गृहमन्त्रीकाे पहिलाे एक्सनः ओली सरकारले गरेको 'एआईजी' सरुवा राेक्न निर्देशन

गत असार २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको एआइजी सरुवा रोक्न गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी प्रधान कार्यालय नक्साललाई निर्देशन दिएका छन्। 

गृहमन्त्रीको जिम्मेबारी सम्हालेका खाँणले आइजीपी शैलेश थापा क्षेत्रीलाई तत्काल सरुवा कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्।

मन्त्रीपरिषद्को बैठकलेअसार २७ गते पाँच जना एआइजीको सरुवा तथा पदस्थापना गरेकाे थियो।

एआइजी हरिबहादुर पालको सरुवा प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा भएको थियो। सात महिनामा नै उनकाे काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सरुवा भएकाे थियाे।

त्यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी भने एआइजी प्रधुम्म कार्कीलाई दिएको थियाे। उनी यसअघि राष्ट्रिय प्रहरी परीक्षण प्रतिष्ठानमा कार्यरत थिए।

त्यस्तै एआइजी नीरज शाहीको  नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएकाे थियाे। 

उनी यसअघि नेपाल प्रहरी प्रधान कार्यालय, मानव श्रोत एवम् प्रशासन विभागमा थिए।  

नेपाल प्रहरी  प्रधान कार्यालय, कार्य एवं अपराध अनुसन्धान विभागमा रहेका एआइजी विश्वराज पोखरेललाई राष्ट्रिय प्रहरी परीक्षण प्रतिष्ठानमा सरुवा गरिएको थियो। एआईजीहरु सरुवा भएपनि तोकिएको ठाँउमा भने गएका थिएनन्।

गृहमन्त्रीले ओली नेतृत्वकाे सरकारले गरेको एआईजी सरुवा निणर्यलाई कार्यन्वन नगर्न निर्देशन दिएकाे मन्त्रालय स्रोतले बताएकाे छ। 'रमाना नबुझन र नबुझाउन आदेश आएकाे छ, बाँकी कुरा पछि थाहा होला,' एक एआईजीले बिएल नेपाली सेवालाई भने।

समय नपुग्दै एआईजी सरुवा गरिएको भन्दै उबेला सरकारकाे चर्को आलोचना समेत भएको थियो। 'कसलाई कहाँ खटाउने भन्ने बारेमा प्रधानमन्त्रीसँग सल्लाह गरेर मात्र निणर्य गर्ने कुरा भएको छ,' मन्त्रमलयका एक अधिकारी भने।

प्रकाशित मिति: : 2021-07-14 19:49:00

प्रतिकृया दिनुहोस्