अपहरणको आरोपमा शंकर पोखरेलसहित ४ जनाविरुद्ध विमला वलीले दिइन् प्रहरीमा जाहेरी

फाइल तस्वीर
फाइल तस्वीर

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध माओवादी केन्द्रकी प्रदेशसभा सदस्य विमला खत्री वलीले अपहरण तथा बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी छन्।

सांसद वलीले पोखरेलसहित एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, युवा संघका सचिवालय सदस्य तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावलले आफूलाई अपहरण गरेर बन्धक बनाएको भन्दै प्रहरीमा जाहेरी दिएकी हुन्।

पोखरेल मुख्यमन्त्री पदमा रहँदा आफूलाई दाङबाट अपहरण गरी ल्याएर साउन १५ गतेदेखि ५ दिनसम्म बन्धक बनाएको उनको आरोप छ।

जाहेरीमा वलीले पोखरेलसहित ४ जनालाई अपहरण तथा शरीर बन्धकसम्वन्धी कानूनअनुसार कारवाहीको माग गरेकी छन्।

बुटवलमा सोमबार दिएको उजुरी बुधबार दाङ पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरले जानकारी दिए। घटना दाङमै भएकाले उतै पठाइएको उनले बताए।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती र सांसद वली प्रहरी कार्यालय पुगेर जाहेरी दिएका हुन्। 

प्रकाशित मिति: : 2021-09-15 13:36:00

प्रतिकृया दिनुहोस्