने पटेर्वा सीमा सुरक्षा पोष्ट नजिकैबाट जेसिबी भारत लगियो।

चोरले चोरी गरि लगेको जेसिबी सीमा पार गराउँदा समेत सुइँको नपाउनु प्रहरीको सुरक्षा व्यवस्था कति फितलो छ भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ। त्यो पनि निषेधाज्ञासँगै सीमा नाका शिल गरिएको अवस्थामा।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा नियन्त्रणका लागि धनुषा जिल्लामा बैशाख २१ गतेदेखि लम्बाएर जेष्ठ १० गतेसम्मका लागि निषेधाज्ञासँगै जिल्लाका सबै सीमा शील गरिएको छ।

सीमा सुरक्षाको जिम्मेवारी शसस्त्र प्रहरी बलले पाएको छ। सीमा क्षेत्रमा शसस्त्र प्रहरी बलका जवान प्रत्येक सय मिटरको दुरीमा रहेर डियुटीमा खटिएका हुन्छन्। मानिसलाई समेत आउजाउ गर्न रोक लगाइएको अवस्थामा जेसिबी जस्तो यति ठुलो उपकरण भारततर्फ कसरी गयो? प्रश्न खडा भएको छ।

चोरी भएको अनटेस्ट जेसिबी भारत बिहार राज्यको मधुबनी जिल्लामा रहेको सञ्चालक महेन्द्र महतोले दाबी गरेका छन्। उनले बैशाख ५ गते जनकपुरधामस्थित एक शोरुमबाट ४७ लाखमा खरिद गरी ल्याइएको जेसिबी चोरी भएको बताए।

'जेसिबी चोरी भएका थाहा पाए लगतै इलाका प्रहरी कार्यालय ढल्केवरलाई जानकारी गराएको र आफु पनि साथीको सहयोगमा खोज्दै जाँदा जेसिबी भारत प्रवेश गरिसकेको थाहा पाएँ', सञ्चालक महतोले भने। २५ गते राति १ बजेर २० मिनेटमा चोरी भएको जेसिबी बिहानको ५ बजेतिर सीमा पार गर्दै भारततर्फ गएको उनले जनाए।

जेसिबी टायरको चिन्ह्र र ट्राफिक प्रहरी कार्यालय ढल्केवरमा जडान गरिएको सिसिटिभिमा हेर्दा जनकपुरतर्फ लगिएको देखिएपछि पन्छ्याउँदै जाँदा जनकपुर, औरही, तीन कोरिया, लगमा हुँदै पटेर्वास्थित कमला नदी पार गरेर पारी लगिएको सञ्चालक महतोको भनाई छ।

सञ्चालक महतो भन्छन्, 'खोजतलास गर्न भारत पनि गएँ, भारतको कमलाबारीस्थित एक पेट्रोल पम्पमा जडान गरिएको सिसिटिभिमा नियाल्दा जेसिबी दक्षिणी भू–भाग झन्झापुरतिर लगिएको एकिन भएपनि फेला पार्न सकिएन।'

ढल्केवरबाट जेसिबी चोरी भएको यो भने पहिलो घटना होइन। यस अघि यही बैशाख ५ गते ना १ क ५९२४ नम्बरको जेसिबी ढल्केवरस्थित प्रहरी कार्यालय अगाडि पार्किङ्ग गरिराखेको अवस्थामा चोरी भएको थियो।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदिप सुवेदीले चोरी भएको जेसिबी भारत प्रवेश भएको यकिन भइसकेको बताउँदै जिल्ला प्रहरी कार्यालय धनुषामार्फत भारतीय प्रहरीसँग समन्यवयमा खोजतलास जारी रहेको बताए।

प्रकाशित मिति: : 2021-05-17 16:25:00

प्रतिकृया दिनुहोस्

    जेसिबि हेा सुन त हइन नि काेइ न काेइ त मिलाे मताे मा हाे चाेरि गरने हरु

    • 2 बर्ष अगाडि
    • शशि कुमार महताे