कोरोना महामारीमा पनि आक्रमक राजश्व अनुसन्धानका महानिर्देशक आचार्य

File Photo
File Photo

कोरोना महामारीकाे सयममा पनि राजश्व अनुसन्धान विभागका महानिर्देशक रामप्रसाद आचार्यले आफ्नाे काम कारबाहीलाई तिब्रता दिएका छन्।

विभागका महानिर्देशक रामप्रसाद आचार्यका अनुसार झुट्टा तथा नक्कली मूअकर विजक प्रयोग गरी राजस्व छलि गरेको भन्दै सुनसरी, धरान उप–महानगरपलिका १२ बस्ने ग्लोवल इम्पेक्स ईन्टरनेशनल स्थायी लेखा नं. ३०००१७०६१ का 'प्रोप्राईटर' किसन कुमार अग्रवालबाट ४ करोड ८२ लाख ७ हजार ६ सय ७४ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदाबीसहित जेठ २३ गते उच्च अदालत पाटनमा विभागले मुद्दा दर्ता गरेकाे छ।

ग्लोवल इम्पेक्स ईन्टरनेशनल 'प्रोप्राईटर' अग्रवालले मालसामान खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्महरूलाई विक्री बीजक जारी गरी उक्त फर्महरूबाट विक्री रकम भुक्तानी लिई सोही बीजक मार्फत असुल गरेको मूल्य अभिवृद्धि कर सरकारी कोषमा दाखिला नगरेको र विभिन्न फर्महरूलाई नक्कली एवं झुट्टा बीजक उपलब्ध गराई मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको विभागको ठहर छ।

त्यस्तै, झुट्टा तथा नक्कली मूअकर विजक प्रयोग गरी राजस्व छलि गर्ने सुनसरीकाे धरान उप–महानगरपलिका १२ बस्ने एस.एन इन्टरनेशनल स्थायी लेखा नं. ३०००१७०६१ का प्रोप्राईटर अग्रिम खेतान अग्रवालबाट ४ करोड ५२ लाख ४२ हजार ७ सय ५३ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदाबीसहित गत जेठ २३ गते नै उच्च अदालत पाटनमा विभागले मुद्दा दर्ता गरेको थियाे।

एसएन इन्टरनेशनलका प्रोप्राईटर अग्रिम खेतान अग्रवालले मालबस्तु खरिद तथा आयात नगरी झुट्टा खरिद देखाई विभिन्न फर्महरूलाई विक्री बीजक जारी गरी उक्त फर्महरूबाट विक्री रकम भुक्तानी लिई सो बीजक मार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको र विभिन्न फर्महरूलाई नक्कली एवं झुट्टा बीजक उपलब्ध गराई मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको विभागको दाबी छ। 

उता रुपन्देही सिद्धार्थनगर नगरपालिका ६ बस्ने श्याम कुमार बानियाँ समेत २ जनाले राजस्व चुहावट गरेको अभियोगमा ५ करोड ५० लाख ८४ हजार ८२ रुपैयाँ विगो जफत एवं असुल गरी जरिवाना र कैद सजाय मागदाबीसहित विभागले जेठ २१ गते उच्च अदालत तुलसिपुरमा मुद्दा दायर गरेको छ।

विभागका महानिर्देशक आचार्यले प्राप्त सबै सवुत् प्रमाणबाट बानियाँ तथा भारतका मनमोहन जयसवालले नेपालको सिमानामा बसेर विदेशी मुलुकबाट नेपालमा पैठारी हुने माल सामानहरू भन्सार बिन्दुमा भन्सार जाँचपास नगराई राजस्व चुहावट मनसायले विभिन्न व्यक्ति तथा फर्महरुलाई मालवस्तु चोरी पैठारी गर्ने र अवैध बाटोबाट पैठारी गरिएका मालसामानकाे मूल्य निजहरुले प्राप्त गर्ने र उक्त रकम विदेशमा 'हुण्डी' मार्फत पठाउने वा विदेशबाट नेपालमा रकम पठाउने विदेशमा रहेको व्यक्तिलाई नै भुक्तानी गर्ने र विदेशमा नै नेपालमा चोरी पैठारी भएका मालवस्तु पठाउने विदेशमा रहेको व्यक्तिलाई नै भुक्तानी गर्ने र विदेशमा रोजगारी गर्ने वा कुनै पेशा व्यवसाय गरेको नेपालीले नेपालमा पैसा पठाउनु पर्ने व्यक्तिलाई निज प्रतिवादीले उनिहरुकै बैक खातामा वा नगदै रकम भुक्तानी गर्ने गरेको पुष्टि हुन आएको जानकारी दिए।

यता पर्साकाे वीरगञ्ज महानगरपालिका– १९ बस्ने भुसा सप्लायर्स् स्थायी लेखा नम्बर ६१०७८९२६७ का सञ्चालक दिपेन्द्रप्रसाद कलवार समेत ४ जनाले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा १ करोड २२ लाख ५० हजार ९ सय ८ रुपैयाँ विगो जफत एवं असुल गरी जरिवाना र कैद सजाय मागदाबी गरी गत बैशाख २८ गते उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजमा विभागले मुद्दा दायर गरेको महानिर्देशक आचार्यले जानकारी दिए।

भुसा सप्लायर्सका सञ्चालक दिपेन्द्रप्रसाद कलवार समेत ४ जनाको मिलेमतोमा अवैध रुपमा ट्रकमा धानभित्र लुकाएकाे अवस्थामा कपडाहरु बरामद हुनु, बरामद भएको कपडाहरुको विल विजक, भन्सार प्रज्ञापनपत्र तथा महसुल तिरेको निस्सा प्रमाण नभेटिनु समेतका आधार प्रमाणहरुबाट प्रतिवादीहरु ट्रक चालक सुनिल कुमार यादव, तिरुपति खाद्य तथा भुसा सप्लायर्सका कलवार, भन्सार एजेन्ट नम्बर १२५ का प्रो.राममणी खनाल तथा निजका वीरगञ्ज भन्सार प्रतिनिधि अशोक कुमार श्रेष्ठ समेतले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको दाबी विभागको छ। 

भारतीय उपर पनि मुद्दा

बिल बीजक जारी नगरी आयकर छली गर्ने भारत स्थायी वतन भई हाल काठमाण्डौ १४ कुलेश्वर बस्ने, सत्यनारायण प्रसादबाट १९ लाख ७५ हजार ६ सय रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदाबी लिई जेठ २१ गते उच्च अदालत पाटनमा विभागले मुद्दा दर्ता गरेको जानकारी महानिर्देशक आचार्यले दिएका छन्।

प्राप्त सबै सवुत् प्रमाणबाट सत्यनारायण प्रसादले  कानूनी व्यवस्था बमोजिम फर्म दर्ता गरी कारोवार गर्नु पर्नेमा निज प्रतिवादीले दर्ता नगरी व्यवसायकाे कारोबार गरी बिल बिजक जारी नगरी बिक्री वितरण गरी आयकर राजस्व चुहावटको कसूर गरेको  ठहर विभागको छ।

त्यस्तै, रौतहत वृन्दावन नगरपालिका ६ बस्ने अमन कुमार तिवारीले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ४० लाख रुपैयाँ विगो जफत एवं असुल गरी जरिवाना र कैद सजाय मागदाबीसहित विभागले बैशाख २८ गते उच्च अदालत जनकपुर अस्थायी इजालास वीरगंजमा मुद्दा दायर गरेको छ।

कानूनी आधार, मिसिल संलग्न कागजात, तथा अन्य आधार प्रमाणहरुबाट वृन्दावन नगरपालिका–६ बस्ने प्रतिवादी अमन कुमार तिवारीले  बिआर २२ पिए ०८४६ नम्बरको भारतीय स्कारिपियो गाडी भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको दाबी विभागको छ।

विभागका महानिर्देशक आचार्यले बिएल नेपाली सेवासँग भने,'कोरोनाले विभागको काम कारबाही प्रभावित हुने त भई नै गयो तर कोरोनाकाल भनेर विभाग हात बाँधेर बस्दैन। आफ्नो कामकार्वाही अघि बढाईरहन्छ।'

प्रकाशित मिति: : 2021-06-15 09:07:00

प्रतिकृया दिनुहोस्