छोराछोरीले पठाएको रकमले अस्पताललाई अक्सिजन

फाइल तस्वीर
फाइल तस्वीर

वागमती प्रदेश सभा सदस्य गीता वाग्लेले आफ्ना छोरी र छोराले आमा खुवाउने औसीमा अष्ट्रेलियाबाट पठाएको रकमले यहाँको एक अस्पताललाई अक्सिजन सिलिण्डर दिएकी छन्।

वाग्लेले ईच्छाकामना गाउँपालिकाको मुग्लिनमा रहेको मुग्लिन हाईवे हस्पिटललाई पाँच थान सिलिण्डर र एउटा ट्रली उपलब्ध गराएकी हुन्।

वाग्लेले हस्पिटलका अध्यक्ष रामबहादुर लामासँगै मणिरत्न शाक्य, मुक्ति श्रेष्ठ र विनोद श्रेष्ठलाई ती सामग्री आज हस्तान्तरण गरिन्। उनका अनुसार अष्ट्रेलियाको सिड्नीमा रहेकी छोरी रञ्जु वाग्ले थापाले औँसीमा पठाएको एक हजार अष्ट्रेलियन डलर र छोरा सुगन्ध वाग्लेले पठाएको रु.१० हजारले ती सामग्री खरिद गरेर सहयोग गरेको बताइन्।

सामाजिक क्षेत्रमा क्रियाशील वाग्लेले यस अघि पनि विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएकी छन्। उनले भनिन्, 'पहाडी क्षेत्रमा कोरोना सङ्क्रमितहरुलाई केही हदसम्म राहत होस् भनेर सहयोग गरेकी हुँ।'

संस्थाका अध्यक्ष लामाले अस्पतालले हाल १० शय्याको निःशुल्क आइसोलेसन सञ्चालन गरेको बताए। समुदायस्तरबाट सञ्चालन भएको सो अस्पताललाई विभिन्न संघ संस्थाले सहयोग गर्दै आएका छन्।

लामाका अनुसार दुई जना चिकित्सक सहितको अक्सिजन सिलिण्डर राखेर आईसोलेसन चलाइएको छ। आइसोलेसनमा शय्या ५० पु-याउने लक्ष्यसाथ काम अघि बढाएको उनले जानकारी दिए।

सो अस्पतालले जिल्लाकै विकट मानिएको ईच्छाकामना गाउँपालिकासँगै तनहुँ, गोरखा र धादिङका बिरामीलाई समेत सेवा दिन सक्ने छ। इच्छाकामना चेपाङ समुदायको बाहुल्यता रहेको पालिका हो।रासस

प्रकाशित मिति: : 2021-05-24 20:23:00

प्रतिकृया दिनुहोस्