मोरङमा कांग्रेस महाधिवेशन : पानीको बोतलमा उम्मेदवारको फोटो

आइतबार मोरङमा जारी नेपाली कांग्रेसको जिल्ला महाधिवेशनमा केही रोचक दृश्यहरु देखा परे।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई हलभित्र वितरण गरिएको पानीको बोतलमा नेपाली कांग्रेसको लोगोसहित वर्तमान सभापति डिकबहादुर लिम्बको फोटो रहेको छ। लिम्बु १४ औँ महाधिवेशनका लागि पनि जिल्ला सभापतिका उम्मेदवार हुन्।

यो कुनै नौलो कुरा भने होइन, गत महिना सम्पन्न नेकपा एमालेको विधान महाधिवेशनमा पनि एमालेकै लोगो रहेको पानी खाने बोतल वितरण गरिएको थियो।

गोदावरी मिनरल वाटर प्रोडक्ट कम्पनीले उत्पादन गरेको १ लिटरको पानीको बोतलमा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राखिएको थियो।

यस्तै विराटनगरको मनास्लु होटलमा भएको मतदानमा मतदाता ल्याउन भारतीय गाडीको प्रयोग भएको छ। गाउँगाउँमा गएर आ–आफ्ना पक्षका मतदाताहरूलाई भारतीय नम्बर प्लेटको गाडीको प्रयोग गरेर ल्याउने गरिएको हो।

मोरङ सभापतिमा डिगबहादुर लिम्बु, दिलीप गच्छदार र यदुकुमार विष्टबीच प्रतिष्पर्धा भएको थियो। लिम्बु र विष्ट संस्थापन इतर समूहका हुन् भने गच्छदार संस्थापन पक्षका हुन्।

हिजो भएको मतदानमा कुनै उम्मेदवारले पनि ५१ प्रतिशत मत नल्याएपछि मोरङ सभापतिमा पुनः निर्वाचन हुने भएको हो।

प्रकाशित मिति: : 2021-11-29 11:39:00

प्रतिकृया दिनुहोस्