एमाले दाङकाे अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित

नेकपा (एमाले) दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत सर्वसम्मतमा निर्विरोध निर्वाचित भएका छन्। १३औं जिल्ला सम्मेलनबाट अध्यक्षमा बस्नेतसहित १ सय २१ सदस्यीय जिल्ला कार्यसमिति पनि निर्विरोध निर्वाचित गरेको छ।

गएराति अबेर सम्पन्न जिल्ला अधिवेशनको बन्द सत्रले सर्वसम्मतिमा आगामी ३ वर्षे कार्यकालका लागि पदाधिकारी चयन गरिएको नेकपा एमाले दाङले जनाएको छ।

जसको उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिवमा कृष्ण भुसाल र हिरादेवी पुन निर्वाचित भएका छन्। सचिव बुढाथोकी र उपसचिव भुसाल बाहेक अन्य पदमा नयाँ अनुहार आएका छन्। 

पालिकास्तरबाट १० वटै पालिकाबाट भुगोलका आधारमा ५६ जना सदस्य पदमा नेतृत्व चयन गरिएको छ। यस्तै, समावेशी क्षेत्रका आधारमा दलित, थारु, मधेशी, आदिवासी जनजाति, मुस्लिम, अपांगता, महिला, पिछडिएको वर्ग अल्पसंख्यकबाट ३० जना सदस्य पदमा, खुला सदस्यमा सबै पालिकाबाट समेटिने गरी १९ जना र सदस्य तर्फ नै खुला क्षेत्र महिलामा ११ जना गरी १ सय २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरिएको एमाले जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए। 

कुल १ सय ३१ सदस्यीय जिल्ला कार्यसमिति रहने एमाले दाङमा बाँकी १० जना पछि मनोनित गरिने भएको छ। जिल्लाभरबाट कुल १४ सय ३७ प्रतिनिधि सहभागी अधिवेशनले पदाधिकारी चयन गरेको हो। 

यसैबीच, नव निर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराईएको छ। प्रमुख निर्वाचन अधिृकत दामोदर बस्नेतले नवनिर्वाचित पदाधिकारीलाई आज विहान पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्।

घोराहीको बहुउद्देश्यीय सभागृहमा भएको जिल्ला अधिवेशन एमाले दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षता तथा एमाले उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको थियो।

प्रकाशित मिति: : 2022-01-08 09:05:00

प्रतिकृया दिनुहोस्