नक्कली स्मार्ट कार्डसहित दुई जना ट्राफिक प्रहरीको नियन्त्रणमा 

 महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका—२ बुङमतीका निवासी हाल जोरपाटी बस्दै आएका ४६ वर्षिय प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका—६ का निवासी तर हाल मुलपानी बस्ने ३१ वर्षकी कल्पना दाहाल रहेकी छन्।

यातायात कार्यालयहरूबाट जारी गरिने सवारी चालक अनुमतिपत्रका नगदी रसिदहरू केही व्यक्तिहरुले सरकारी कागजात दस्तखत किर्ते गरी रकम लिने गरेको भन्ने बिशेष सूचनाका आधारमा ट्राफिक प्रहरीले उनीहरूलाई कागेश्‍वरी मनोहरा नगरपालिका वडा नं. ६ मुलपानीस्थित राईजिङ एक्सपोर्ट ड्राईभिङ सेन्टरबाट पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।

तुलाधरले आफ्नै नाममा रहेको ०१—००—९८५७६९५३ नम्बर भएको सवारी चालक अनुमतिपत्रको नक्कली नगदी रसिद ट्राफिक प्रहरीको चेकिङ्गमा दिएको थिए। तुलाधर पक्राउ परेपछि उनकै बयानका दाहाल पनि पक्राउ परेकी हुन्।

उनको साथबाट गिता कुमारी ठकुरीको नाममा जारी भएको सवारी चालक अनुमति पत्र नं.०१—०६—००६८३४३८ भएको नक्कली नगदी रसिद समेत बरामद गरेको छ।

ट्राफिक प्रहरीका अनुसार उनीहरूले दर्जनौ व्यक्तिसँग रकम लिएर नक्कली लाईसेन्स रसिद दिई किर्ते ठगी गर्ने काम गर्दै आएका थिए।

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त, सिंहदरवारमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ ।
 
 
 

प्रकाशित मिति: : 2021-08-16 16:05:00

प्रतिकृया दिनुहोस्