तर्कसहितकाे 'जाेक्स'हरुले पूर्ण 'हङ्गामा २'  

सन् १९९७ मा भाव प्रधान सिनेमा 'विरासत' लिएर बलिउडमा प्रवेश गरेका निर्देशक प्रिय दर्शनले त्यसयता लगातार अर्थपूर्ण हास्यप्रधान (कमेडी) सिनेमा मात्र निर्देशन गरे। एक्शन नायक अक्षय कुमार र सुनिल सेट्टीलाई समेत कमेडी गराउन सफल उनको सिनेमा हेरेको निकै लामो समयसम्म मनमा एक किसिमको रमाइलो चलिरहन्छ। सिनेमामा हाँस्य पैदा गर्न उनले कहिल्यै पनि अभद्र र अश्लिल बिषयलाई प्रवेश दिएनन्। त्यो नै उनको सबैभन्दा ठूलो सफलता हो। सन् २००३ मा प्रदर्शित सुपर हिट सिनेमा 'हङ्गामा' पछि त्यसैको सिक्वेल 'हङ्गामा २' अनलाइन रिलिज भएको छ।

आकाश (मिजान जाफरी) आफ्नो भविष्य प्रति उदासिन युवक हुन्। उनको एकमात्र लक्ष्य आफ्नो पिता कपुर (आशुतोष राणा)को साथी बजाज (मोहन जोशी) को छोरीसँग विवाह गर्नु हो। उनीहरुको विवाहको तयारी हुँदै गर्दा एक युवती (प्रणिता सुभाष) एउटा बच्चालाई लिएर आउँछिन्। र त्यो बच्चा आफ्नो र आकाशको भएको बताउँछिन्। तर यो कुरा मान्न आकाश तयार छैनन्। यो समस्याबाट उम्किन कपुरले आफूले छोरी बराबर मानेको अन्जली (शिल्पा सेट्टी)को मद्दत लिन चाहन्छन्। तर, अन्जलीको पति (परेस राबल) लाई अन्जली र कपुर प्रेमी/ प्रेमिका हुन् भन्ने शङ्का हुन्छ। त्यसपछि के-कस्ता मोड आउँछन् र अचानक आइपरेको समस्याको समाधान कसरी हुन्छ,  त्यो नै सिनेमाको मूल कथा हो। जसलाई अघि बढाउन अनेकौँ उपकथाहरु पनि जोडिएका छन्। 

यो सिनेमामा पनि प्रिय दर्शनको पछिल्लो सिनेमाको जस्तै चर्को कमेडी, हाँस्य वातावरण र अवस्था तथा एकअर्काप्रति अविश्वास देख्न पाइन्छ। साथै सिनेमाको अन्तमा रमाइलो दौडादौड छ, त्यो पनि मनोरञ्जन छ। यो सिनेमामा निर्देशकले आफ्नो पुरानो सिनेमामा रहेका 'जोक्स' र 'पञ्च लाइन'को पनि प्रयोग गरेका छन्। तर, त्यो पनि रमाइलो नै छ। निर्देशक र सङ्गितकार अन्नु मल्लिकको काममा खोट लगाउने ठाउँ छैन।

यो सिनेमामा निर्देशक प्रिय दर्शनका स्थायी कलाकार परेस रावल, मोहन जोशी, जनी लिबर र राजपाल यादव आदीको अभिनय हेर्न पाइन्छ जो सधैँ मनोरञ्जनात्मक हुन्छ। यसको साथै निर्देशकले पहिलो पटक शिल्पा सेट्टी, मिजान जाफरी, प्रणिता सुभाष र आशुतोष राणासँग काम गरेका छन्। अभिनयको बिषयमा सबै कलाकारहरुको अभिनय उत्कृष्ट नभए पनि सामान्य छ। नायक मिजान जाफरी प्रसिद्ध अभिनेता जाबेद जाफरीका पुत्र र पुराना हास्य कलाकार स्व. जगदीपका नाती हुन्। यो सिनेमा हेर्दा उनको भविष्य उज्ज्वल रहेको जस्तो अनुभव हुन्छ।

प्रिय दर्शनको सिनेमाका दर्शकका साथै हास्य प्रधान सिनेमाका दर्शकहरुले यो सिनेमा एकपटक अवश्य हेर्नुहोला। तर एउटा सिनेमा हेर्नको लागी करिब ३२ डलर तिर्नु कत्तिको व्यवहारिक हुन्छ, त्यो भने व्यक्तिगत बिषय हो।

प्रकाशित मिति: : 2021-08-07 19:48:00

प्रतिकृया दिनुहोस्