एमाले स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्दै

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेको स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्ने भएको छ।

पहिलो दिन १०औं महाधिवेशन चितवनमा तोकेको स्थायी कमिटी बैठकले दोस्रो दिन १० बुँदे सहमति कार्यान्वयनमा देखिएको समस्या समाधानको प्रयास गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

'१० बुँदे कार्यान्वयनको सिलसिलामा सहजीकरण गर्न बनेको कार्यदलले बैठकमा सुझावहरु प्रस्तुत गर्छ। छलफल हुन्छ। स्थायी कमिटीबाट थप निर्णय हुन्छ,' उनले भने।

दोस्रो दिनको बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा चलिरहेको छ। बैठकमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्नेछ।

उपाध्यक्ष भीम रावल संयोजक रहेको कार्यदलले १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरिसकेको छ। कार्यदलको बैठक बिहीबार बसेको थियो।

रावलको नेतृत्वमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव द्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट छन्।

माधव नेपालको साथ छाडेर एमालेमै बसेका १० नेताले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्। तर प्रवक्ता ज्ञवाली भने ९७ प्रतिशतभन्दा बढी कार्यान्वयन भइसकेको र बाँकी पनि कार्यान्वयन हुने चरणमा रहेको बताउँछन्।

प्रकाशित मिति: : 2021-10-22 15:29:00

प्रतिकृया दिनुहोस्