गिडीदह यात्रा भाग- १

गुमनाम गिडीदहकाे खाेजीमा

BreaknLinks
BreaknLinks

अविरल बगिरहने तिला नदी। त्यसैको काखमा लमतन्न परेका मार्सी धानका फाँटहरु। फाँटहरुमा बयाली खेलिरहेका धानका बालाहरु। बालाहरु बताससँगकाे लडाइँमा हारेका जस्ता देखिन्छन्। त्यसैकारण सधैँका लागि निहुरिएका जस्ता देखिन्छन्। लाग्छ- बतासकाे दादागिरी चलिरहेछ, धानहरु लतारिरहेका छन्।

जाे कोहीको मन लोभ्याउने यिनै दृश्यसँग साउती मार्दै गर्न सकिन्छ, एक नाैलाे यात्रा। नाैलाे यात्राकाे नाम थियाे, गुमनाम गिडीदहलाई विश्वसामु चिनाउने।

उडेर आकाशै छुन त नसकिएला। तर क्षितिज पारी आकाश छाेउँला झैं गरेका डाँडापाखाहरु छुन भने अवश्य सकिन्छ। हेर्दा अजीवका लाग्ने यिनै डाँडापाखाहरु छिचोलेपछि पुग्न सकिन्छ, तातोपानी गाउँपालिकामा-४ मा अवस्थित गिडीदह।

जुम्ला जिल्लाकै ठूलो दहले परिचित गिडीदह (ताल) कति ठूलो छ भनेर हालसम्म मापन हुन सकिरहेकाे छैन। तर यसलाई जुनसुकै मूल्य चुकाउनु पराेस् तर एक सुन्दर, मनाेरम र आकर्षक पर्यटकीय गन्तव्य हाे भनेर चिनाउनलाई दिनरात लागिरहेका छन् वडा नम्बर ४ का अध्यक्ष अमर राेकाया र उनकाे टिम।

उज्यालाे मुखाकृतिमा वडा नम्बर ४ काे कार्यालयलाई पृष्ठभूमि बनाएर फाेटाे खिच्दा मानसपटलमा एउटा निलाे दहकाे आकृति बन्छ। त्यही दहसँगकाे सामीप्यता खाेज्न चालिएका थिए पाइलाहरु। यसरी पाइला चाल्नेहरुमा थिए, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु र कर्मचारीदेखि पत्रकारसम्म।

तिथि थियाे, २०७९ असाेज ४ गतेकाे। सयम ठिक ११ बजे। हिँड्नुपर्ने मुटु फुट्ने उकालाे। साथमा थियाे, सिलिपिङ ब्याग, आफ्ना लत्ताकपडा र खाजा राखिएकाे झाेला।

आमाको काखमा लुकामारी खेलेको बच्चाझैं गरी सूर्य पनि बादलको काखमा लुकामारी खेलिरहेको थियो। बादलसँग लुकामारी खेलिरहेको घाम कहिले गिडी शोभा नदीकाे वल्लाे किनार त कहिले पल्लो किनार हुन्थ्यो।

घाम-छायाको लुकामारीसँगै सरकारी प्रतिनिधि मण्डलसहितको हाम्रो टोली उभाे लाग्यो भने गीडीदहकाे गर्भबाट बगेकाे गिडी शोभा नदी समुद्रमा मिसिन उँधाे लाग्यो। निरन्तर, अविरल र कञ्चन बनेर।

लामो यात्रा। छाती फुलेर मुटु नै फुटाउला जस्तो बनाउने हाँकुको उकालो। चिटचिट छुट्ने पसिना। खोला नै सुकाइदिउँला जस्तो लाग्ने तिर्खा। तर जब घट्टीगाडकाे पानी पिइन्छ, तब शरीरमा छुट्टै खालको उर्जा पैदा हुन्छ र हाँकुको उकालो त के, यात्रुलाई सगरमाथा नै चढुँला जस्तो आँट आउँछ।

घट्टीगाडकाे पानीका कयाैं कहानी छन्। गिडीखाेलाका हरेक मान्छेकाे प्यास मेटाउने घट्टीगाडकाे पानीले कुनै समय जेल परेका कैदीलाई छुटाएकाे राेचक कहानी छ। कहानीमा गिडीखाेला गाउँका एकजना परिबन्धले जल परेका रहेछन्। उनी हरेक दिन, हरेक पल्ट पानी खानेबेला घट्टीगाडकाे पानी सम्झिँदा रहेछन्, 'कठै मेरा घट्टीगाडकाे पानी' भन्दै।

याे सुनिरहेका जेलरले एकदिन गिडीखाेलाकाे नदी, एउटा अर्काे धाराकाे पानी र घट्टीगाडकाे धाराकाे पानीसहित तीन फरकफरक ठाउँकाे पानी ल्याएर उक्त कैदीलाई पिउन लगाएछन्। उनले ती तीनवटा धाराकाे पानी खाँदा घट्टीगाडकाे पानी चिनेछन्। त्याे देखेपछि जेलरले उनकाे कैद मिनाहा गरिदिएछन्। स्थानीय दुर्गा पाण्डेले सुनाएकाे याे कहानी अरु धेरै गिडीखाेलाका मान्छेहरु सुनाइरहन्छन्।

हाम्रा पाइलाहरु जतिजति अघि बढ्दै जान्छन्, पसिनाले जिउ उतिउति भिज्दै जान्छ। हिमाली भेग भएकोले हिँड्दा तातेकाे जिउ थकाइ मार्न बस्यो कि चिसिन बेरै लाग्दैन। जिउ चिसिनु थप यात्राकाे लागि तन्दुरुस्ती हुनु हाे।

पाटनमा वस्तुभाउ चराउने गाेठालाहरु। यार्सागुम्बालगायतका जडीबुटीमै जीविका खाेज्नेहरु मात्र होइन, हरकाेहीका लागि यहाँको यात्रा साहसिक लाग्छ। आजभोलि लामो पैदल यात्रा गर्नु भनेको साहसी बन्नु हो। गिडीदहको यात्रा  पनि पैदल गर्नु बाहेक अर्काे विकल्प छैन।

गिडीदहको यात्रा गर्ने यात्रुहरुका लागि प्रकृतिले ठाउँठाउँमामा चिसाे पानीका मुहान फुटाइदिएकाे छ। मिर्मिरे उज्यालोमा एक बिहानभर हिँड्याे भने तिनै मुहान भेटिन्छन्। जसलाई छकाले पानी भनेर चिनिन्छ।

हामी छकाले पानी पुग्छौं। गन्तव्य भेटाउने लक्ष्य लिएका यात्रीहरुलाई यस्ता स्थानहरुल प्रफुल्लित बनाउँछन्। ढल्किँदै गरेकाे घामले अनुहारमा चमक थपिदियाे। चिसो पानीले शरीर सिंचित भयाे।

हरेक वर्षजसाे लेकगाड गरेका ६० वर्षीया स्थानीय पुरिचन्द्र शर्माले उकालो हिँडेका यात्रीले एकछिन थकाई मारेर मात्रै पानी पिउनुपर्छ भनी सुझाए। हामीले त्यसै गर्‍यौं।

साँझकाे बास फुलचाउँलेमा उपयुक्त हुने भनी सुझाइएकाे थियाे। हामी त्यहीँ बस्याैं। प्रकृतिले आफैँ बनाइदिएका ओडार र आफूले बाेकेर लिएका टेन्टहरुमा रात बिताउँदा केही असहज त लाग्न सक्छ। त्यस्तो हामीलाई पनि कताकता लागेको थियो। तर जीवनलाई भिन्दै स्वादमा भोग्न चाहने जो कोहीका लागि भने नयाँ अनुभुति जरुर हुन्छ।

सग्लाे जिन्दगीलाई नै अनुभुतिहरुकाे संग्रह बनाउन चाहने यात्रीहरुका लागि यस्ता खाले अनुभुति वरदान नै सावित हुन सक्छन्।

गिडीदह जाँदा भेटिने फुलचाउँले पाटन वर्षातको समयमा जुम्लादेखि जाजरकोटसम्मका दुहुना गाईभैंसी राख्ने ठाउँ हाे। उक्त पाटनमा फुलेका बुकीलगायतका अनेकौं फुलहरुले पाटन सुवासिलाे थियाे।

हिजोआज जडीबुटीयुक्त घाँस खाएका गाई, भैंसीकाे दूध बिरलै चाख्न पाइन्छ। त्याे संयाेग फुलचाउँले पाटनले जुराउँछ। त्यसमाथि समूहमा गएकाले सल्लाह गरे भने असाैजे भेडाकाे झाेल खान पाउने सम्भावना अधिक रहन्छ। हामीले पनि असाेजकाे महिनामा असाैजे भेडाकाे झाेल खाएर मस्त निदायाैं।

प्रकाशित मिति: : 2023-06-14 21:50:00

प्रतिकृया दिनुहोस्