ओम्नी, बालुवाटार जग्गा, क्यान्टोन्मेन्ट भ्रष्टाचारजस्ता ठूला काण्डको निष्पक्ष छानबीन गरौँ : कोमल वली

फाइल तस्वीर
फाइल तस्वीर

राष्ट्रियसभाकी सांसद कोमल वलीले बालुवाटार जग्गा प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण,  माओवादी सेनाका लडाकू राखिएका क्यान्टोनमेन्ट भ्रष्टाचारजस्ता ठूला भ्रष्टाचार छानबीन  गर्न माग गरेकी छिन्।

राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल एमालेकी सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानविन गर्न माग गरेकी हुन्।

उनले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यममात्रै बनाइएको भन्दै भनिन्, 'बालुवाटार जग्गा प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण, क्यान्टोनमेन्ट भ्रष्टाचार, बाइडबडी, अरुण तेस्रो, टनकपुर भ्रष्टाचारको निष्पक्ष छानबीन गरौँ। भ्रष्टाचारका भाषण धेरै भए, भोट माग्ने माध्यम भए।'

वलीले जोड दिइन्, 'आउनुहोस् निष्पक्ष छानविन गरौँ। वाइडबडीको छानविन गरौँ। अरुण थर्डको छानविन गरौँ। टनकपुरको छानविन गरौँ। बालुवाटारको छानविन गरौँ। ओम्नीको छानविन गरौँ। आयल निगमको जग्गा खरिदको पनि छानविन गरौँ। क्यान्टोनमेन्टको पनि छानविन गरौँ। ठुला ठुला हाइड्रोको पनि छानविन गरौँ। १६५ सांसदको समर्थन छ के को लागि हो त्यो समर्थन प्राप्त गरेको ? अरुको पार्टी फुटाएको के को लागि हो ? किन ? तथापी अर्कोतिर औँला नठड्याऔँ। सबैले सबैलाई देखेकै छ।’

सांसद वलीले सत्ता स्वार्थ र भ्रष्टाचारका निम्ति नेपालका नदीनालाहरु बन्धक बनेको पनि बताईन्। कतिपय जलविद्युत आयोजना विदेशीको इशारामा सम्झौता भएका र अरबौँ भ्रष्टाचार भएको पनि उनले उल्लेख गरिन्। उनले भनिन्, ‘कति जलविद्युतमा विदेशीको इशारामा सम्झौता भए होलान्।

अरबौँको डिल भयो होला। जलस्रोतको विश्वको दोस्रो धनि देशमा आज पनि व्यापार घाटामा हामीले बाहिरबाट ग्याँस ल्याएर चुल्हो बाल्दैछौँ, बिजुली दिन सकेका छैनौँ। हाम्रा नदीनालाहरु बन्धक बनेका छन्– सत्ताको स्वार्थमा र भ्रष्टाचारका निम्ति। त्यो काम गर्नलाई अहिले कसले रोकेको छ ? त्यसको लागि फेरी केपी ओलीको सरकार आउँला भनी पर्खिने ? जवाफ चाहियो।’

सांसद वलीले आफूहरु प्रतिपक्षको रचनात्मक आलोचनात्मक सुझावले मुलुक अगाडि बढ्नसक्छ भन्ने कुरामा विश्वस्त रहेको बताउँदै सरकारको सही कुरालाई सही र गलत कुरालाई गलत भनेर आलोचना गर्ने पनि स्पष्ट पारिन्।

प्रकाशित मिति: : 2021-08-11 16:08:00

प्रतिकृया दिनुहोस्