एमालेलाई भोट हाल्न जनता आतुर छन्: अध्यक्ष बस्नेत [अन्तर्वार्ता]

Breaknlinks
Breaknlinks

नेकपा (एमाले) दाङको १३औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा हुकुम बस्नेत निर्वाचित भए। उनी यसअघि उपाध्यक्ष थिए। लामो राजनीतिक पृष्ठभूमिका भएका बस्नेत एउटा कुशल नेतृत्वकर्ता मानिन्छन्।

उनको नेतृत्वमा दाङमा १ सय २१ सदस्यीय कार्यसमिति बनेको छ। के– नवनिर्वाचित समितिले एमालेलाई थप सशक्त बनाउन सक्छ? के छन् भावी योजनाहरू?

दाङ जिल्लामा समयमै बाटो, पुल नबन्दा नागरिकले सास्ती पाएका छन्।

के एमालेले यी–यस्तै विषयमा ध्यान नदिने हो? अबको निर्वाचनमा दंगाली जनताले फेरि एमालेलाई भोट देलान्? यसै सन्दर्भमा बिएल नेपाली सेवाले अध्यक्ष बस्नेतसँग कुराकानी गरेकाे छ। प्रस्तुत छ समसामयिक विषयमा उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः


१३औँ जिल्ला अधिवेशनबाट तपाईं अध्यक्ष बन्नुभएको छ। भावी योजना के बनाउनुभएको छ?

हामीले १३ औं जिल्ला अधिवेशन भव्य र सभ्य रुपले सम्पन्न गरेका छौँ। अब हामी दाङको एमालेलाई राजनीतिक रुपमा, वैचारिक, सांगठनिक रुपमा अन्य राजनीतिक दलभन्दा अब्बल सावित गर्दै नेकपा एमाले दाङको सांगठनिक संरचनाहरुलाई नयाँ ढंगले परिचालन गर्दै एमाले दाङलाई हरेक गाउँ बस्तीमा संगठनहरु निर्माण गर्दै अगाडि बढाउने संकल्पका साथ अघि बढेका छौँ।

नेकपा एमालेले हिजो जनताको बिचमा जुन खालका बाचाहरु गरेकाे छ, ती बाचाहरु अधुरा रहेका छन्।  ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना हामीले पूरा गर्न सकेनौँ। किनकि माओवादी र एमाले मिलेर बनेको नेकपा विभाजन भएको हुनाले हो। आज एमालेलाई चौतर्फी रुपमा घेराबन्दी गर्ने काम भएको छ, किनभने एमालेले जनताको बिचमा राम्रा योजनाहरु ल्यायो। ती योजनाहरु कार्यान्वयन हुन सकेनन्। ती योजनाहरु कार्यान्वयनको दिशामा एमाले अगाडि बढ्छ।

अबको स्थानीय चुनावमा नेकपा एमालेलाई पहिलो पार्टी कसरी बनाउन सकिन्छ भनेर हामी जनताको बिचमा जान्छौँ र त्यसै अनुसार काम गर्छौँ।

अब निर्वाचन नजिकिँदै छ। अघिल्लो चुनावमा जुन किसिमले दंगाली जनताले एमालेलाई विश्वास गरे, के फेरि त्यही विश्वास गरेर एमालेलाई दंगाली जनताले जिताउलान्?

दंगाली जनताले एमालेलाई फेरि पनि विश्वास गर्छन्। किन पनि गर्छन् भने आज देख्नुभएको छ नि परमादेशबाट बनेको यो सरकार। गठबन्धनको यो सरकार बनेपछि के काम गर्‍यो? ६ महिना बढी भइसक्यो, केही पनि सकेका छैनन्।

एउटा कुरा हिजो हाम्रो सरकारले डेढ करोड जनतालाई कोरोना खोप पुग्ने गरी व्यवस्था गरेका थियौँ। अहिलेको सरकारले त्यही खोप दिने कुरामा पनि पक्षपातको व्यवहार गरेको छ। फेरि जनता छटपटाउन थालेका छन्। अर्को कुरा हिजो हामीले देशलाई कसरी अगाडी बढाउनुपर्छ भनेर एउटा नयाँ खाका कोर्यौँ। मेचीदेखि महाकालीसम्मका जनताले भने नेपालको मिचिएको भूभागसहितको नयाँ नक्सा एमाले सरकारमा भएकाबेला जारी भयो र एमालेले मात्र अब जमिन फिर्ता गर्न सक्छ।

त्यस्तै विकासका कुरा गर्नुहुन्छ भने चाहे त्यो नागढुंगादेखि काठमाडौं जाने सुरुङमार्गको कुरा होस्, चाहे त्यो मेचीदेखि महाकालीसम्मका ठूला ठूला बाटाहरुको कुरा हुन्। या मध्येपहाडी राजमार्ग होस्, चाहे हुलाकी राजमार्ग होस् वा मदनभण्डारी मार्ग होस्, ती बाटाहरु चौडा बनाउने सवालमा तथा नेपालको विकासलाई नयाँ मेडेलमा लैजाने, गौरबका आयोजना भित्र्याउने कुरामा नेकपा एमालेले काम गर्‍यो नि।

तपाई देख्नुहुन्छ दाङ जिल्लाका सवालमा धेरै ठूला ठूला खानेपानीका टंयाङ्कीहरु निर्माण भए। हामीले भनेका थियौँ, दुई वर्षमा दंगाली जनतालाई स्वच्छ, सफा खानेपानी उपलब्ध गराउँछौँ। दंगाली जनताको घरघरमा पानीका धारा ल्याउँछौ भनेका थियौँ, हेर्नुहोस् आज दाङमा सयौँ ट्यांकी निर्माण भएका छन्। बाटाका कुरा गर्नुहुन्छ भने ठाउँठाउँमा चौडा बाटाहरु बनेका छन्। चिल्ला बाटाहरु बनेका छन्।

शैक्षिक क्षेत्रमा हेर्नुहुन्छ भने दाङमा प्राविधिक विद्यालयहरु खुलेका छन्। स्वास्थ्यलगायत सबै क्षेत्रमा दंगाली जनताले देख्ने गरी विकास भएका छन्। अवधारणाहरु बनेका छन्। त्यसकारण आगामी निर्वाचनमा एमाले पहिलो शक्तिका रुपमा आउँछ।

म तपाईंलाई भन्छु, आगामी निर्वाचनमा एक्लै, कुनैपनि पार्टी एमालेसँग लड्ने हिम्मत गरेका छैनन्। किन लड्न सकेका छैनन् भने, जब एमाले सरकारमा जान्छ सुकुम्वासीको समाधान गर्छ। आज एमालेले गर्दै गरेका कामहरुलाई अवरोध गर्ने गरी आयोग नै विघटन गरियो। फेरि एमाले सरकारमा गयो र सुकुम्वासीको, अव्यवस्थित बसोबासीको, भूमिहीनको आदिको समस्या समाधान गर्‍यो भने हाम्रो राजनीति नै समाप्त हुन्छ भनेर डराएका छन्। जनता एमालेलाई भोट हाल्न कहिले निर्वाचन आउला भनेर आत्तिएका छन्।

निर्वाचनमा पहिलो शक्ति बन्छौँ भनेर दाबी त गर्नुभयो। अहिले त एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) पार्टी पनि बनेको छ? दाङमा पनि नेकपा एसले हाम्रो शक्ति धेरै छ भनेर दाबी गर्छ। के यो फुटले एमालेलाई असर गर्दैन?

नेकपा एमालेबाट केही मान्छेहरु चोइटिएर गएका छन्। त्यसले गर्दा निश्चित रुपमा केहीले एमालेलाई असर पुग्यो भन्ने गर्छन्। तर मलाई के लाग्छ भने एमालेबाट चोइटिएर गएका केही मान्छेले एमाले दाङलाई असर गर्दैन। केही थोरै मान्छेहरु गएका छन् भने हामीले पनि अन्य पार्टीबाट धेरै मान्छेलाई प्रवेश गराएका छौँ। फुटको पक्षमा लागेर एमालेबाट गएका छैनन्। एकाध मान्छे गएका हालान्, गएपनि हामीसँग माओवादीका साथीहरु यहीँ हुनुहुन्छ। त्यस्तै अन्य पार्टीबाट पनि ठूलो पंति हामीले प्रवेश गराएका छौँ।

अहिले एमालेबाट गएकालाई जनताले धिक्कारेका छन्। एमालेको सूर्य चिन्नबाट जितेर त्यसैलाई लात हान्दै जानेलाई जनताले के फेरि साथ दिन्छन् र। अमर डाँगीका कुरा गर्नुहुन्छ भने उहाँका कारणले लुम्बिनी प्रदेश सरकार ढल्यो। अब भन्नुस उहाँका पछि लाग्ने मान्छे कति हुन्छन् ? विमला वलीका कारण लोकप्रिय लुम्बिनी सरकार ढल्यो, के अब विमलाका पछि जनता लाग्छन् ? लाग्दैनन् नि। कि उनीहरुले राम्रो काम गरेको हुनु पर्‍यो। त्यो पनि छैन।

पार्टीभित्र गुट-उपगुट भएर पार्टी कमजोर हुने गरेको छ। एमाले दाङमा यस्ता गुट- उपगुटहरु बन्न नदिन तपाईंको कस्तो भूमिका हुन्छ?

दाङको एमालेमा गुट-उपगुट छैन। जिल्लामा नै पहिलो पटक हामीले १३ जिल्ला सर्वसम्मत र सहज रुपमा सम्पन्न गरेका छौँ। अगाडि नेतृत्व गर्नुभएका श्रद्धय अध्यक्ष टिकाराम खड्काले एकदमै सहज रुपमा पद हस्तान्तरण गर्नुभयो। म उहाँलाई धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु। उहाँले १३औँ जिल्ला अधिवेशनमा एकदम हर्सविभोर भएर, अंकमाल गरेर पद हस्तारण गर्नुभयो। उहाँले अहिले पनि सहयोग गर्ने बताउनुहुन्छ। हिजो गुट थियो होला। अब हुकुम बस्नेत नेतृत्वमा आएपछि गुट हुँदैनन्। हामीले जिल्ला, पालिका, वडाका अधिवेशन सर्वसम्मत गर्‍यौ। यो भनेको गुट अब छैन भन्ने हो।

केही साथीहरु पालिका, जिल्लाको नेतृत्वमा छुट्नुभएको छ। तर अझै प्रदेश अधिवेशन बाँकी छ। हामी यहाँ छुटेका साथीहरुलाई प्रदेशमा व्यवस्थापन गर्छौँ। त्यस्तै सबै साथीहरुलाई अन्य जिम्मेवारी दिनेछौँ।

जिल्लामा सडक, पुलको अवस्था तपाईंले देख्नुभएको छ नै। पार्टी कार्यालय घोराहीबाट तुलसीपुर घर पुग्ने बाटोको हालत बेहाल छ। समयमै सकिएको छैन। पुलहरु पनि समयमै सकिँदैनन्। के यस्ता विषयमा तपाईंको पार्टीको कुनै भूमिका नै रहँदैन?

विकासका सन्दर्भमा नेपाल सरकारले तिव्र रुपमा अगाडि बढायो, ती विकासका संरचनाहरु अत्यन्त राम्रो ढंगले अगाडि बढेका थिए। समस्या कहाँनेर भयो भने ठेकेदारहरुको लापर्वाही हुने गरेको छ। जस्तो, पत्र र कटुवा खोलाको पुलले जनतालाई अलि बढी सास्ती दियो। यस्ता पुल बनाउने ठेकेदारलाई सरकारले कालो सूचिमा राख्ने, कारवाही गर्न सकेको भए काम समयमै सकिन्थे। यति ठूलो धनजनको नोक्सान हुने थिएन। यस विषयमा हाम्रो पार्टीको ध्यान हिजो पनि गएको थियो, र अहिले पनि जान्छ।

जहाँसम्म बाटोको कुरा छ। दुई वर्षमा सक्नुपर्ने काम सकिएको छैन। अहिले फेरि काम सुरु भएको छ। यस विषयमा सडक विभागले ध्यान दिनुपर्छ र हाम्रो पनि ध्यानाकर्षण भएको छ। हामी पनि भर्खर नयाँ भएर आएका छौँ। दाङको विकासमा अब कहाँनेर समस्या छ, हामी त्यस विषयमा जिल्ला पदाधिकारीको बैठकसमेत बस्नेछौँ र छलफल गर्नेछौँ।

अहिले लगत्तै हुन लागेको स्थानीय तहको निर्वाचन सरकारले नगर्ने मनस्थिति बनाएको, ढिला गरेर बनाउने भन्ने छ। यस विषयमा एमालेले के गर्छ ?

मुलत स्थानीय तहका जनप्रतिनिधिको समयावधि सकिएपछि समयमै उनीहरुले पद हस्तान्तरण गर्न पाउनुपर्छ भन्ने हाम्रो माग छ। स्थानीय सरकारहरु जनप्रतिनिधिविहीन बनाउनुहुँदैन। ६ महिनापछि निर्वाचन सारेर जनताको समस्या समाधान नगर्ने वर्तमान सरकारले जुन काम गर्दैछ, त्यो एमालेलाई मान्य हुने छैन।

हामी बैशाखमै स्थानीय तहको चुनाव हुनुपर्छ र जनताले फेरि समयमै जनप्रतिनिधि पाउनुपर्छ भन्ने पक्षमा छौँ। यदि यस्तो गरिएन भने, निर्वाचन सार्ने चलखेल गरियो भने हामीले जनतालाई जागरुक बनाउँछौँ।

पार्टीमा युवाको सहभागीता आवश्यक भनेर धेरै बहस गरिन्छ। एमाले जिल्ला अधिवेशनमा देशभरमै सबैभन्दा कान्छो प्रतिनिधिका रुपमा तपाईंकै छोरा सहभागी हुनुभयो। छोराको सहभागिता उहाँको इच्छा हो कि तपाईंको दबाब?

मेरो छोरा ७४ सालकाे निर्वाचनमा एकदमै सक्रिय भएर लागेको थियो। मेरो परिवार सबै राजनीतिमा छौँ। छोरामा पनि त्यो प्रभाव परेको होला। सदस्याता पाउने समयमा उसले पनि चाहिन्छ भनेर वडा कमिटीमा भनेको रहेछ। जिल्ला अधिवेशनको प्रतिनिधि छनौट कार्यक्रममा वडामा सहभागी भएछ। उ १२ कक्षामा पढ्छ। त्यस समयमा उसले पनि प्रतिनिधि बन्ने भनेर इच्छा जगाए छ।

वडा कमिटीले पछि मलाई फोन गरेर तपाईंको छोरा प्रतिनिधि बन्दैछन् भने। मैले उसलाई नबनाएपनि हुन्छ भनेँ। तर वडा कमिटीले शिशिरचन्द बस्नेतलाई प्रतिनिधि बनाउने भनेछन् र उ बनेछ। वडा कमिटी पनि, देशमै हाम्रो वडाबाट कान्छो प्रतिनिधि सहभागी बनायौँ भनेर खुशी हुनुभएको छ।

यसले के देखाउँछ भने अब पार्टीमा युवा लाग्नुपर्छ भन्ने पनि छ। अब अर्को अधिवेशनमा फेरि मेरो छोराभन्दा कम उम्मेरको प्रतिनिधि बनाउने भन्ने पनि रहला। उसले एक ठाउँ बोलेको छ, नयाँ पुस्ता र पुरानो पुस्ताको संयोजनबाट एमालेलाई बलियो बनाउँछ भनेको छ। त्यति सोना मान्छेले यति बोल्न सकेछ। म खुशी पनि छु। यसले युवा पुस्तालाई उत्साहित बनाउँछ। 

प्रकाशित मिति: : 2022-01-24 09:08:00

प्रतिकृया दिनुहोस्