कलाकार नआएपछि सुनसरी बर्जु महोत्सवमा आगजनी, स्टेज तोडफोड

भोजपुरी कलाकार खेशारीलाल यादव नआएको भन्दै स्थानीयले सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा आगजनी र तोडफोड गरेका छन्।

सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा महोत्सव आयोजना भएको थियो। मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार खेशारीलाल यादवको पुर्वनिर्धारित साङ्गितिक कार्यक्रम रद्द भएपछि आक्रोशित स्थानीयले कार्यक्रमस्थलमा आगजनी र तोडफोड गरेका हुन्।

कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि ३०० र ५०० का दरले टिकट काटेर बसिरहेका थिए। तर, उनको कार्यक्रम रद्द गर्नुपरेपछि स्थानीयले भारतीय नम्बर प्लेटका ४ वटा स्कोरपियो र मोटरसाइकमा आगजनी गर्नुका साथै स्टेज र कुर्सीहरु समेत तोडफोड गरेका छन्। स्थानीयको तोडफोडबाट ठूलो क्षति भएको छ।

यद्यपि, घटनाबारे यकीन विवरण भने हालसम्म प्राप्त भएको छैन्। घटनास्थलमा हाल अवस्था नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी सुनसरीबाट प्रहरी परिचालन गरिएको छ।

सुनसरीको बर्जु–६ स्थित बर्जुतालको खेलमैदानमा पुस २४ गतेदेखि महोत्सवको आयोजना गरिएको थियो। मंगलबार महोत्सवको अन्तिम दिन थियो।

कोरोनाको संक्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले भौतिक जमघट हुने मेला र महोत्सव लगायतका कार्यक्रममा रोक लगाएको थियो। तर, आयोजकले प्रशासनको निर्देशन समेत अवहेलना गर्दै बर्जुमा उक्त महोत्सव जारी राखेकाले उक्त घटना भएको सुनसरी प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-01-18 20:03:00

प्रतिकृया दिनुहोस्