चौरजहारीमा अक्सिजन उत्पादन सुरु

तीन जिल्लालाई लक्ष्य गरी रुकुम पश्चिमको चौरजहारी अस्पलातमा अक्सिजन प्लान्टद्वारा अक्सिजन उत्पादन सुरु भएको छ।

चौरजहारी नगरपालिका–१ मा रहेको अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएपछि त्यसबाट अक्सिजन उत्पादन सुरु भएको अस्पतालले जनाएको छ।

रु एक करोड १० लाखमा प्लान्ट जडान भएको अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिए। अस्पताल परिसरमा प्लान्ट जडानका लागि झण्डै साढे रु दुई लाख लगानी अस्पतालले गरेको छ। नगरपालिकाले सो प्लान्ट खरिद गरेर अस्पताललाई उपलब्ध गराएको हो।

तीन जिल्लाका स्वास्थ्य संस्था तथा स्थानीय तहहरुले नेपालगञ्ज गएर अक्सिजन भरेर आपूर्ति गर्दै आएका थिए। अब नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको बताइएको छ। यो प्लान्टले दैनिक ३२ देखि ३६ वटासम्म ४० लिटरका सिलिण्डर भर्न सक्ने क्षमता राख्दछ।

हाल अक्सिजन प्लान्ट जेनेरेटरमार्फत सञ्चालन भइरहेको छ। विद्युत् नियमित नहुँदा अस्पतालले जेनेरेटरको सहायताले अक्सिजन उत्पादन गरिरहेको हो।

विद्युत् हुँदा त्यसैबाट उत्पादन गरे पनि विद्युत् नहुँदा भने जेनेरेटरको सहायताले अक्सिजन उत्पादन भइरहेको छ। अक्सिजन उत्पादनका लागि नियमित विद्युत् आपूर्तिको पहल भइरहेको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: : 2021-08-11 08:04:00

प्रतिकृया दिनुहोस्