सविन फुयाँल मृत्यु प्रकरणः

‘१५ लाखकाे लोभ देखाएर हत्या स्विकार्न बाध्य बनाए’

BreaknLinks
तस्बिरः मृतक सविन फुयाँल

गत आइतबार रातकाे लगभग ९ः४० बजे। काठमाडौंकाे तारकेश्वर नगरपालिका–३ स्थित तीनपिप्ले चिसापानीका हरि खड्काले गरर... गरेर केही खन्याएकाे आवाज सुने। उनी सुतिसकेकाले के भएकाे रहेछ भनी उठेर हेर्ने चेष्टा गरेनन्। ओछ्यानमा नै बसिरहे।

हरि निदाउनै लागिसकेका थिए। तलबाट काेही ‘हरिदाइ हरिदाइ...यहाँ मान्छे ढल्याे’ भन्दै कराउन थाले। ‘मान्छे ढल्याे’ भनेकाे सुनेपछि खड्का हतारहतार गर्दै तल झरे। उनकाे घरका पनि सबैजना तल झरे र के भएकाे रहेछ भनेर हेर्न थाले। त्यहाँ एउटा टिप्पर र नजिकै माेटरसाइकल पल्टिरहेकाे थियाे। उनीहरूले परैबाट देखे, पल्टिरहेकाे शव पनि त्यहीँ थियाे। हरिले हतारिँदै प्रहरीलाई फाेन गरे। प्रहरी पनि दुई मिनेटमा घटनास्थलमा पुग्याे।

तारकेश्वर नगरपालिका वडा नम्बर ३ का २१ वर्षीय सविन फुयाँल गत आइतबार अन्य दिन जस्तै काम सकेर घर फर्कँदै थिए। उनी मोटरसाइकलमा सवाररत थिए। तर त्यसदिन भने उनी घर पुग्नै पाएनन्। सविन सवार माेटरसाइकललाई टिप्परले ठक्कर दियाे। फुयाँललाई बा ५ ख ६७७९ नम्बरको टिप्परले ठक्कर दिएको थियो। उनकाे घटनास्थलमै मृत्यु भयाे।

फुयाँलको टिप्परको ठक्करबाट मृत्यु भएको भनिए पनि उनकाे परिवारले भने हत्या भएको बताएकाे छ। मोटरसाइकलमा सवार सविनलाई टिप्परले हानेर घाइते बनाएकाे र पछि चालकसहित अन्य मानिसहरु मिलेर हत्या गरेको उनका आफन्तकाे आराेप छ।

मृतक सविनलाई याेजनाबद्ध तरिकाले टिप्परले हानेर घाँटी थिचेर मारेकाे उनका काका पर्ने रामचन्द्र फयाँलले बताए। ‘सविनकाे टिप्परकाे टिप्परबाट मृत्यु भएकाे हाेइन, घाँटी थिचेर हत्या गरिएकाे हाे’, उनले भने, ‘घटना आइतबार बेलुका नै भएकाे रहेछ, तर हामीले साेमबार मात्र थाहा पायाैँ। मैले शव हेर्न सकिनँ। अरूले भनेअनुसार घाँटीमा चार अम्बल छिर्ने गरी काटिएकाे रहेछ, अनि हात पनि भाँचिएकाे छ।’

सविनलाई याेजनाबद्ध तरिकाले टिप्परले हानी घाँटी थिचेर मारेकाे भन्दै हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै सोमबार साँझ पीडित पक्षले तीनपिप्लेस्थित प्रहरी कार्यालयमा घेरा हालेकाे थिए। हाल प्रहरी वृत बालाजुले हत्यामा संलग्न रहेकाे आरोपमा दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिव बलामी र बिमल बलामी छन्।

यता, टिप्पर धनी बिमल बलामीले आफूलाई १५ लाख नगद दिने लोभ देखाएर हत्या स्विकार्न बाध्य बनाएको शिवले प्रहरीसमक्ष बयान दिएका छन्। सविनकाे हत्या गर्न बिमलले नै टिप्पर चलाएको र घाइते बनाएपछि आसपासकाे डिपोमा काम गर्नेहरुलाई समेत बोलाएर उनको हत्या गरेकाे पीडित पक्षले दाबी गरेका छन्।

प्रकाशित मिति: : 2022-12-13 15:55:00

प्रतिकृया दिनुहोस्