वडाध्यक्ष र उनकाे छाेराद्वारा खुलेआम जातीय दुर्व्यवहार, प्रहरीले जाहेरी लिन मानेन (भिडियाेसहित) 

सिंजा गाउँपालिका- ६ मा नेमकिपाबाट निर्वाचित वडा अध्यक्षले जातीय विभेद गरेका छन्।

उनले गएकाे वर्ष असोजमा जुम्ला बजारमा रहेकाे रेडियो खुला आकाशकाे 'वडाका कुरा' कार्यक्रममा आफूले वडामा धेरै विकास गरेकाे, वडाअन्तर्गतकाे काँडागाउँमा 'एक घर, एक धाराे'काे व्यवस्था गरेकाे लगायत कुरा बाेलेकाे थिए।

उनकाे उक्त अन्तर्वार्ता सुनेका काँडागाउँ निवासी २६ वर्षीय विवेन्द्र नेपालीले सिंगाे गाउँभरिमा एउटा मात्र खानेपानीकाे धाराे भएकाे र वडा अध्यक्षले झुटाे बाेलेकाे भनी विरोध गरे। विस्तारै आफूले गाउँभरी र वडाका युवा तथा गाउँलेसँग पनि याे कुरा गरेकाे उनले बताए।

'वडा अध्यक्षले रेडियोमा झुटाे बेल्नु भयाे। गर्दै नगरेकाे काम पनि गरे भनेर झुटाे प्रचार गर्नुभयाे,' उनले भने, 'याे कुरा मैले गाउँभरी सुनाए। वडाभित्रका अरु गाउँका मान्छेलाई पनि सुनाएर विराेध जनाए।'

उनले अन्तर्वार्ता लिने रेडियो खुला आकाशमा समेत वडा अध्यक्षले आफ्नाे चर्चाकाे लागि गलत प्रचार गरेकाे भनी विराेध जनाए।

विवेन्द्रले गरेकाे विराेध विस्तारै वडा अध्यक्षकाे कानसम्म पुग्याे। उनले आफ्नाे विराेध किन गरेकाे भनी थर्काए। उनीहरु बीच फाेनमा 'प्रश्न-उत्त'र चल्याे र फाेनमै वडा अध्यक्ष बुढाले, 'तँ कुकुर, तेराे बाबुले दिएकाे छ' लगायत तथानाम गाली गरेकाे कल रेकर्ड विवेन्द्रले प्रमाणकाे रुपमा राखेका छन्।

वडा अध्यक्षले गरेकाे गाली-बेइजती सहन नसकिने भनी विवेन्द्रले 'निकायमा जान्छु' भने। वडा अध्यक्ष बुढाले उनलाई निकायमा जानुकाे सट्टा आफ्नाे कार्यालयमा छलफलकाे लागि गाउँका भलाद्मी, शिक्षक, बुद्धिजीवी र विवेन्द्रलाई बोलाए। सबै वडा कार्यालयमा छलफलकाे लागि पुगे।

छलफल चलिरहेकोबेला वडा अध्यक्षका छाेरा नविन बुढा एक्कासी कार्यालयभित्र छिरेर विवेन्द्रलाई 'तँ सार्की, हलुँडा बेची खाने डुम। तँ डुमले के गर्न सक्छस्? डुमलाई 'डुम' नभनी के भन्ने?' लगायतका तथानाम गाली गर्दै धकल-मकल गरि हान्ने, पछार्ने काम गरे र त्यसैमा उनका बाबु वडा अध्यक्षले साथ दिदै गाली गरे। याे सबै कुराकाे रेकर्ड गरेका विवेन्द्रले यसलाई अर्काे प्रमाणकाे रुपमा राखेका छन्।


वडाध्यक्ष र उनकाे छाेरा

यी सबै प्रमाणहरुसहित जाहेरी लिएर प्रहरी कार्यालयमा पुग्दा प्रहरीले जाहेरी लिन मानेन। उनले प्रहरी कार्यालयमा दर्ताको लागि पेश गरेकाे जाहेरीमा घटनाको विवरण यस्ताे छ-

'मैले सिंजा गा.पा वडा नं ६ का वडा अध्यक्षले विभिन्न सञ्चारमाध्यममा यातायात र खानेपानीलगायतका विकास निर्माणका सम्बन्धमा दिनुभएको अन्तरवार्ताको विषयमा झूटो अन्तरवार्ता दिनुभएको भनि टिप्पणी गरेको थिए।

मेरो टिप्पणीको विषयलाई लिएर वडा अध्यक्षले मिति २०७८ असार ६ गते अन्दाजी दिउँसो ४:३० बजेको समयमा मलाई फोन गरी 'तँ साले कुकुर, तेरो बाउले हालेको हो योजना? भनी मेरो विषयमा टिप्पणी गर्ने तँ को होस्' भनेर तथानाम धम्की दिई म माथि विभेदपूर्ण व्यवहार गर्नु भएको हो। सोही विषयमा छलफल गर्न आउनु भनी वडा अध्यक्षले मिति २०७८ असार ८ गते दिउसो ४ः०० बजेको समय मलाई आफ्नो कार्यकक्षमा बोलाउनु भएको थियो।

छलफल चलिरहेको समयमा मलाई वडा अध्यक्षले थर्काउदै होच्याईरहेको समयमा अभियुक्त नविन बुढा (वडा अध्यक्षकाे छोरा) छलफल चलिरहेको विषयमा सरोकारसमेत नरहेको व्यक्ति निज अभियुक्तले एक्कासी आई 'तँ सार्की हलुँडा बेची खाने डुम। तँ को होस्? जहाँ जान्छस् जा। जे गर्छस् गर। तँलाई डुम नभनी के राजा भनु?' भनी एक्कासी म बसिरहेको ठाउँमा आएर आफ्नो हातले दुई चोट मेरो गालामा हानी गर्धन निमोठी गर्धनमा समेत दुई चोट हानेका हुन्।

निज अभियुक्तले सार्वजनिक स्थानमा डुम भनी धकल-मकल गरी मुखमा हिर्काएर मलाई होच्याएर सहन नसक्ने असहिष्णु व्यवहार तथा अपमान गरेर जातीय विभेद गरेका हुन्। त्यसपछि त्यहाँ रहेका भद्र-भलाद्मीले छुटयाई आ-आफ्नो घरतर्फ पठाएका हुन्।

मिति २०७८ साल असार ९ गते सिंजा गाउँपालिकाको न्यायिक समितिमा निवेदन दिई १० गते छलफलमा जाँदा निज अन्यायी नआई निजका बाबु वडा अध्यक्ष छलफलमा बसी सार्वजनिक अहोदामा बसेको व्यक्तिले मेरातर्फ र तर्कलाई विचार नगरी अभियुक्तलाई छलफलमा बसाल्न आवश्यक छैन भनी हिँड्नु भएको हो।

निज अभियुक्त र वडा अध्यक्ष समेतले जातीय विभेदलाई प्रोत्साहन दिने गरी जातीय आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने तथा जातीय उच्चता वा घृणामा आधारित भनाइलाई प्रोत्साहन दिने कार्य गर्नु भएको छ। निज अभियुक्त र वडा अध्यक्ष स्वयमले 'जे गर्छस् गर, के गर्न सक्छस्' भनेको हुँदा न्यायको लागि कानूनी उपचार पाउँ भनि यो जाहेरीसाथ उपस्थित भएको छु।

निज अभियुक्तले मेरो अधिकार र मानवीय मर्यादामाथि आँच आउने कार्य गरी जातियताको आधारमा अवहेलना गरी मानवता विरोधी तथा भेदभावजन्य निषेधित कार्य गरेका छन्।

आफ्नो सरोकारको विषय नरहेको छलफलमा आएर मेरो मान-प्रतिष्ठामा आँच आउने तुच्छ र अपहेलित भेदभावजन्य शब्दहरु प्रयोग गर्दै जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ को दफा ४ उपदफा (१) र (२) को (ख) बमोजिमको कसुर गरेकाले ऐनको दफा ७ (क) बमोजिम हदैसम्मको सजाय र जरीवाना गरी पाँउ।

अभियुक्त पढेलेखेका जान्ने-बुझ्ने र सार्वजनिक अहोदामा बसेका व्यक्तिका छोरासमेत भएकाले निजका कारण मलाई परेको शारीरिक र मानसिक तनावका साथै आर्थिक हानी समेतलाई आंकलन गरी अभियुक्तका कारण व्यहोर्न पर्ने र व्यहोर्न परेको संघर्ष, अपमान, अवहेलना र असहिष्णु व्यवहार समेतलाई ध्यानमा राखी ऐ. ऐनको दफा ९ बमोजिम क्षतिपूर्तिसमेत भराई पाँउ।प्रस्तुत जाहेरी दरखास्त ऐ. ऐन को दफा १० अन्तर्गत हदम्याद भित्र ल्याएको छु।

जातीय विभेदकाे घटना अक्षम्य अपराध भएकाे अधिवक्ता अनिता तिमिल्सिना बताउँछिन्। उनले भनिन्, 'ऐनकाे दफा ४ अनुसार कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात-जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा  जातीय तथा अन्य सामाजिक छवाछुत र भेदभाव गरि  सार्वजनिक वा निजी स्थानमा प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन, निषेध गर्ने वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतिबन्ध लगाउने, व्यक्तिगत वा सामूहिक रुपमा सार्वजनिक स्थान वा समारोहबाट निष्काशन, सामाजिक बहिष्कार वा कुनै प्रकारको भेदभाव गर्ने वा त्यस्तो कार्यमा प्रतिबन्ध लगाउने वा अन्य कुनै किसिमको असहिष्णु व्यवहार प्रदर्शन गर्ने गरेमा छुवाछूत गरेकाे ठहर्छ।'

यस्ताे कार्य गरेकाे ठहरेमा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ काे दफा ४ काे उपदफा १ र २ अनुरुप कसूर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ भने पीडितले दफा ९ काे उपदफा १ बमाेजिम अदालतले कसूरदारबाट पीडितलाई दुई लाख रुपैयाँसम्म क्षतिपूर्ति भराइदिनु पर्ने हुन्छ।

त्यतिमात्र नभइ साेही ऐनकाे दफा ५ मा दफा ४ बमोजिमको कसूर कसैले गरेको वा गर्न लागेको थाहा पाउने व्यक्तिले समेत नजिकको प्रहरी कार्यालयमा तोकिएबमोजिम उजुर गर्न सक्ने प्रावधान छ। तथापि, न्यायकाे ढाेकासम्म आफै पुगेका विवेन्द्रलाई प्रहरीले छेकेकाे छ।


पीडित विवेन्द्र नेपाली

प्रहरी सहायक निरिक्षक विवेश कुमार चाैधरीले भने, 'घटनाकाे सत्य तथ्य नबुझी जाहेरी दर्ता हुँदैन। हामी वडा अध्यक्षसँग बुझेर मात्र जाहेरी दर्ता गर्ने नगर्ने निश्चित गर्छाैं। अन्यथा दर्ता गर्दैनौं। हामीभन्दा माथिल्लो निकायमा जानुस्।'

विवेन्द्रसँगै दिनभर हिँडेका रंगकर्मी तथा दलित अधिकारकर्मी गाेविन्द सुनारले प्रहरीले पीडितलाई न्याय दिनेभन्दा पनि पीडकलाई बचाउने खेल खेलिएकाे बताए।

'म प्रहरी कार्यालयमा जाँदा प्रहरीले छलफल गराउने नाममा अपराध लुकाउने खेल गरिरहेकाे प्रष्ट देखिनथ्याे,' उनले भने, 'प्रहरीले वडा अध्यक्षसँग बुझ्छुँ भन्नूकाे अर्थ के हाे? सत्ता र शक्तिलाई ख्याल गरेर नै प्रहरीले मुद्दा दर्ता गर्न नमानेकाे हाे। त्यसैले दिनभर बाहाना बनाइरह्याे।'

प्रहरीले जाहेरी लिन नमानेपछि विवेन्द्र सरकारी वकिलकाे कार्यालय गए। सरकारी वकिलले, 'घटेकाे घटना र जाहेरीकाे व्यहाेरा मिलेकाे छ भने प्रहरीले जाहेरी लिनुपर्छ।' साेही खबर लिएर विवेन्द्र पुन: प्रहरी कार्यालयमा पुग्दा पनि सहायक निरिक्षक चाैधरीले उही रवाफमा उस्तै जवाफ दिएर फर्काइदिए।

अर्का रंगकर्मी धनराज सुनारले भने, 'प्रहरीले हामीलाई तपाईं जान्ने नपल्टिनुस्, भन्याे। कानून थाहा छ? भनेर प्रश्न गर्‍याे। डुम भनेकाे कुराकाे प्रमाण हुँदासमेत याे घटना जातीय विभेदअन्तर्गत नपर्न पनि सक्छ भनिरह्याे र जाहेरी लिन मानेन।'

त्यसपछि थकित विवेन्द्रले राष्ट्रिय दलित आयाेगलाई गुहारे। राष्ट्रिय दलित आयाेगले प्रहरीले जाहेरी लिन नमानेकाे कारण र प्रहरी कार्यालयमा दिएकाे जाहेरी दुबै माग्याे। उनले सबै कागजात र प्रमाण मेल गरेर राष्ट्रिय दलित आयाेगमा पठाए।

यस विषयमा प्रतिक्रिया दिदै राष्ट्रिय दलित आयाेगका अध्यक्ष देवराज विश्वकार्माले याे आयाेगकाे मुद्दा भएकाे बताए। 'याे हाम्राे काम हाे। हामी विभेद हुन दिदैनाैं,' उनले भने, 'दलित समुदायमाथि भएकाे विभेद सहेर कदापि बस्न सकिदैन।'

आयाेगका अध्यक्ष विश्वकर्माकै सल्लाहमा याे मुद्दा राष्ट्रिय मानव अधिकार आयाेगमा पनि पठाइएकाे विरेन्द्रले बताए।

'मैले आफूमाथि भएकाे विभेद सिंगाे दलित समुदायमाथि भएकाे विभेद सम्झेकाे छु। मैले धाउनुपर्ने निकाय सबै धाइसकेकाे छु,' उनले भने, 'सबै कुरा हेर्दा न्यायकाे ढाेकासम्म जान पनि निकै कठिन रहेछ। हेराैं दलित समुदायले न्याय पाउन कत्तिको सहज छ?'

प्रकाशित मिति: : 2021-07-08 09:40:00

प्रतिकृया दिनुहोस्