टिपर दुर्घटना, चालक र सहचालकको मृत्यु 

फाइल तस्वीर
फाइल तस्वीर

बालुवा लोड गरेर गन्तव्यतिर जाँदै गरेको हाइवा टिपर कोसी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–२ नागढुङ्गामा आज (शुक्रबार) बिहान दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ। 

धनकुटाबाट तेह्रथुमको बसन्तपुरतिर जाँदै गरेको प्रदेश ०३–००१ क ०५४९ नम्बरको टिपर बिहान ४ः४५ बजेतिर दुर्घटना हुँदा टिपरका चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको हो । धनकुटा ट्राफिक प्रहरी प्रमुख सइ (नायव निरीक्षक) लोकबहादुर दियालीका अनुसार मृतकमध्ये चालक भुवन मगरको मात्रै सनाखत भएको छ । मगरको ठेगाना लगायत विस्तृत विवरण खुल्न बाँकी छ। 


मृतकमध्ये सहचालकको पहिचान खुल्न सकिरहेको छैन । दुवै जनालाई टिपरले किचिरहेको अवस्थामा फेला पारिएको र शव बाहिर निकाल्ने प्रयास भइरहेको जानकारी सइ दियालीले दिए । उनका अनुसार घुम्ती सडक पार गर्ने क्रममा टिपर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको अनुमान गरिएको छ। 

बालुवा लोड गरिएको टिपर सडकबाट लगभग २५ मिटर तल खसेको अवस्थामा फेला परेको छ । घटनास्थलबाट टिपरलाई बाहिर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ। 

प्रकाशित मिति: : 2022-01-14 09:33:00

प्रतिकृया दिनुहोस्