बाजुराका मूर्तिकार जैसीलाई जुम्लामा सम्मान 

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका ६ का ४६ वर्षीय  मूर्तिकार कर्ण  प्रसाद जैसीलाई  जुम्ला प्रशासनले सम्मान गरेको छ।

जुम्ला जिल्लामा रहेर आफ्नो सिपमार्फत योगदान पुर्‍याएको भन्दै मूर्तिकार जैसीलाई सोमबार एक कार्यक्रमका बीच सम्मान गरिएको हो। 

उनलाई प्रशासनको तर्फबाट कदर पत्र र चन्दननाथ भौरबनाथ गुठी व्यवस्थापनको समितिको तर्फबाट नगद पाँच हजार दिई सम्मान गरिएको छ। जैसीले जुम्लामा आएर बहुमुल्य मूर्ति निर्माण गरी अमूल्य कार्य गरेको भन्दै उनको योगदानलाई कदर गर्दै सम्मान गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले बताएको छ।

उनी  २०६७ सालदेखि नै ढुंगामा कला भर्न सिपालु थिए। उनी अहिले सिमेन्ट मूर्तिकारका रूपमा परिचित छन्। जैसीको  बाजुरा जिल्लामा मूर्तिकला केन्द्र उद्योग छ। उनले जुम्लामा आएर आफूले बनाएका भगवतीमाइको दुई वटा मूर्ति उपहार स्वरूप दिइएका छन्। उनले  दिएको एक वटा मूर्ति प्रशासन भित्रको दरबारमालिका मन्दिरमा छ। अर्को मूर्ति चन्दननाथको मन्दिरमा छ। 

उनले यी मूर्ति आफ्नो कला पहिचानको लागि नि:शुल्क दिइएका हुन्। मूर्तिकार जैसीले एक मूर्ति  १० हजारदेखि ४० हजारसम्म बेच्ने गरेको बताएका छन्।

जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले उनको कलालाई राज्यले  सम्मान गर्न आवश्यक रहेको बताएकी छन्।

दिलमाया शाही

प्रकाशित मिति: : 2022-01-03 20:56:00

प्रतिकृया दिनुहोस्