कोरोनाविरुद्धको खोपमा राजनीतिः लुकिछिपी राति खाेप लगाइरहेकाे बेला स्थानीय पुगेपछि भागाभाग

धनुषा जिल्लाको मिथिला नगरपालिका ढल्केवरस्थित हेल्थपोष्टमा रातिको समयमा लुकिछिपी कोरोनाविरुद्धको खोप लगाइरहेको पाइएकाे छ।

राजनीतिक पहुँचको आधारमा राति खोप लगाइरहेको अवस्थामा स्थानीय युवाहरु रोक्न पुगेपछि कर्मचारी र  खोप लगाउन आएकाहरुको भागाभाग भएको छ।

प्राप्त जानकारीअनुसार शुक्रबार राति ९ बजेको समयमा मिथिला नगरपालिकाकी उपप्रमुख तारा लामा बस्नेत आफै उपस्थित भएर आफ्ना आसे-पासेलाई कोरोनाविरुद्धको खोप लगाइरहेको थाहा पाएपछि त्यसलाई रोक्न हेल्थपोष्ट पुगेका युवाहरुलाई देखेर स्थास्थ्य कर्मचारी र खोप लगाउन आएकाहरु भागेका थिए।

उनीहरु भाग्ने क्रममा सिरिन्च र संवेदनशील मानिएको खाेप राख्ने बाकस खुलै छोडेर भागेका थिए। स्थानीय युवा बुधेश्वर महतोले खोपजस्तो संवेदनशील बिषयमा उपमेयरले राजनीतिक पहुँचको आधारमा आसेपासेलाई कोरोनाविरुद्धको खोप लगाउन लगाएर गैर जिम्मेवारी काम गरेको भन्दै सम्बन्धित निकायसँग कारवाहीको माग गरेका छन्।

राति खोप दिइरहेको थाहा पाएर स्वास्थ्य चौकी पुगेका ढल्केवरका युवा राकेश सिंहले राजनीतिको आडमा खोपमा धाँधली भएको आरोप लगाए। उनले केही राजनीतिकर्मीहरुले आफ्नो आसे-पासेलाई खोप लगाउन रातिको मौका छोपेको दावी गरे।

बिहान १२ बजेदेखि खोपको लागि प्रतिक्षामा बसेको आफू साँझ ७ बजे कर्मचारीबाट धकालिएर बाहिर निकालिएको सिंहले दुखेसो सुनाए।

यता ढल्केवर स्वास्थ्य चौकीका ईन्चार्ज रामप्रबोध साहले आफू साँझ ७ बजे नै खोप कार्यक्रम स्थगित गरेर बाहिर निस्किएको प्रतिक्रिया दिएका छन्। टेलिफोन सम्पर्कमा उनले यस घटनाको जिम्मेवार खोप लगाउने स्वास्थ्यकर्मी नै रहेको भन्दै पन्छिए। ईन्चार्ज साहले कार्यालयको साँचो कार्यालय सहयोगीको जिम्मामा रहेको पनि जनाए।

कार्यायलय सहयोगी रामभरोस महतोले भने आफूलाई इन्चार्ज रामप्रबोध साहले कार्यालय बन्द गर्न निर्देशन दिएर बाहिर निस्केको बताए। आफूले कार्यालयमा ताल्चा लगाए पनि प्रभा सिस्टरले खोल्न लगाएको बताए।

‘सिस्टरले मलाई कार्यालय खोल्न भन्नुभो। उहाँले कुनै अत्यावश्यक सामान लिनुहुन्छ भन्ने लाग्यो। तर भित्र खोप लगाउन थालियाे’, कार्यालय सहयोगी महतोले भने।

प्रकाशित मिति: : 2021-07-31 10:32:00

प्रतिकृया दिनुहोस्