इजरायल-हमास युद्ध

इजरायलमा १० जनाको मृत्यु, भाेलि पुष्टी गर्दै परराष्ट्र मन्त्रालय

फाइल तस्बिर
फाइल तस्बिर

प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएकाे पुष्टी भएको छ। 

नेपाली समयअनुसार शनिबार बिहान करिब साढे ६ बजे भएको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको मृत्यु भएको इजरायलस्थित नेपाली दूतावासले जनाएकाे छ।

तर मृतक नेपाली विद्यार्थीहरूको बारेमा परराष्ट्र मन्त्रालयले सोमबार मात्र आधिकारिक रुपमा जानकारी दिने बताएकाे छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले मन्त्रालयमा सूचना आएपनि पुष्टि गर्न बाँकी रहेकाले आधिकारिक रुपमा भोलि मात्र सार्वजनिक गर्ने बताएकी छन्।

इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले परराष्ट्र मन्त्रालयलाई इजरायल हमलामा परि मृत्यु भएकाहरूको नाम र ठेगाना सहितको विवरण मन्त्रालयमा पठाइसकेकी छन्। उनले पठाएको विवरण अनुसार हमलामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।

परराष्ट्र मन्त्रालयले उक्त सूचनाबारे भेरिफाइ गरिरहेको छ। मन्त्रालयका प्रवक्ता लम्सालले सूचना भेरिफाइ गर्न समय लाग्ने भएकाले औपचारिक जानकारी भोलि मात्र सार्वजनिक गर्ने बताइन्।

इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन्।

यस्तै, पञ्चनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ।

त्रिवेणी–१ सल्यानका प्रमोद केसी, भजनी–४ कैलालीका वीरेन्द्र चौधरी, शारदा–२ सल्यानका विधान सेजुवाल, दंगीशरण–३ दाङका प्रविण डाँगी, टीकापुर–९ कैलालीका धनबहादुर चौधरी र गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल घाइते भएका छन।

यस्तै, भीमदत्त नगरपालिका–३ कञ्चनपुरका विपीन जोशी बेपत्ता भएका छन्।

प्रकाशित मिति: : 2023-10-08 22:10:00

प्रतिकृया दिनुहोस्