पुस्तक समीक्षा

‘याम्बुनेर’ भित्र याम्बुको खोजी

दिलिप बान्तावा

दक्षिण कोरिया

स्वरैकल्पना एवं जादुयी र दन्त्यकथामा आधारित कथाहरु लेखिने परम्पराबाट उठेर सामाजिक यथार्थताको धरातलमा बसेर कथा लेखिने नेपाली कथा लेखनको परम्परा शय बर्षभन्दा पनि कलिलै छ। गुरुप्रसाद मैनालिहरुको समकालीन समयलाई सामाजिक कथा लेखनको प्रस्थान समय मानिन्छ क्यार। 

तर यो अवधिमा सामाजिक यथार्थताभित्र पनि विभिन्न आयामहरुमा लेखनको प्रयोग भईरहेकै छन्। ती सबै लेखनहरुले कहिँ न कहिँ छुन नसकेका वा छुटाईरहेका थुप्रै बिषयहरुको धुलो टक्टक्याउन बाँकी नै छ। छोपिएका ती कथाहरुको भुमी भेट्न बाँकी नै छ। लेखिनुपर्ने, भनिनुपर्ने र सुनिनुपर्ने त्यस्तै कथाहरुको खाडलमा घाम पार्ने काम गरेको छ कथासंग्रह - "याम्बुनेर" ले।

पछिल्लो कालमा नेपाली पाठकरुका लागि बिना थिङ् नयाँ नाम होईन। अखवारी लेखन होस् या साहित्यिक लेखन, विभिन्न माध्यमबाट यो नाम आम पाठकहरुका अघिल्तिर नियमित रुपमा अद्यावधिक भइरहने नाम हो। तेस्रो कृतिका रुपमा याम्बुनेर बजारमा ल्याउनुभएकि थिङ्ले यो कथा संग्रहको उत्पतिका बारे लेख्नुभएको छ, " वि. सं. २०५२ सालको अन्तिमतिर याम्बु नजिकैको बुढानिलकण्ठभन्दा माथिको तौलुङ्ग थुम्कोमा आईपुगेपछि थुम्कोमुनी गुजुमुज्ज परेको देखिने याम्बुप्रतीको धारणा र तौलुङ्ग आसपासको सामाजिक जिवनको भोगाईपछी याम्बुनेर आएको हो।" उहाँको थप कथन छ, "टाढाबाट याम्बु नजिकै देखिने थुम्काहरु तिनै थुम्कामा आईपुग्दा त्यो याम्बु ती ठाउँहरुबाट त झनै टाढा रहेछ।" हो, याम्बु नजिकका तिनै थुम्काहरु याम्बुबाट नजिक लागे पनि हकिकतमा कोशौँ टाढा छन् शासकहरुको नजरमा, राज्यको नजरमा। र यहि सत्यताको मुटुबाट प्रवाहित भोगाईहरुको स्रोत हो याम्बुनेर।

याम्बुनेर, कथा संग्रहभन्दा बढी कथाहरुको मुहान हो भन्दा अत्युक्ती नहोला। नेपाली साहित्य लेखनको मुल प्रवाहले छुन मन नगरेका बिषय र पात्रहरुको उठान मात्रै गरिएको छैन ती बिषयहरुले गिजोलिरहेको सामाजिक यथार्थ र राज्यले थोपरिरहेको सौतेलो ब्यबहारका बिरुद्ध भद्र बिमती समेत पोखिएको छ।

विभिन्न समयमा विभिन्न माध्यमबाट प्रकाशित भएका र केही नयाँ कथाहरु  पढ्न पाईन्छ संग्रहमा। १३ वटा कथाहरुमा हरेक कथाहरुले फरक फरक दुखाई, भोगाई, अनुभूति र बिषयलाई समातेका छन्। धार्मिक कुसंस्कारका बिरुद्ध बिद्रोह गर्ने आनि पेमाको कथा होस या धर्मकै परिधिका कारण कुँजिएको जुनेदोको प्रेम होस् धर्म र संस्कारभित्र पनि मानबिय स्वतन्त्रता अपरिहार्य छ भन्ने बिषयको पैरवी गरिएको छ। तामाङ्ग समुदायमा लामाको ठूलो इज्जत र प्रतिष्ठा छ। तर एक लामाको प्रतिष्ठाका लागि कत्ती मान्छेले आफ्नो अस्तित्वको बलि चढाउनुपर्ने रहेछ भन्ने नेपथ्यको कहानी सुनाउने "आनि पेमा" कथामा घरकि माहिली छोरी आनि बन्नै पर्ने साँस्कृतीक मान्यतालाई निरन्तरता दिए पनि अन्ततः आनि भएकी म्हेन्दो गुम्बालाई त्यागेर आफ्नो स्वतन्त्र संसारको खोजिमा याम्बुतिर ओर्लन्छिन्। यसको अर्थ धार्मिक, साँस्कृतिक मान्यताहरुको बिरोध गरिएको भन्दा पनि ती मान्यताहरुमाथी ब्यबहारिक परिमार्जन गर्ने सुझाव दिईएको बुझ्न सकिन्छ।



जनवादी गायक हेमराज आश्रमः जो १५ वर्षको उमेरदेखि जनताको गीत गाउन थाले (भिडियोवार्ता)

सत्ता शक्तिको कुञ्ज हो, श्रष्टाहरुले शक्तिलाई सधैँ निगरानी गर्नुपर्छ: श्रवण मुकारुङ (भिडियोवार्ता)



सिकोफाईभ कथाको शिर्षकले देखाएभन्दा फरक बिषय उठान गरेको छ। मान्छेहरुले बाँच्नका लागि गर्ने संघर्ष, परिचयको लेपन, आत्मसम्मान जस्ता देखिँदा मसिना लाग्ने तर हर बखत बल्झिरहने मान्छेको मनोबिज्ञानलाई केन्द्रमा राखिएको छ। छम्पेनी दिदिको लुकेको बास्तविकता र छोरिको आत्मसम्मानप्रतिको चनाखोपन, सिरमान बुढाको द्धैध चरित्र र फुटानी जस्ता दृष्यहरु देखाउन २०४६ सालको जनआन्दोलनका छिटफुट तस्विरहरु समेत राखिएको छ। सिकोफाईभ घडी र सिरमान थिङ्को हत्याका बिच छम्पेनी दिदी आफ्नी छोरी सहित गाउँ छोडेर हिँड्नुले एउटि आमा आफ्नो सन्तनको अस्तित्व रक्षाका लागि समाजमा कत्तिसम्म भिँड्न सक्छिन् भन्ने कुरा देखाईएको छ भने बाबु बिनाको सन्तान हुर्काउने आमालाई हाम्रै समाजले हेर्ने नजर पनि देखाईएको छ।

संग्रहको शीर्षक कथा याम्बुनेर संग्रह कै  सिग्नेचर कथा हो। खासगरी लेखकले २०५२ सालपछी बिताएको समय, टेकेको भुगोल, देखेको दृष्य, त्यही भुगोलमा सुनेको अनेकौँ किस्साहरुलाई सिलसिलेवर रुपमा बुनिएको कथा हो सायद। विशेष गरेर तामाङ्ग समुदायमा शैक्षिक चेतना कम छ। सायद त्यो कारण आर्थिक उपार्जनसंग जोडिएला। आर्थिक रुपमा कम सम्पन्न यो समुदायमा जिविकाका लागि मनग्ये शारिरिक श्रम खेप्नुपर्छ। स्कुल जाने समय कहाँ पाउनु र! फेरि यो समुदायको बाहुल्यता भएको भुगोलमा उस्तरी पायक पर्ने स्कुल पनि कहाँ छ र! त्यसैले त्यहाँका मान्छेहरु सपना देख्दा पनि आफ्ना छोराछोरी कतै गएर राम्रो ज्याला पाउने मजदुरी गरिरहेको देख्छन् वा कुनै खाडी मुलुकमा सस्तो श्रम बेचिरहेको।  सोममाया, लाली, सानू, साङ्मो, पुनमहरुको पनि सपनामा स्कुल रहेन। जंगल गएर दाउरा काट्ने, घरमा रक्सी बनाउने अनि ठेक्कामा अलि तलको फाँटतिर रक्सी ओसार्ने बिपना थियो भने घरजम गर्ने वा कतै गएर पैसा कमाउने सामान्य सपना। तर उनिहरुलाई त्यो सामान्य सपना देख्ने छुट पनि भएन। उनिहरुले पुस्तैनी दाउरा घाँस काटिरहेको उनिहरुको आफ्नै घुर्‍यानको जंगललाई सरकारले निकुञ्ज तोकिदियो र उनिहरुलाई प्रबेश निषेध। राज्यले त्यहाँका जोताहा नागरिकलाई गरेको अन्याय थियो त्यो। दाउरा काट्न नपाएपछी रक्सी बनाएर बेच्दै चलिरहेको जिवनचक्रमा अवरोध आयो नै त्योभन्दा ठूलो आपत रक्सी बनाउन समेत प्रतिबन्ध गरिएपछि आईलाग्यो। नेपालका अधिकांश जनजातिहरुको जातिय संस्कारमै अत्यावस्यक रहेको तथा उनिहरुको सभ्यतासंगै जोडिएर आउने रक्सिको उत्पादन र प्रयोगमा सरकारले बेला बेला गर्ने आँखिको कथा छ याम्बुनेर मा। सोममायाको माग छ, "सिल्प्याक रक्सी बेच्नेलाई कुनै कार्वाही छैन। गरिवलाई मात्र किन यस्तो गर्छौ? हामिले गरेको गैरकानुनी भए कानुनी तरिका सिकाईदेउ हामी भाँती पुर्‍यारै रक्सी बनाउँछौँ।"

भगवान निवास कथा अन्य कथाको तुलनामा बिषयका हिसाबले औसत छ। यद्यपि पात्रहरुको संघर्ष, सरकारी कर्मचारिहरुको काम गर्ने प्रबृत्ती, गाउँघरलाई बिस्तारै शहरले गर्दै गरेको संक्रमण संगै तामाङ्ग समुदायमा नयाँ घर बनाएपछी गरिने संस्कारहरुको व्याख्या गरिएको छ। लामाले दावा तामाङ नाम राखिदिए पनि बाउआमाले भगवान नामाकरण गरिदिएका भगवान तामाङ्ले साउदी अरबमा दुख गरेर कमाएको पैसाले चिटिक्कको घर बनायो तर नयाँ घरमा सर्ने सामाजिक संस्कार गरेकै दिन भुकम्प आईदियो त्यो भुकम्प शनिबरको दिन थियो।

आयाम कथा पनि बिषयबस्तुका हिसाबले अन्यको तुलनामा फरक कथा लाग्यो। आधुनिक समयको ब्यस्त दिनचर्या, अन्य कथा पात्रहरुको तुलनामा सचेत र सुकिला पात्रहरुको प्रयोग र बिरलै भेटिने प्रसंगहरुले यो कथालाई अलि फरक बनाएका हुन्। याङ्जी र सुरजको नजाँनिदो प्रेमकथा र कथाको "ह्याप्पी ईन्डिङ्ग" । अन्य कथाहरुमा पात्रहरुलाई उनिहरुकै दुखको हालतमा छोडिदिने कथाकारले यहाँ भने पात्रहरुलाई एउटा "मञ्जिल" दिएका छन्। सायद कथाकारको प्रयोग हो कि! यद्यपि एउटा "सस्पेन्स" भने अन्तिममा मात्रै खुलेको छ। कथाले कमसे कम आजको समयमा हामी अलिकती खुला हृदय र मानसिकता लिएर बाँच्नुपर्छ भन्ने सिकाउँछ।

"घडी फूल" अपरिपक्व प्रेम र बिबाहका लागि हतारमा गरिने निर्णयले दिने प्रत्युत्पादक सम्बन्धको कथा हो। कथाको दृष्यमा वि. सं. २०४५-५० कालिन हेटौडा देखाईएको छ। आठ कक्षा पढ्दा पढ्दै वीरगन्जतिरको नेवार केटासंग हेटौडाकी तामाङ्नी केटि पुतलिले गरेको अन्तर्जातिय बिबाहले पुतलिलाई प्रेम दिएन। एउटि सुन्दर छोरी जन्माईन् र कमाईन् यावत खालका पीडा र अदृष्य दर्दहरु संगै प्राणघातक रोग टिबि। पारिवारिक टोकसोले उनी रक्स्याहा भएकी थिईन् उनको त्यही बानिले टिबिको नजिक पुगिन्। रोगको पहिचानपछी घरबाट लखेटियो। माईतिको शरण परिन्। अनेकौँ कोसिस गरे माईतिले आफ्नो बुताले भ्याउँदो। तर केही सीप चलेन। छोरिको मुख हेर्ने अन्तिम ईच्छा समेत पूरा हुन नपाई पुतलिको चोला उठ्यो। जाँदा जाँदै उनको प्रेमी र पछि भएका श्रीमानले दिएको डिजिटल घडी जडित कलम कथा वाचकलाई दिएर गईन्। प्रश्न उठ्छ त्यस्तरी माया गरेर उपहार दिने प्रेमिले बिबाहपछी किन उपेक्षा गरे, पुतली किन रक्सिको लति बनिन्, श्रीमानको घर परिवारले किन बेवास्ता गर्‍यो? के अन्तर्जातिय बिबाह गरेकै कारण त्यस्तो गरेका हुन् या केही अरु कारण? यो बिषय खुट्याउने काम सायद पाठकलाई नै छोडिएको होला।

"ड्राईभरका आँखा" शिर्षकको कथामा भने आँखामा देखिने सबै भावहरुको अर्थ हामिले सोँछे जस्तो हुदैन भन्ने जिकर गरिएको छ। मान्छेले कुनै दृष्यमाथिको धारणा बनाउँदा त्यस अघि उसका सामुन्ने घटेका घट्नाहरुको आधारमा तय गर्दछ। कथामा श्याममायालाई पनि त्यस्तै भयो। मर्चा बेच्ने साहुजिले श्याममायामाथी गरेको अस्लिल हर्कतका आधारमा ट्रक ड्राईभरले ऐनामा हेर्दा पनि उहीँ मर्चा ब्यापारिको झझल्को आईरह्यो श्याममायालाई जसले गर्दा उनिहरुको समुहले साईकलबाट स्कुल जाने निधो गर्‍यो। उरन्ठेउलो उमेरमा आउने स्वभाविक चकचक अनुसार साईकल रेस गर्दा दुर्घट्ना भयो। श्याममायालाई उनै ट्रक ड्राईभरले उठाएर त्यही ट्रकबाट मेडिकल दौडाए। ट्रकमा जाँदै गर्दा ड्राईभरले सुनाएको दर्दभरी कहानिले श्याममायालाई ग्लानिबोध गरायो। यो कथामा बिशेषत: किशोरिहरुको मनोबिज्ञान तथा उनिहरुप्रती हुने अनेकौँ हर्कत र ती हर्कतका बारेमा आफुमा आउने विभिन्न तर्कनाहरुलाई रोचक र स्वभाविक ढंगले बुनिएको छ।

"गंगारामको साईकल" स-साना कथाहरुको मिसमास कथा हो। हेटौडाकै दृष्य कैद गरिएको यो कथामा बाल्यकालका उट्पट्याङ्, बाउ आमासंगको सम्बन्ध, साथी संगतिसंगको सामुहिकता संगै अलिकती छालाको रंग अनि थोरै बर्गिय प्रेम भेट्न सकिन्छ। तर सबिनाको त्रैमासिक परीक्षा सकिएपछिको खाली समयमा साईकल चलाउन सिक्ने क्रममा घटेको दुर्घट्ना केन्द्रीय कथा हो। सबिनाको घरमा डेरा गरि बस्ने गंगाराम चौधरि हेटौडा औधोगिक क्षेत्रको मजदुर हो, उहीँ गंगारामको साईकलको कथा हो यो। सो दुर्घट्नापछी दोषमुक्त हुन सबिनाले निक्कै प्रयास गरिन्। मनमा अनेकौँ तर्कना आए। तर अन्ततः गंगाराम हेटौडा बजार छोडेर देहाततिर लाग्यो सबिनालाई एउटा प्रेमिल सन्देश छोडेर।

"गन्धे झार" माओबादी जनयुद्धको त्यो कालखण्डको हरक हो जतिबेला "बाँचे मुक्ती मरे शाहीद" को नारा बोकेर युवा बिद्यार्थिहरु युद्धमा होमिईरहेका थिए। चिनिमाया त्यही समयको एउटा हरकले झसंग भएकी छिन्। सर्वहारा बर्गको दिपेश थापा स्कुलमा भएको एउटा कार्यक्रमपछि अखिल क्रान्तिकारिको कार्यकर्ता हुँदै नेता हुन्छ। तर दिपेशले अखिल क्रान्तिकारी, माओबादिको विद्यार्थी संगठन भएको कुरा पछि मात्रै थाहा पायो। एउटा युद्धमा दिपेशको प्रीय नेता मारिएपछी हतास भएको ऊ युद्ध छोडेर जान चाहन्थ्यो। तर  एउटा भिडन्तमा दिपेश मारिएको खवर रेडियोले दियो। चिनिमायामा छटपटी बढ्यो। त्यही दिपेश त थियो जसले चिनिमायालाई पहिलो पटक पोष्ट्कार्ड पठाएथ्यो २०५६ सालको नयाँबर्षमा। यतिखेर ११ बर्षे छोरो सहित त्यो समयको कथा  सुनाईरहेकी  चिनिमायाले अचानक फेसबूकमा दिपेशलाई भेटिन् जो यतिखेर मलेशियामा छ। तर योभन्दा बढी कथाले प्रस्ट बनाउँदैन। दिपेश मारिएको खवर कसरी फैलियो, ऊ युद्धबाट कसरी पलायन भयो ईत्यादी सवालहरु स्वभाविक हुनेछन्। माओबादी बिद्रोहकालमा वीरता पुर्वक लड्ने योद्धाहरु, लडाइँ लडेर सकुशल बाँच्नेहरुको अनेकौँ कथाहरु छन् तर ज्यान उत्सर्ग गर्ने अठोट लिएर लडाईमा लामबद्ध भएकाहरु पनि लडाईको चरित्र, जिवनप्रतिको मोह वा अन्य कुनै कारणले लडाईबाट बिमुख हुने लडाकुहरुको लाईन पनि सानो त थिएन नै। त्यस्तै लडाकुहरुको प्रतिनिधि पात्र हो दिपेश। दिपेशभन्दा अझ दर्दनाक समय बाँचिरहेका तत्कालिन लडाकुहरुका कहानी त योभन्दा नि सुनिनसक्नुका छन्। लेखिनसक्नुका छन्।

"आईतिमाया" तामाङ समुदायको एउटा साँस्कृतिक कथा हो। लुतो फाल्ने दिन अर्थात साउने सक्रान्ती मनाउने तरिका, आवस्यक सामग्रीको जोहो गर्ने तरिकाको वरिपरि घुमेको कथामा फेरि पनि पुस्तौँदेखी चहारेको जंगलमा सेनाहरुको अतिक्रमणपछी तामाङ समुदाय खुम्चिएर बस्नुपरेको, आतंक बोकेर जंगल पस्नुपरेको अवस्थाको वर्णन छ। संगै आईतिमाया र दावा बिचको मनोबैज्ञानिक झगडा र अटल प्रेमलाई रोचक ढंगले प्रस्तुत गरिएको छ।

"जुनेदो" अब्यक्त प्रेमको अर्को कथा हो। सीता र जुनेदो स्कुले सहपाठी। शैक्षिक भ्रमणमा खिचिएको एउटा फोटोको आधारमा उनिहरुमाथी प्रश्न उठ्यो। प्रश्नको निराकरण गर्न खोज्दा जुनेदो एकाएक हरायो। जुनेदो मुसलमान समुदायको मान्छे, सीता पण्डितकी नातिनी। एउटा सामान्य फोटोको कारण प्रेमी प्रेमिका भनी प्रचार गरिएपछी सिताले जुनेदोलाई भाईटिकामा निम्ता गरिन् तर जुनेदो आएन, किन? त्यही किन, को उत्तर खोज्न बर्षौँपछी उनिहरु काठमाडौमा भेटिएका हुन्। एक अर्काको "फ्ल्यासब्याक" कहानीमा कथा सुनाईएको यो कथामा खास गरि जातिय-धार्मिक अन्तर्बिरोधको बिषय मन्द गतिमा उठाईएको छ। सीता र जुनेदोमा आ-आफ्नो धार्मिक मान्यताका कारण आफैलाई ढाकेर राखे र आवरणमा अर्कै रुप देखाईरहे। तर वास्तबमा उनिहरुको मनमा अरु नै कुरा खेलिरहन्थ्यो। आज अबिबाहित सिताका अघिल्तिर बिबाहित जुनेदो (जोसंग दुई जना छोराछोरी र श्रीमती छन्)बसेर आफ्ना मनमा भएका सम्पुर्ण  भनोभावहरु साटिरहेका छन्। तर अब तिनको खास अर्थ छैन। साँच्चै यहि भएर भनिएको होला सहि समयमा, सहि कुरा गर्नुपर्छ भनेर।

"ब्याड भाले" चप्पल लगाउनु पनि आर्थिक सपन्नताको सुचक मानिने समयको कथा हो। कथाकारलाई यहि कथाले बाह्रखरी कथा प्रतियोगिताको पहिलो संस्करणमा प्रथम स्थान समेत दिलाएको थियो। मुख्य पात्र स्याङ्म्हेन्दोभन्दा ६ बर्ष जेठो लोग्ने ईरमान लामो समयदेखी बेखवर छ। कसैले वीरगन्जमा रिक्सा चलाउछ भन्छन कसैले कास्मिरमा स्याऊ टिप्ने काम गरेको सुनाउँछन्। तर बिहेको ३ महिनादेखी बेपत्ता ईरमानको ४ बर्षसम्म खुट खवर छैन। माईतिमा दाईले ईरमानको खवर र चप्पल दुबै ल्याईदिने आस्वासन दिएका थिए। त्यही खुसिमा माईती पुगिन्। कास्मिर पुगेको ईरमानले स्वास्नी कुरुप भएको कारण घर नफर्किने खवर लिएर दाइ आएका थिए। तर स्याङ्म्हेन्दोलाई थाहा थियो ईरमानमा लोग्ने मान्छेमा हुनुपर्ने गुणहरुको अभाव थियो, उसले आफ्नो कमजोरी लुकाउन आफुलाई कुरुप भनेको सह्य भएन। ईरमानको खवर संगै दाईले ल्याईदिएको चप्पलले भने उनलाई बिछट्टै खुसी दिलायो। 

घरमा भएको ब्याड भाले कतै हराएको थियो। कुखुराहरुलाई अण्डा कोरल्नका लागि भालेको जरुरत थियो। माईतबाट आमाले ब्याडका लागि भाले दिएर छोरिलाई बिदा गरे। तर मनमा अनेकौँ तर्कनासंगै पहिलो चोटि चप्पल लगाएर सिक्दै हिँडेकी उनी घर पुग्दा ब्याड भाले मरिसकेको थियो। यो कथा केही मनोबैज्ञानिक छ। धेरै जातिय संस्कार र संस्कृतिको झलक दिईएको छ। प्रायः जनजाती समुदायमा चेलिबेटिलाई पेवा दिने चलन छ। कुखुरा, बाख्रा, सुँगुर वा रक्सी बनाउने अन्न ईत्यादी। पेवा दिईएको चिजबाट जति आम्दानी हुन्छ त्यो सबै उनकै हुने चलन छ। साथै तामाङ्ग संस्कृतिमा चाहिँ बिहा गरेर जाने चेलिलाई पनि पेवा दिईने रहेछ यो कथाले त्यही कुरा भन्छ। अर्को कुरा हाम्रो समाजले निर्माण गरिदिएको सामाजिक मान्यतामा टिक्न नसकेको ईरमान जसको पुरुषत्वमाथी स्याङ्म्हेन्दोले प्रश्न उठाएकी छिन्। तर उनको प्रश्नभन्दा ईरमानको आरोपलाई हाम्रो समाजले सहि ठान्छ। तर ईरमान साँच्चै स्याङ्म्हेन्दोले भने जस्तै थियो वा उसको अर्को कुनै सम्बन्ध भएर स्वास्निलाई बेवास्ता गरेको थियो? यो बारेमा कथा मौन छ। सायद ईरमानमा जैबिक समस्या नै थियी भन्ने तर्क स्थापित गर्न खोजिएको हो कि! स्याङ्म्हेन्दोले समाजको मान्यतालाई भत्काईन्, उनले नामर्द भनिएको ईरमानलाई नपर्खी मर्द भनिने अर्कैसंग बिहा गरिन्। स्याङ्म्हेन्दोको यो कदम सामाजिक नियमको नाममा हुने असामाजिक बन्धनका बिरुद्ध भद्र बिद्रोह हो।

संग्रहको अन्तिम र संबेदनशिल कथा हो "सिफनको फेरो"। कुनै समय राजा महाराजाहरुको दरवारमा भेटिका रुपमा चढाईने याम्बु आसपासका तामाङ चेलिहरुको जोवन केही दशक अघिसम्म बम्बैका पहेँला बंगलाहरुमा लिलाम हुन्थे। त्यसो त अझै पनि कैयौँ चेलिबेटिहरु नयाँ नयाँ बम्बैहरुमा बिवशताले, आवस्यकताले, बाध्यताले आफुलाई बेचिरहेकै छन्। यहि बिषयको उठान गरिएको यो कथाको उदगम थलो पनि एउटा सामान्य तामाङ समुदाय नै हो। घरको मुल खाँबो बाउको दुर्घट्नापछी परिवारको हेरचाहका लागि सेर्मोले गाउँ छाडिन् आफ्नी आङिका साथ। आङिको बिस्वासमा सपनाको क्षितिज छुन हिँडेकि सेर्मो बम्बैको पहेँलो बंगलामा बेचिईन्। अब्बास, सेर्मोको ग्राहक। उनिहरु बिचमा भौतिक दुरि मात्रै छोटिएन। मनको दुरि पनि हट्यो, प्रेम भयो। तर एक्कासि अब्बास हरायो। सेर्मोले पहेँलो बंगला छोड्न पाईनन्। बरु केही समयपछी बंगलामा चल्ने धन्दाको मालिक्नी भईन्। दुई बर्ष मालिक्नी भएपछी नेपाल आईन्। जिन्दगी चलिरहेकै थियो। एकदिन अब्बास नेपाल आयो सेर्मोको खोजिमा। उनिहरुको प्रेमले सार्थकता पायो। सेर्मो बिरामी परिन्। चोला उठ्यो। तर अब्बास कतै गएन। सेर्मोको यादमा बसिरह्यो। तामाङ संस्कृती अनुसार सेर्मोका लागि गरिने सबै संस्कार गर्‍यो। सेर्मोले लगाएको सिफनको साडी समाएर नोस्टाल्जिक हुदा हुँदै अब्बासको पनि श्वास बन्द भयो। 

यो कथाले लामो समयदेखी चलिरहेको महिला बेचबिखनको "र्‍याकेट" लाई सरल ढंगले प्रस्तुत गरेको छ। सेर्मोको बाल्यकाल, सेर्मोको समाज, सामाजिक चिन्तन र मान्यताहरुको व्याख्या ज्यादै सुन्दर छ। तर कथाको मुख्य भाग बम्बै पुगेपछी सेर्मोको बुहार्तनमा भने लेखकले ज्यादै हतारमा कथालाई अगाडि बढाएको भान पर्छ। सेर्मोले बिताएको पिडादायी क्षणहरुमा उनिभित्रको आवेग, परिवारको याद र छट्पटी, आङिप्रतिको आक्रोश, आफुलाई आईपरेको बाध्यात्मक स्थितिका बारे सेर्मोको मनोबादहरु पनि आएको भए कथा अझ जिवन्त हुन्थ्यो कि! अब्बास र सेर्मोको प्रेमलाई निक्कै आदर्श प्रेमका रुपमा अर्थ्याउन खोजिएको छ। यो दृष्यले भने बेचिने चेलिहरुले खप्नुपर्ने अँध्यारो पक्षलाई ढाकिदिएको हो कि जस्तो लाग्यो। अब्बास जस्ता पात्रहरु मात्र नभएर अब्बासको बिपरित पात्रहरु पनि अपेक्षित थिए जस्तो लाग्छ। 

लेखकको तर्क छ, "लेखनमा हरेक लेखकका आ-आफ्नै सिमितताहरु हुन्छन्" सायद ती सिमितताहरु भोगाईमा भर पर्छन् क्यार। अधिकांश कथाहरु लेखकले नजिकबाट छोएका, भोगेका, देखेका दृष्यहरु हुन भन्न अल्मलिनुपर्दैन। प्रत्येक कथाका दृष्यहरु लेखकको तेस्रो चक्षुबाट निर्माण गरिएको आभास हुन्छ। स्वभाविक दृष्यहरु र तिसंग स्वभाविक रुपमा जोडिने पात्रहरुको निर्माणले कथाहरु कथाभन्दा माथी उठेका छन्। छोटा वाक्यहरु, सरल भाषा शैली, आञ्चलिक बिम्बको प्रयोगले कथाहरुलाई सम्प्रेष्य बनाएको छ। 

यो संग्रह वा यहाँका कथाहरुलाई कुनै समूह वा समुदायले आफू इतर देख्छ भने त्यो नजर आफैमा एकलकाँटे छ। यहाँका पात्रहरु कसैलाई गाली गर्दैनन्, बिरोध गर्दैनन् वा कसैको अस्तिव र उपस्थितिमाथी धावा बोल्दैनन्। बरु आफ्नो संस्कृती र मान्यताप्रती अडिग छन्। आफ्नै सभ्यतामा रमाएका छन्। आफ्नै दैनिकिमा अभ्यस्त छन्। बरु आफ्नो युगौँदेखिको पहिचानलाई कुल्चन खोज्ने प्रबृत्ती र शक्तिहरुलाई आफ्नो चिनारीबोध गराएका छन्। अर्थात याम्बु यान-की  राज्यसत्ताको एकालापले ओझेल पार्न खोजेको समुदायको सह-अस्तित्व बिना याम्बु, याम्बु रहिरहन सक्दैन भन्ने बोध गराउन उद्यत छन्।

केही छोटा र केही लामा कथाहरु पढिरहदा कथामा प्रयुक्त शैलिले पाठकलाई कथाभन्दा बढी आफ्नै वरपरको दृष्यहरुको झझल्को आईरहन्छ। आफुसंगै ठोक्किएका, भेटिएका पात्रहरु भेट्छन्। कथका केही टर्निङ्गहरुमा राजन मुकारुङ्गलाई पनि भेटिन्छ शैलिका हिसावले, वाक्य गठनका हिसावले। अधिकांश कथाहरु शिखर (क्लाईमेक्स) बाटै सकिएका छन्।  कथासंगै शिखरमा चढेका कतिपय पठकहरु फेदि झर्ने बाटो नभेट्न सक्छन्। कतिपयले लेखकले कोरेको बाटोभन्द फरक बाटोबाट ओर्लन सक्छन्। सायद कथाको अन्त्य गर्ने जिम्मा पाठकलाई नै छोडिएको होला। अलिकती खट्किएको बिषय चाहिँ भौगोलिक रुपमा याम्बुभन्दा उच्च ठाउँमा रहेर पनि याम्बुनेर को जीवन किन याम्बुको लागि महत्वहिन भयो अर्थात याम्बुको आँखाभन्दा तल परेको हो भन्ने तथ्यमाथि कथाहरु "साईलेन्ट" छन्। आफ्ना भोगाईहरु मात्रै बोलिरहेका छन्, कुन कारणले त्यो भोगाईमा पुग्नुपर्‍यो भन्ने जरा पनि पहिल्याईदिएको भए याम्बु नदेख्ने पाठकहरुले पनि बुझ्ने थिए कि!

म चाहिँ कथा पढ्दा पात्रभन्दा बढी पात्रको भोगाई र अनुभुतिमा हराउदो रहेछु। दृष्यहरुले बढी छोईदिने रहेछन्। तर यो संग्रहको दिपेश, सोममाया, पुतली, छम्पेनी, गंगाराम जस्ता पात्रहरु सम्झनामा रहिरहने पात्र बने। केही कथाहरुलाई औसतमा राख्ने हो भने बाँकी कथाहरु यो समयका लागि अत्यन्तै मजबुत कथाहरु हुन्। संस्कृती, मूल्य र मान्यताहरु गतिशिल हुनुपर्छ, सापेक्षित रुपमा समयानुकुल संरक्षण र परिमार्जन गर्दै अघि बढ्नुपर्छ भन्ने मान्यता स्थापित गरिएको छ। अर्कोतिर सबै खाले संस्कृतिसंग समभाव राख्न सके मात्रै सभ्य समाजको बिकास हुनसक्छ भन्ने तर्कलाई समेत जोड दिईएको छ। गंगारामको साईकल, जुनेदो, आयाम कथाहरुको सुक्ष्मतामा यी कुराहरु भेट्न सकिन्छ। 

तसर्थ याम्बुनेर का कथाहरु कथा मात्रै नभएर कथा लेखनका स्रोतहरु हुन्। कथाका नवीन बिषयहरु हुन्। यसमा उठाईएका र कतै कथा सुनाउदा सुनाउँदै छुटेका बिषयहरुमा कैयौँ कथाहरु लेखिनुपर्छ, तिनको पुरक कथाहरु जन्मनुपर्छ। दिपेशहरुको सपना जोडिनुपर्छ, सोममायाहरुको प्रश्नको उत्तर ब्यबस्थाले दिनुपर्छ। स्याङ्म्हेन्दोहरुलाई आक्षेप लगाउने समाज भत्काईनुपर्छ।

प्रकाशित मिति: : 2021-02-27 13:38:00

प्रतिकृया दिनुहोस्