जोर–बिजोरले निम्त्याएका दुःख: जागिर जाने डरदेखि घर नपुगिएला भन्ने पिर (भिडियो) 

शनि शाक्य

काठमाडौं

नेपालमा पछिल्लो समय कोरोना भाइरसको जोखिम बढ्दै गएको छ। जसकारण काठमाडौं उपत्यकाका सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएकाे छ। जसको प्रत्यक्ष असर यात्रुलाई परेको छ।

सरकारले कोरोना संक्रमण रोकथामका लागि जोर–बिजोर प्रणाली अपनाए पनि यसले झनै सङक्रमित बढाउने यात्रु बताउँछन्। कोरोनाको महामारी बढेका कारणले सरकारले जोर–बिजोर हटाउनुपर्ने उनीहरुको भनाई छ।

सरकारले भीडभाड नगर्नु भनेर आदेश दिए पनि जोर–बिजोर प्रणालीले भीड बढाएको यात्रु सजना क्षेष्ठ बताउँछिन्। ‘सरकारले कोरोना रोक्न गरेको निर्णय उचित छैन, यसले सङक्रमित घटाउने होइन र बढाउने देखिन्छ,’ उनले भने।

सरकारले भीडभाडमा नहिँड्न भने पनि आफूहरुको बाध्यता भएको उनी बताउँछिन्। ‘हामीलाई अफिस र घर फर्किँन हतार हुन्छ, गाडी कुरिरह्यो भने रात बित्छ। बाध्यताले भीड गाडी नै चढ्नुपर्छ।’

जोर–बिजोर प्रणालीले यातायात व्यवसायीलगायत यात्रुहरुलाई समेत असर गरेको उनले बताइन्। ‘सरकारले यो निर्णयलाई हटाउनुपर्छ’ उनले भनिन्।

सरकारले गरेको ‘स्मार्ट लकडाउन’ जनताका लागि समस्या भएको शसिका भूजेलले बताइन्।

जोर–बिजोरले कोरोनाको चाप बढाएको भन्दै उनी भन्छिन्,‘अहिले पहिलाको जस्तो बाक्लो गाडी चल्दैन त्यसैले गाडीमा कोच्चिएर बस्नु परेको छ। भीडमा नचढौँ भने पनि बाध्यता छ। घर समयमा नै पुग्नु पुर्यो।’

देशभर बढिरहेको कोरोना नियन्त्रण गर्न जोरबिजोरलाई हटाउनुपर्ने उनी बताउँछिन्।

‘राम्रोसँग गाडी चल्यो भने हामीलाई केही सहज हुन्छ,’ उनले भनिन्,‘गाडीमा यात्रु कोचाकोच हुँदा हामी महिलालाई ठेलाठेल गर्छन् असहज महसुस हुन्छ।’

सरकारले जोर–बिजोर प्रणालीलाई सबै नागरिकलाई सहज हुने नियम बनाउनुपर्ने सन्ध्या खड्का बताउँछिन्। ‘सरकारको अहिलेको निर्णयलाई हटाएर नयाँ नियम लागू गर्याउनुपर्छ’ उनले भनिन्, ‘जनताको लागि सोच्नुपर्छ।’

सवारी साधनको सङख्या कम गराएर कोरोना रोक्न नसकिने भन्दै यसले यात्रुको चाप बढाएको उनले बताइन्। ‘बढिरहेको कोरोनालाई कम गर्न जोरबिजोर हराउनुपर्छ’ उनले भनिन्।

प्रकाशित मिति: : 2022-01-28 09:30:00

प्रतिकृया दिनुहोस्