विकराल बन्दै सवारी दुर्घटना, न्यूनीकरण भद्रगोल  

दाङ जिल्लामा सवारी दुर्घटना विकराल बन्दै गएको छ। दैनिकजसो हुने सवारी दुर्घटनाले कयौँले अकालमै ज्यान गुमाउनु परेको छ। सार्वजनिक सवारी साधान होस् या निजि सबै दुर्घटना बढाउन प्रेरित गरेजसरी दिनदिनै दुर्घटनामा पर्ने गरेका छन्।

पुस २६ गते सोमबार दाङ देउखुरीस्थित पूर्व-पश्चिम राजमार्गमा यात्रुवहाक बस दुर्घटना भयो। जसमा एक ९ महिने शिशुको मृत्यु भयो भने अन्य ९ जना घाइते भए। गत २४ गते घोराही तुलसीपुर सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भयो भने दुई जना घाइते भए।

२४ गते नै तुलसीपुरदेखि पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो। जसमा सवार तीन जना घाइते भए। यस्तै बिहीबार २२ गते देउखुरीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भए। त्यसैगरी २३ गते साँझ घोराहीमा दुई साइकल एकआपसमा ठोकिए। जुन दुर्घटनामा एक जना गम्भीर घाइते भए।

यसरी दिनप्रतिदिन भएका दुर्घटनाले जिल्लामा सवारी दुर्घटनाको अवस्था कस्तो छ भन्ने देखिन्छ। यहि तथ्यांकलाई आधार मान्ने हो भने पनि दुर्घटनाको रुपलाई विकराल भन्न सकिन्छ।

पछिल्लो ४ वर्षको तथ्यांकमा जिल्लामा सवारी दुर्घटनामा संलग्न सवारी साधनको संख्या १ हजार २१ रहेको छ। जसमा सबैभन्दा बढी ०७७ सालमा २ सय ८९ वटा सवारी सधान दुर्घटना भएका छन्। ०७६ मा २ सय ५७, ०७५ मा २ सय ५१ र ०७४ मा २ सय २४ वटा सवारी साधन दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा छ।

यो तथ्यांकले पनि पछिल्लो वर्षहरुमा सवारी साधन दुर्घटना बढेको देखाउँछ। ०७६ र ७७ मा देशमा कोरोनाका कारण लकडाउन भएको थियो। जसमा सार्वजनिदेखि निजि सवारी सधान सञ्चालन भएनन्। तर दुर्घटनाको संख्यामा भने कमी होइन बढवा भएको देखिन्छ।

यहि ४ वर्षमा सवारी दुर्घटनामा परी ३ सय २ जनाको मृत्यु भएको छ भने ३ सय ८६ जना गम्भीर घाइते भएका छन्। सामान्य घाइते हुनेको संख्या यो भन्दा बढी छ। याे तथ्यांक सामान्य होइन। अकालमै ४ वर्षमा एक जिल्लामा ३ सय बढीको मृत्यु हुनु राज्यलाई गम्भीर चुनौति थपिनु हो। तर राज्य संचालकहरु यस विषयमा गम्भीर बन्न सकेका छैनन्।

दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम हुन्छ तर पर्याप्त छैन। कसले कहाँ कतिबेला सचेतनामूलक कार्यक्रम गर्छ भन्ने नै थाहा छैन, सबै भद्रगोल छ। निर्माणाधीन सडकहरु समयमै मर्मत नहँदा जोखिम बढ्दै गएको छ, जसले थप दुर्घटना जोखिम निम्त्याएको छ।

‘सडकको अवस्था नाजुक छ। पहिले बनेका सडक साँघुरा भइसके। निर्माणाधीन  सडक समयमै बन्दैन। न ममर्त हुन्छ’, यातायात व्यवासारी नमस्ते राप्ती प्रालिका अध्यक्ष वामदेश खनालले भने। सडकको अवस्थाले गर्दा दुर्घटना बढेको उनी बताउँछन्।

तर सडकमा सवारी साधनको नियमन गर्ने निकाय प्रहरी प्रशासन भने सडक भन्दा पनि चालकको लापर्वाहीले दुर्घटना बढेको बताउँछन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले सवारी साधन दुर्घटना हुनुमा पहिलो कारण चालकको लापर्वाही भएको बताए।  ‘अन्य सहायक कारण हुन्, मुख्य कारण त चालकको लापर्वाही नै हो सवारी दुर्घटना हुने,’ काफ्लेले भने।

चालकलाई मात्र दोष दिने हाे? भन्ने विएल नेपाली सेवाको प्रश्नमा प्रमुख एसपी काफ्लेले भने, ‘दोष दिएको होइन। सडकको अवस्थाले वा यात्रुको गल्तीले पनि सवारी दुर्घटना हुन्छ। तर सडक बिग्रएको छ, विस्तारै चलाउनुपर्छ। सवारी सधानको चेकजाँच पछि मात्र चलाउनुपर्छ या ३० को गतिमा भनिएको सडककमा ३० को गतिमा मात्र चलाउनुपर्छ  भन्ने ज्ञान हुँदाहुँदै लापर्वाही भएको हुन्छ।’

काफ्लेले भने जस्तै अध्यक्ष खनालले दुर्घटना हुनेमा पहिलो गल्ती चालककै भएपनि थप दुर्घटना निम्त्याउने अन्य अनेक कारण लुकेको हुने बताउँछन्। ‘कारणमध्येमै खोज्ने हो भने त चालकको लापर्वाही पहिलो मानिएला’, उनले भने, ‘तर त्यसका पछि अनेक कारणहरु हुन्छ जसले थप दुर्घटना निम्त्याउनमा भूमिका खेलेका हुन्छन्।’

उनले चालकको लापर्वाही मानिनुमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा हुने अनियमितता जोडिने पनि बताए। ‘पहिले छ/सात वर्ष बसमा हेल्पर गरेपछि अनि लाइसेन्स लिएर बस चलाउन पाइन्थ्यो,’ उनले भने, ‘अहिले केही रोकिएको छ भनिन्छ। नत्र दुई/तीन महिना बस चलायो, पैसा तिर्‍यो लाइसेन्स लियो। त्यसले पनि सवारी दुर्घटना बढायो।’

मोटरसाइकल दुर्घटना बढी

सवारी दुर्घटना अन्तर्गत सबैभन्दा बढी दुर्घटनामा मोटरसाइकल पर्ने गरेको छ। ०७४ देखि ०७७ सम्मको तथ्यांकमा १३२ वटा मोटरसाइकल दुर्घटनामा परेका छन्। त्यसपछि बस दुर्घटनामा पर्ने गरेको ट्राफिक प्रहरीको तथ्यांकमा छ।

प्रहरी तथ्यांक अनुसार ४ वर्षमा १२० वटा बस दुर्घटनामा परेका छन्। त्यसैगरी बढी दुर्घटनामा पर्ने अर्को सवारी साधन ट्रक पनि रहेको छ। सोही समयावधिमा ९८ वटा ट्रक दुर्घटनामा परेको छ।

के गर्ने सवारी दुर्घटना रोक्न?

सवारी साधन दुर्घटना रोक्नका लागि सडक गुणस्तरको हुनुपर्ने अध्यक्ष खानालको भनाई छ। अर्को सचेतनामूलक कार्यक्रम हुनुपर्ने उनले बताए। केही सीमित मात्रामा सचेतनामूलक कार्यक्रम हुने गरेको भन्दै उनले सवारी चालक, यात्रु, विद्यार्थी सबैमा सवारी दुर्घटनाबारे सचेतनामूलक कार्यक्रम गरिरहनुपर्ने बताए।

यता प्रहरी प्रमुख काफ्लेले सचेतनामूलक कार्यक्रम भइरहेको बताउँदै बुझेर पनि बुझ पचाउन नहुने तर्क गर्छन्। ‘कुन चालकलाई थाहा हुँदैन, धेरै यात्रु चढाउनु हुँदैन या बाइकमा दुई जना बढी बस्नु हुँदैन? तर जानीजानी यहाँ सवारी चलाइन्छ’, उनले भने, ‘कार्यक्रम गरेर मात्र हुँदैन सचेत हुनुपर्छ।’ 

प्रकाशित मिति: : 2022-01-13 09:00:00

प्रतिकृया दिनुहोस्