अगुवाको हेपाइमा परेको ‘थारु नमुना ग्राम’ : संरक्षण गर्नुपर्नेमा बढ्दै अतिक्रमण

आजभन्दा १३ वर्षअघि दाङको घोराही उपमहानगरपालिका वडा–७ सिसहनियाँ गाउँमा एउटा ‘थारु नमूना ग्राम’ बन्यो। वि.स. ०६५ सालमा उक्त ग्राम निर्माण गर्नुको उद्देश्य थियो थारु संस्कृतिको संरक्षण गर्ने, थारु कला संस्कृतिका मनोरम दृष्यहरु बनाउने र पर्यटकहरुलाई भित्र्याएर स्थानीयलाई रोजगारसँग जोड्ने।

यति ठूलो उद्देश्यसहित थारु मौलिक परम्पराअनुसार पाँचवटा नमूना घरहरु पनि बनाइए। तत्कालिन जिल्ला विकास समितिबाट रु. ३ लाख १५ हजार रुपैयाँ खर्च गरेर बनाईएका ति नमूना घरहरुका भित्ता विभिन्न कला झल्किने आकृतिहरुले सझाइए।

नमूना घरहरु बनेको केही वर्षसम्म ‘थारु नमूना ग्राम’मा थारु संस्कृतिको अवस्था बुझ्न पर्यटकहरु पनि पुग्ने गरे। तर, पछिल्लो समय थारु संस्कृतिको संरक्षण गर्न बनाइएको ग्राम नै जीर्ण बन्दै गएपछि पर्यटकहरु पनि अवलोकन गर्न जान छाडिसकेका छन्।

नमूका रुपमा बनाइएका घरहरु पनि नामको मात्र ‘नमूना’ भएको छ। थारु अगुवाहरुको संरक्षणमा ध्यान नपुग्दा ति घरहरु अहिले थोत्रिएका छन्। छानो चुहिने भएको छ। छानो चुहिने भएपछि त्रिपाल लगाइएको छ। भित्ता मक्किनुका साथै गा्रमनै बेवारिसे अवस्थामा पुगिसकेका छन्।

यसैपनि सिसहनियाँ गाउँ थारु बाहुल्यता रहेको गाउँ हो। त्यही गाउँको दक्षिणतिर बबई नदी र छेवैमा सामुदायिक वन क्षेत्र अनि त्यसैको आडमा बनाइएको सम्भावना बोकेको नमूना ग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो।

शुरुवाती चरणमा नमूना थारु ग्राम स्थापना गर्नेबेला थारु समुदायको परम्परागत थारु घर, बालविकास केन्द्र, थारु संग्राहलय, उद्यानलगायत स्थापना गर्ने उदद्देश्य भएपनि ति कुरा केवल भनाईमा सिमित हुँदा नमूना थारु ग्राम अलपत्रको अवस्थामा आईपुगेको नमूना थारु ग्रामका अध्यक्ष बेझलाल चौधरीले बताए।

उनका अनुसार थारु सँस्कृतिक झल्काउने विभिन्न थारु नाँचको लागि थारु पहिरन, भेषभूषा, मादल, शुद्ध खानेपानी, मोटर बाटो, सिँचाई, विद्युत, जीवनशैली झल्कने औजार, सामान, पूजा गरिने देवी देवता तथा उठबसका क्रममा प्रयोगमा आउने बस्तुहरुलगायतको व्यवस्था गर्ने योजना थियो।

तर, अहिले ति योजनाहरु कुरामा मात्र सिमित भएको छ। ‘शुरुमा हामीले निकै उत्साहका साथ यसको संरक्षण र विकासका लागि मेहनत गर्र्यौ तर अझैसम्म थारु परम्परागत थारु घर र थारु नाँचको लागि नाँच्ने थारु पहिरन र मादल बाहेक अरु केही सहयोग कार्यान्वयन हु्न सकेन,‘ उनले भने, ‘अनि कसरी काम हुन्छ।’

आफ्नो गाउँमा थारु समुदायको पहिचान झल्काउने उद्देश्यले नमूना थारु ग्राम स्थापना हुनु सिंगो थारु समुदायका लागि गर्वको कुरा भएपनि अहिले थप काम हुन नसक्दा दुःख लागेको अध्यक्ष चौधरीले गुनासो पोखे।

संरक्षणका लागि बजेट अभाव र थारु समुदायका व्यक्तिहरुकै चासो नहुँदा पनि नमूना थारु घरहरु जीर्ण र बेवारिसे अवस्थामा पुगेको उनको भनाई छ। उनले भने, ‘सरकारले सहयोग गरे पनि हाम्रा समुदायले पनि महत्व बुझेनन्। हामी बुढापाकाले के गर्ने ? युवाहरु सबै विदेश र बजार ताक्छन्। यो घर कसले स्याहारी देओस् र सबैले हेर्न लायक बनोस्।’

पहिले–पहिले यसका बारेमा चासो राख्नेहरु आउने र बुझेर जाने गरेकोमा केही वर्षयता नमूना थारु ग्राम हेर्न भन्दै कोही पनि जाँदैनन्। वडा नम्बर ७ का वडा अध्यक्ष खोपीराम चौधरीले पनि जुन उद्देश्यले बनाइएको हो त्यही ढंगको संरक्षण हुन नसक्दा अहिले अलपत्रको अवस्थामा आईपुगेको बताए।

‘सिसनियाँमा थारु नमूना ग्राम छ भनेर प्रचार भयो, त्यहीअनुसार विभिन्न ठाउँबाट पर्यटक पनि आए तर भनेको जस्तो नहुँदा पर्यटकहरु निरास भएर फर्किएपछि बिस्तारै सबैको चासो कम हुन थाल्यो,’ उनले भने।

यसको संरक्षण गर्न भन्दै वडाबाट बजेट विनियोजन नभएपनि पालिकाले अघिल्लो वर्ष विनियोजन गरेको बजेट पनि कार्यान्यवन हुन नसकेको अध्यक्ष खोपीरामले बताए।

नगरपालिको दिएको बजेट नै सदुपयोग गरेनन् थारु अगुवा 

‘थारु नमूना ग्राम’का लागि घोराही उपमहानगरपालिकाबाट आर्थिक वर्ष ०७७/७८ मा डिपीआर तयार गर्न ५ लाख बजेट विनियोजन भएको थियो। तर, उक्त बजेटको समेत थारु अगुवाहरुले सदुपयोग गर्न नसकेपछि फ्रिज भएको थियो।

यसवर्ष भने पालिकाले उक्त ग्रामका लागि कुनै शीर्षकमा बजेट नछुट्याएको प्रमुख प्रशाकीय अधिकृत ऋषिराम केसीले बताए। ‘पालिकाले दिएको बजेट पनि कार्यान्वयन हुन सक्दैन, त्यसैले यो वर्ष त्यहाँको लागि बजेट राखिएन,’ केसीले भने।

थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी थारु ग्रामलाई सबैले उत्थान गर्नुपर्ने बताउँछन्। एउटा जातिसँग जोडिएको भए पनि यो साझा सम्पत्ति भएको बताउँदै साझा सम्पत्तिलाई बचाउने र उत्थान गर्न सबैले अग्रसरता लिनुपर्ने उनको धारणा छ।

अहिले नमूना दुई वटा घरमा सुकुम्बासीहरुलाई रेखदेखका लागि बसालिएको छ। पाहुनालाई बसाल्ने र आफ्नो संस्कार संस्कृितका बारेमा जानकारी गराउने उद्देश्यले बनाइएका घरमा बस्नेहरुले सुंगुर पालेका छन्। त्यसैले ती घरमा बाहिरका मानिसहरु नपसेको धेरै भैसकेको छ।

यसैबीच करिब ५ विगाहा क्षेत्रफल नमूना थारु ग्रामको नाममा रहेको छ। बनाइएको थारु संग्रहालय भने करिब १ बिगाहामा रहेको छ। जीर्ण अवस्थामा उभिएका घरमा मिथिलाकला शैलीमा बनाईएका विभिन्न जनावर र औजारहरुको कलाकृति देख्न पाईन्छ।

तर, कला, सीप र संस्कृतिलाई कसरी जोगाउने भन्नेमा कसैको गम्भीर रुपमा ध्यान जान सकेको छैन। जसले गर्दा अतिक्रमण बढ्ने र सार्वजनिक सम्पत्ति हराउने खतरा बढेको छ।

प्रकाशित मिति: : 2022-01-30 13:00:00

प्रतिकृया दिनुहोस्