प्रधामन्त्री केपी शर्मा ओलीले श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन्। आज मे महिनाको पहिलो दिन संसारभरि श्रमिक दिवस मनाइन्छ। आज १३६ औं अन्तर्राष्ट्रिय श्रमिक(मजदूर) दिवस हो।
शुभकामना सन्देशमा उनले श्रमिकै पसिनाले देश र समाज बाँचिरहेको र अघि बढिरहेको बताएका छन्। त्यस्तै उनले यसअघि श्रमिकको हितका लागि सामाजिक सुरक्षा योजना अघि सार्दा आफ्नो सरकार ब्यङ्ग्य र ट्रोलको सिकार भएको पनि गुनासो गरेका छन्।
‘आज मे १—अन्तर्राष्ट्रिय श्रमिक दिवस। देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले। श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्यौं, व्यङ्ग्य र ट्रोलहरू सहनुपर्यो। तर आज, ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै—२० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन्’ प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन् ‘अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ। छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन—श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौं। श्रमलाई सम्मान गरौं, श्रमिकलाई सम्मान गरौं। जय श्रमिक, जय देश!’