साइकल अध्यक्षकाे गाडी दुर्घटना,६ जना गम्भीर घाईते

साइकल चढेर जनताकाे काम गर्ने भन्दै सामाजिक सञ्जाल रङ्ग्याउने मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवी प्रसाद आचार्य चढ्ने गाउँपालिकाको गाडीले ठेला र अटोलाई ठक्कर दिँदा ६ जना गम्भीर  घाईते भएका छन्।

आइतबार दिउसो १ बजे उर्लाबारी—७ स्थित भद्रमारीमा तिब्र गतिमा आएको  को १ झ ५७६ नम्बरको स्कारपियोले ठक्कर दिँदा उनीहरु गम्भीर घाईते भएका हुन्।

घाइते हुनेमा ठेला चालक इटहरी—५ निवासी  ३९ बर्षीय कुलबहादुर विक रहेका छन्। यस्तै  अटो चालक मिक्लाजुङ—४ बस्ने  अर्जुन तामाङ, अटोमा सवार सोहि वडाकै १४ बर्षीया  पुजा राई, २७ बर्षीया जुनुमाया तामाङ, बर्ष १४ कै खुशी तामाङ र ६५ बर्षीया दिलकुमारी राई घाईते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले बताए। घाईतेहरुको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचार भईरहेको छ।

साइकल  प्रेमी  मिक्लाजुङका अध्यक्ष आचार्य गाडीमा  सवार थिए कि थिएनन्, प्रहरी निरीक्षक खड्का बताउन चाहेनन। उनले भने, ' अक्सिजन लिन गाडी जादैं गरेको रहेछ। एक्कासी दुर्घटना भएछ।'

यद्यपि, घाईतेहरुले मद्रासी फिल्मी शैलिमा तुफान गतिमा आएको गाडीले ज्यान लिने उदेश्यले दुर्घटना गरेको बताए। यस विषयमा गाउँपालिका अध्यक्षसँग फोन सम्पर्क गर्दा दिनभर स्विच अफ थियो। मुद्धाको किनारा नलाग्दै गाउँपालिकाका चालक पनि घाईते भएको भन्दै डिश्चार्जपछि प्रहरीले घर पठाएको छ।

प्रकाशित मिति: : 2021-08-16 19:29:00

प्रतिकृया दिनुहोस्