खुलामञ्चको बसपार्क बन्दपछि सुन्धारा–रत्नपार्क क्षेत्रमा ‘पिक एण्ड ड्रप’ मात्रै, अस्तव्यस्त सडक यातायात (भिडियाे रिपाेर्ट)

कमल प्रभात

काठमाडौँ

काठमाडौंको खुल्लामञ्चमा अस्थायी रुपमा बनाइएको ‘सिटी बसपार्क’ बन्द गरेपछि सो क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।

काठमाडौं महानगरपालिकाले गत बैशाखमा ‘सिटी बसपार्क’ हटाएर त्यहाँ पार्किङ गरिँदैआएका सार्वजनिक यातायातलाई आरएनएसीअगाडि ‘चढ्ने र उतार्ने’ गराएसँगै सुन्धारादेखि रत्नपार्कसम्मको क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो। 

पहिला ‘सिटी बसपार्क’ मा पार्किङ गरिदै आएका भक्तपुर, बनेपा, धुलिखेल, दक्षिणकाली, कीर्तिपुर, थानकोट, बालाजु बाइपासलगायतका ‘रुट’ मा चल्ने सार्वजनिक यातायातलाई अहिले आरएनएसीअगाडि ‘चढ्ने र उत्रिने’ गराउन थालिएको छ। त्यससँगै सो क्षेत्रमा सवारी साधनको चाप बढेर ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो। 

महानगरपालिकाले बसपार्क हटाएर सार्वजनिक यातायातलाई ‘पिक एण्ड ड्रप’ गराएदेखि निक्कै समस्या भएको चालकहरु बताएका छन्। बसपार्क सरेकाे थाहा नपाउँदा यात्रु आउँदै नआएकाे उनीहरूकाे भनाई छ।

सो क्षेत्रमा आउने सार्वजनिक यातायातले अहिले केही समय मात्रै रोक्न पाउने नियम भए पनि चालकहरुले नियम पालना नगर्दा पनि थाप समस्या उत्पन्न भएको हो।

तत्काललाई ट्राफिक व्यवस्थापनमा समस्या देखिए पनि त्यसलाई विस्तारै व्यवस्थापन गर्दै लैजाने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले बताएका छन्। 

‘अहिले बसपार्क सरेकाे भएर पनि समस्या देखिएकाे हाेला तर त्यस्ताे समस्या छैन। प्रवक्ता दासले भने,‘हामी त्यसलाई व्यवस्थापन गर्ने तयारीमा छाैं।’ 

पहिला खुल्लामञ्च रहेको ठाउँमा काठमाडौं महानगरपालिकाले अस्थायी बसपार्क बनाएको थियो तर खुल्लामञ्च अधिग्रहण गरेको भन्दै चौतर्फीविरोध भएसँगै बसपर्क हटाइएको हो। उक्त बसपार्कमा पार्क गर्दै आएका मध्यम दूरीका सार्वजनिक यातायालाई भने अहिले नयाँ बसपर्कमा सारिएको छ।


 

प्रकाशित मिति: : 2021-07-27 19:07:00

प्रतिकृया दिनुहोस्